इटहरी निर्वाचन : एमालेको बिरासत समाप्त पार्ने कांग्रेस रणनीति

इटहरी निर्वाचन : एमालेको बिरासत समाप्त पार्ने कांग्रेस रणनीति

इटहरी : स्थानीय निर्वाचनको मिति नजिकिएसँगै इटहरी उप-महानगरपालिकामा दलका नेताहरुबीच उम्मेदवार बन्न होडबाजी चलेको छ।

प्रदेश १ को केन्द्रमै रहेको इटहरीमा नेकपा एमालेले नेतृत्व गरिरहेको छ। यस पटक इटहरीबाट लामो समयदेखिको एमालेको विरासत भत्काउने रणनीतिमा कांग्रेस लागिपरेको छ।

इटहरीमा रक्षात्मक अवस्थामा पुगेको एमालेको पहिलो चुनौतीका रुपमा कांग्रेस देखापरेको छ। २०७४ सालको निर्वाचनमा २० मध्ये १२ वडामा विजयी भएको कांग्रेस अहिले बहुमत वडाका साथ नगरकै नेतृत्व गर्ने दाउमा छ। यसअघिको चुनावमा एमाले इटहरीमा ८ वडा सहित मेयर र उपमेयरमा विजयी भएको थियो।

एमालेबाट मेयर बनेका द्वारिकलाल चौधरीले यस पटक पनि मेयरको दावी गरिरहेका छन्। उपमेयर लक्ष्मी गौतम पनि बलियो दावेदारको रुपमा देखापरेकी छिन्। एमाले केन्द्रीय सदस्य समेत रहेकी गौतम पार्टीभित्र बलियो पकड बनाएकी नेतृका रुपमा परिचित छिन्।

सुनसरी जिल्ला अध्यक्ष रेवतिरमण भण्डारीको समेत साथ पाएकी गौतमका लागि मेयरको टिकट सहज देखिन्छ। तर गौतमको तयारी बुझेका मेयर चौधरी भने उनलाई रोक्न लागिपरेका छन्। तथापि, इटहरीमा चौधरी मत निर्णयक भएकाले द्वारिकलाल नै दोहोरिन सक्ने सम्भावना पनि जीवित नै छ। विगतमा विभिन्न काण्डमा मुछिएपछि उनको प्रभाव भने कम बन्दै गएको छ।

उता एमाले नगर अध्यक्ष यामकुमार सुब्बाले पनि दावेदारी प्रस्तुत गरेका छन्। अघिल्लो पटक पनि दावेदारी प्रस्तुत गरेका उनी तीन कार्यकाल नगर अध्यक्ष चलाएका नेता हुन्। सुब्बाले जनजाति मत आकर्षित गर्नसक्ने अनुमान गरिएको छ। नगर अध्यक्ष भएर पनि उनले व्यक्तिगत प्रभाव भने खासै बढाएका छैनन्। गौतमले मेयरमा टिकट पाए सुब्बाले उपमेयरमा पाउने सम्भावना पनि रहेको एमाले वृत्तमा चर्चा छ।

अर्की केन्द्रीय सदस्य अमृता सुब्बाले पनि मेयर वा उपमेयरमध्ये एक पाउनुपर्ने दावी गरेकी छिन्। अमृता उपमेयर भए जिल्ला अध्यक्ष रेवतिरमण भण्डारी नै मेयरको उम्मेदवार बन्न सक्ने पनि देखिएको छ। पूर्व उपमेयर समेत रहेका भण्डारी पूर्व संविधानसभा सदस्य हुन्।

एमाले एक्लै चुनावमा जान सक्ने अवस्था नआए राप्रपासँग गठबन्धन हुने सम्भावना पनि उत्तिकै छ। राप्रपालाई उपमेयर वा केही वडाध्यक्ष दिएर गठबन्धन हुनसक्ने बाटो एमालेले खुला गरेको छ। कांग्रेसले गर्ने गठबन्धनलाई हेरेर एमालेले रणनीति तय गर्नेछ। 

२०७४ मा राप्रपाबाट मेयरको उम्मेदवार भएका रमेश कार्की यसअघि नै एमाले प्रवेश गरिसकेका छन्। त्यस्तै माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवार भएका भीमप्रसाद सुवेदीले पनि एमाले रोजेका छन्। उता माओवादीबाटै सुनसरी क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उम्मेदवार भएका डम्बर सुवेदी समेत एमालेमा छन्।

