बलात्कार आरोपित गाउँपालिका अध्यक्ष यादव एमाले प्रवेश 

बलात्कार आरोपित गाउँपालिका अध्यक्ष यादव एमाले प्रवेश 

इटहरी : बलात्कार आरोपमा थुनामुक्त भएका भोक्राह नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव नेकपा एमालेमा प्रवेश गरेका छन्। सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले यादवलाई एमाले प्रवेश गराएका हुन्। 

धरान १३ स्थित डुकु होटल एण्ड लजको कोठामा युवतीलाई बलात्कार गरेको आरोपमा यादवलाई प्रहरीले पक्राउ गरेको थियो। २०७८ बैसाख ८ गते पक्राउ परेका उनी मंसिर २६ गते आइतबार ८ महिना पछि थुनामुक्त भएका थिए । अध्यक्ष यादवले काममा लगाई दिन्छु भन्दै होटलमा लगेर खाजा खुवाउने बहानामा जबरजस्ती करणी गरेको युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्।

यसअघि संघीय समाजवादी फोरम बाट यादव अध्यक्षमा निर्वार्चीत भएका हुन्। हालको जनता समाजवादी पार्टीका प्रभावशाली नेता मानिएका उनी एमाले प्रवेश गरेर पुनः अध्यक्ष बन्ने लाइनमा छन्। 

पार्टी प्रवेश गराएपछि कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले गरिब र मधेसी जनताको पार्टी भएको बताए। गठबन्धन सरकारको व्यवस्थापकीय क्षमता कमजोर भएका कारण अर्थतन्त्र धरापमा परेको उनको भनाइ छ। 

उता पार्टी प्रवेश गरेसँगै यादवले एमाले भविश्य बोकेको पार्टी भएको बताए। विभिन्न जाती जनजातिको प्रतिनिधित्व गराउन सक्ने पार्टी एमाले भएका भन्दै उनले पार्टी प्रवेश स्वाभाविक भएको प्रतिक्रिया दिए। 

३० चैत, २०७८, १८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।