विराटनगरमा गठबन्धन विरोधी कोइरालालाई विरासत जोगाउन हम्मे

विराटनगरमा गठबन्धन विरोधी कोइरालालाई विरासत जोगाउन हम्मे

इटहरी : नेपाली कांग्रेसको उर्वर भूमि हो विराटनगर। कांग्रेसभित्र पनि कोइराला समूहको प्रभाव रहेको महानगर।

स्थानीय चुनावको मिति नजिकिँदै गर्दा विराटनगर महानगरपालिकामा गठबन्धनको बहस सुरु भएको छ। मोरङ कांग्रेसले स्थानीय पालिकाको समन्वयमा मात्र गठबन्धन गर्ने निर्णय गरेको छ भने नेपाली कांग्रेस विराटनगर महानगर समितिले गठबन्धनको आवश्यक नभएको बताइसकेको छ।

सोही अनुसार शनिबार कांग्रेसका पालिका र प्रदेश तथा संघीय निर्वाचन क्षेत्रमा सभापति सहितको बैठक बस्यो। बैंठकमा स्थानीय वडा स्तरदेखि नै गठबन्धन गर्ने तर यसअघि कांग्रेसले जितेका ११ वटा पालिकामा प्रमुख र उपप्रमुख नछाड्ने निर्णय गरेको छ। त्यसमा विराटनगर पनि एक हो। 

गठबन्धनको निर्णय स्थानीय पालिका समितिलाई दिनुपर्ने अडान राख्दै आएका डा. शेखर कोइरालाकै लाइनमा जिल्ला समिति अगाडि बढेको छ। १४औं महाधिवेशनमा केन्द्रीय सभापतिमा पराजित डा. कोइराला पक्षका डिगबहादुर लिम्बु जिल्ला सभापति छन्। 

कोइराला टिमका प्रभावशाली नेता महानगर सभापति दिपक चापागाईंले मेयरको आकांक्षा राखेका छन्। तर कोइराला टिमबाट नागेश कोइरालाको प्रभाव बलियो देखिएको छ। जो भए पनि टिमको उम्मेदवार हुनुपर्ने चापागाईंको तर्क छ। 

यसअघि कोइरालाकै बलमा मेयरको उम्मेदवार बनेर जितेका भीम पराजुली पुनः दोहोर्याउने पक्षमा छन्। कृष्णप्रसाद सिटौला निकट रहेका उनले १४औँ महाधिवेशनदेखि कोइराला टिम छाडेका हुन्। नगर अधिवेशनमा कोइराला पक्षका उम्मेदवार चापागाईंलाई पराजित गर्न लागेका उनले जिल्ला अविधेशनमा पनि देउवा टिमका दिलिप गच्छदारलाई सहयोग गरे। 

केन्द्रीय महाधिवेशनमा सिटौला टिमबाट देउवा प्यानलमा परेका उनी केन्द्रीय सदस्य निर्वाचित भए। जसले उनको प्रभाव बढेको छ। सिटौलासँग भागबण्डामा पुनः पराजुलीले टिकट पाउने आकलन गरिएको छ। तथापि, जनस्तरमा उनको आलोचना हुने गरेको छ।  

यसअघि देउवा समूहमा रहेका नागेश कोइराला पछिल्लो समय कोइराला टिममा छन्। कोइराला प्यानलबाट जिल्ला उपसभापति निर्वाचित भएका उनी विराटनगरका प्रभावशाली नेता हुन्। कोइराला पक्षबाट उम्मेदवार हुने पहिलो टिस्टमा उनी परेका छन्।

१४औं महाधिवेशनमा सभापतिमा चुनौती दिएका डा. कोइरालालाई कमजोर बनाउने रणनीतिमा देउवा लागेका छन्। त्यसैले विराटनगर महानगरपालिकाका कांग्रेसको पकड बलियो भए पनि कोइराला विरासत गुम्ने खतरा भने देखिएको छ। 

केन्द्रीय सदस्य अमृत अर्यालले दावेदारी घोषणा गरेका छैनन्। तर कांग्रेसको प्रभावशाली महानगरको मेयर बन्न उनलाई कार्यकर्ताले उकासिरहेका छन्। संविधानसभा सदस्य समेत रहेका अर्याल यसअघि प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए। अर्याल मोरङ कांग्रेसमा देउवा टिमका विश्वास पात्र हुन्। 

कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पनि विराटनगरको मेयर दावी गरेकी छिन्। अब परिवर्तनको पक्षमा भोट माग्न पनि आफू उम्मेदवार हुनुपर्ने उनको तर्क छ। महिलाले नेतृत्व गर्न नसक्ने कुनै आधार नभएकाले आफू मेयरको लागि सक्षम भएको उनको दावी छ। 
  
यसअघिको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा विराटनगरभित्र पर्ने क्षेत्र नम्बर ४, ५ र ६ मा कांग्रेसले पराजय बेहोर्नुपर्यो। ४ बाट महेश आचार्य, ५ बाट अमृत अर्याल र ६ मा स्वयं डा. कोइराला पराजित भए। ६ (२) को प्रदेश सभामा केदार कार्की बाहेक अन्य क्षेत्रमा कांग्रेस पराजित भयो। विराटनगरसँग जोडिएका क्षेत्रमा कांग्रेस कमजोर देखियो। 

