इटहरी मेयरमा माधवको चासो : सके द्वारिकलाललाई पार्टीमा ल्याउने, नसके केशवलाई बनाउने

इटहरी मेयरमा माधवको चासो : सके द्वारिकलाललाई पार्टीमा ल्याउने, नसके केशवलाई बनाउने

इटहरी : एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल इटहरी उपमहानगरपालिकाको मेयरमा आफ्नो पार्टीको बनाउन सक्रिय छन्।  गठबन्धनको तर्फबाट एकीकृत समाजवादी  इटहरीको मेयर पाउनुपर्ने माग राखिरहेको छ। नेपालले इटहरी केन्द्रित कार्यक्रममा सक्रियता पनि बढाएका छन्।

सोमबार दुर्गा पार्टी प्यालेसमा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा  उनी सहभागी भए। यसअघि नेपाल पुस १८ आइतबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्न इटहरी पुगेका थिए। कार्तिक २६ गते चतराको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दा पनि उनले इटहरी छुटाएनन्। इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीको घरमा खाना खान पुगे। भर्खरै विभाजन भएको पार्टीका अध्यक्षलाई खाना खुवाएको भन्दै द्धारिकालालको एमाले वृतमा आलोचना भयो। उनी केन्द्रीय सदस्य र जिल्ला अध्यक्षमा पराजित भए।


त्यसअघि मङ्सिर २१ गते पार्टीको प्रदेश १ स्तरीय कार्यकर्ता प्रशिक्षणमा पनि इटहरी पुगेका थिए । त्यसको एक साता पछि मङ्सिर २८ गते पुन इटहरी पुगे । इटहरी १७ लबीपुरमा जग्गा धनीलाई थाहै नदिई आँखा अस्पताल भवनको शिलान्यास गरे । 

बारम्बार इटहरीलाई केन्द्रित बनाएका उनले गठबन्धनको तर्फबाट इटहरीको मेयर आफूले पाउनुपर्ने लबिङ गरिरहेका छन्। सोमबार वृहत् भेला गरेर उनले एकीकृत समाजवादीको बलियो पकड देखाउने प्रयास गरेका थिए। राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशव कुमार विष्टको अगुवाइमा इटहरीमा सङ्गठन बिस्तारको अभियान अगाडि बढाइरहेका छन् । 

गठबन्धनको तर्फबाट उनै विष्टलाई उम्मेदवार बनाउने अध्यक्ष नेपालको तयारी छ। स्थानीयस्तरमा खासै पकड नभएका विष्ट पछिल्लो समय राजनीतिमा सक्रिय छन्। एमालेमा हुँदा पनि केन्द्रको पहुँचको आधारमा टिकेका उनलाई एकीकृत समाजवादीको कोटामा मेयर आए उम्मेदवार बनाउने तयारी देखिन्छ। 

विष्टको विकल्पमा हालका मेयर द्वारिकालाल चौधरीलाई पार्टी प्रवेश गराएर टिकट दिने माधव नेपालको रणनीति देखिन्छ। चौधरी र विष्टको खासै व्यक्तिगत प्रभाव नभए पनि कांग्रेस र माओवादी सहितका दलको मतले विजयी गराउन सकिने उनको बुझाई देखिन्छ। त्यही रणनीति बमोजिम अध्यक्ष नेपालले इटहरीलाई केन्द्रमा राखेर सक्रिय भएको देखिन्छ।

उता कांग्रेसले भने एकीकृत समाजवादीको पक्षमा कुनै हालतमा सहमति नहुने दाबी गरिरहेको छ। गत शनिवार ५ दलीय गठबन्धनमा आबद्ध स्थानीय नेताहरूको छलफलमा वडा स्तरमा मात्र भाग दिन सकिने बताएका थिए। बाँकी दलहरूले पनि काङ्ग्रेसकै नेतृत्वमा स्थानीय चुनावमा गए विजयी हुन सकिने दाबी गरेका थिए। 

तर एकीकृत समाजवादीका नेताहरू भने मेयर मात्र भए पनि दिनुपर्ने लाइनमा छन्। गठबन्धनबाट एकीकृत समाजवादीको उमेद्धवारीले  एमालेलाई फाइदा पुग्ने उनीहरूको विश्लेषण देखिन्छ।

२०७४ को स्थानीय तह निर्वाचनमा ७७ हजार ६९७ मतदाता रहेको इटहरीमा यस पटक  १ लाख ४ हजार ६ सय २६ मतदाता छन्। २८ हजार नयाँ मतदाताले आगामी निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्नेछन्। २०७४ मा एमाले र कांग्रेस बिच ३ हजार हाराहारीको मात्र मतान्तर थियो। अहिले एमाले पार्टी विभाजन र जनप्रतिनिधिको व्यवहारले केही कमजोर बनेको छ। 

२१ चैत, २०७८, १९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।