अघिल्ला प्रदेश सरकारले गरेका गलत कार्यको भण्डाफोर गर्ने रणनीति बनाएको कांग्रेस अहिले आफैं सरकारमा छ। विराटनगरबाट निर्वाचित प्रदेश सांसद केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन्। कार्की कोइराला पक्षका प्रभावशाली नेता हुन्। 

तथापि, यसबीचमा विजयकुमार गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भइसकेको छ। स्वतन्त्र उम्मेदवारी दिएका विराटनगर- १९ का वडाध्यक्ष बद्रीनारायण सरदार पनि कांग्रेसमै समाहित भएका छन्। 

२०७४ सालको निर्वाचनमा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र एमालेको तालमेल भएको थियो। लोकतान्त्रिकले मेयरमा एमालेका उम्मेदवार विनोद ढकाललाई सघाएर एमालेले उपमेयरमा सूची चौधरीलाई सघाउने सहमति भएको थियो। तत्कालीन संघीय समाजवादी फोरम र माओवादी केन्द्र बीचमा पनि चुनावी तालमेल भयो।  

तर, मेयर/उपमेयरमै कांग्रेसका भीम पराजुली र इन्दिरा कार्की निर्वाचित भए। मेयरमा पराजुलीले २३ हजार ३१ मत ल्याउँदा एमालेका विनोद ढकालले १७ हजार ३२१ र संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत पाएका थिए। तत्कालीन राप्रपा नेपालका उम्मेदवार प्रह्लादप्रसाद साहले ५ हजार ५ सय २४ मत पाएका थिए। 

उपमेयरमा कांग्रेसकी कार्कीले २० हजार १४६ र माओवादीकी नमिता न्यौपानेले ११ हजार ५२४ मत पाइन्। लोकतान्त्रिक फोरमकी सूची चौधरीले १० हजार ५३६ मत पाएकी थिइन्। कांग्रेस एक्लै चुनावमा भिडे पनि १९ वडामध्ये ८ वडा सहित मेयर र उपमेयरमा विजयी भएको थियो। 

एमाले, माओवादी केन्द्र, नेपाल फोरम लोकतान्त्रिक र तत्कालीन संघीय समाजवादी पार्टीले वडास्तरमा गठबन्धन गरेका थिए। जसमध्ये संघीय समाजवादी फोरमले ६, एमालेले ३, माओवादीले १ र स्वतन्त्र उम्मेदवारले १ वडामा जितेका थिए।

२०७४ सालमा एक लाख १३ हजार ७६१ मतदाता रहेको विराटनगरमा अहिले एक लाख ३३ हजार १४२ मतदाता पुगेका छन्। थपिएका १९ हजार ३८१ नयाँ मतदाता निर्णायक अवस्थामा छन्।

कांग्रेस महानगर सभापति चापागाईं थपिएका मतदाता पनि कांग्रेसकै बढी भएकाले आफूहरु झनै बलियो भएको बताउँछन्। 

कांग्रेसलाई कम्युनिष्टको चुनौती 
विराटनगरका ४ वटा निर्वाचनमा कांग्रेस र कम्युनिष्टले बराबर जितेका छन्। २०४३ मा कम्युनिष्ट उम्मेदवार ध्रुवनारायण श्रेष्ठ विजयी भए भने २०४८ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार अशोक कोइरालाले बाजी मारे।

२०५४ मा पुनः एमालेका रमेशचन्द्र पौडेल विजयी भए। २० वर्षपछि २०७४ सालमा भएको पहिलो महानगरपालिकाको निर्वाचनमा कांग्रेसका भीम पराजुली विजयी भएका हुन्।

कांग्रेस नेतृत्वमा आमुल परिवर्तन हुन नसकेको आरोप लाग्न थालेको छ। मेयर पराजुलीले जनतालाई खुसी पार्न नसकेको भन्दै पुनः नयाँ उम्मेदवारका साथ कांग्रेसले चुनावी मैदानमा जाने योजना बनाएको छ। जसको लागि कोइराला समूहले नयाँ उम्मेदवार उठाउने तयारी थालेको छ।  

एमालेबाट जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल वा यसअघि पराजित विनोद ढकालले टिकट पाउने सम्भावना छ। त्यसबाहेक प्रदेश १ का पूर्वमन्त्री जीवन घिमिरे, नगर अध्यक्ष सागर थापा र जिल्ला उपाध्यक्ष बाबुराम कार्की, केन्द्रीय सदस्य रामलाल शाहको नाम चर्चामा छ। 

गत निर्वाचनमा संघीय समाजवादीबाट पराजित उमेश यादवले पनि गठबन्धनको उम्मेदवार हुने तयारी गरेका छन्। त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव पनि मेयरको लाइनमा छन्। माओवादीबाट नवीन पौडेल र नमिता न्यौपानेले समेत आकांक्षा देखाएका छन्।

२८ चैत, २०७८, ०७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।