एमाले भित्रको आन्तरिक कलह र जनप्रतिनिधिबीचको द्वन्द्वले इतहरीमा एमालेको जनमत कमजोर बन्दै गएको छ। उता एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले पनि थोरै प्रभाव पार्ने अवस्था छ। नेकपा एसका अध्यक्षले पूर्वमा इटहरीलाई केन्द्र बनाएका छन्। उनको सक्रियताले एमालेमा पद नपाएका नेताहरु धमाधम नेकपा एसमा लागिरहेका छन्।  

कांग्रेसमा कसरत
कांग्रेसमा भने हालका नगर सभापति हेमकर्ण पौडेल इटहरीको मेयरका बलियो दाबेदारको रुपमा देखा परेका छन्। अघिल्लो पटक पनि दावी गरेका उनले यस पटक केन्द्रदेखि स्थानीय स्तरसम्म लविङ गरिरहेका छन्।

कोइराला प्यानलका हेमकर्ण इटहरी नगर सभापतिमा तेस्रो कार्यकाल निर्वाचित भएका हुन्। पहिलो पटक सर्वसम्मत सभापति भएका उनी दोस्रो र तेस्रो पटक देउवा टिमका विकाश केसीलाई पराजित गर्दै विजयी भएका हुन्। 

जनता बहुमुखी क्याम्पसको स्ववियु सभापति भएर राजनीति सुरु गरेका उनी इटहरीका चर्चित नेता हुन्। पार्टी नेतृत्वमा बसेर इटहरी उपमहानगरपालिकाको बेथितिको विषयमा खरो प्रतिकार नगरेको आरोप भने उनीमाथि छ।

अघिल्लो पटक मेयरमा पराजित रोहित प्रसाईंले पनि पुनः उम्मेदवार बन्ने तयारी थालेका छन्। नेविसंघ सुनसरी सभापतिदेखि उद्योग वाणिज्य संघ इटहरीको अध्यक्ष हुँदै इटहरीको मेयरको उम्मेदवार बनेका प्रसाईं सामाजिक काममा पनि सक्रिय छन्।

प्रसाईंलाई नेता विजयकुमार गच्छदारले साथ दिएका छन्। गत निर्वाचनमा मेयरमा पराजित भएपछि लामो समय जनतासँग सम्पर्कमा नरहेको आरोप उनलाई छ।

यसबीचमा थपिएका छन् अर्का हालका उद्योग वाणीज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेल। सुनसरी २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा विजयी भएका उनले पनि मेयरमा दावेदारी प्रस्तुत गरिरहेका छन्। नेपाल विद्यार्थी संघका पूर्व उपसभापति विकाश केसीले उनलाई साथ दिएका छन्। 

कांग्रेस केन्द्रीय सदस्य तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग निकट रहेका उनी कोइराला पक्षका मीनेन्द्र रिजालदेखि प्रदेश सभापति उद्धव थापासम्म निकट सम्पर्कमा छन्। तथापि, उनीमाथि व्यापारबाट एक्कासि राजनीतिमा उदाएर पैसाको बलमा पार्टी कब्जा गर्न खोजेको आरोप छ।  

अहिलेसम्मको अवस्थामा कांग्रेसले नेकपा एस, माओवादीदेखि राप्रपासँग समेत गठबन्धन गर्ने तयारी देखिन्छ। अरु पार्टीको खासै जनमत नभए पनि कांग्रेसको लागि गठबन्धन फाइदाजनक हुने देखिन्छ। यसअघिको फोरम लोकतान्त्रिकको मतले पनि कांग्रेसलाई केही टेवा दिने देखिएको छ। 

२०७४ को स्थानीय निर्वाचनमा ७७ हजार ६९७ मतदाता रहेको इटहरी उपमहानगरपालिकामा यस पटक  १ लाख ४ हजार ६ सय २६ पुगेको छ। २८ हजार नयाँ मतदाताले आगामी निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्नेछन्। 

अघिल्लो निर्वाचनमा कुल ५२ हजार ५२२ खसेकोमा एमालेका चौधरीले २२ हजार ६८९ र कांग्रेसका प्रसाईंले १९ हजार ९८५ मत प्राप्त गरेका थिए। यस्तै राप्रपाका रोहितकुमार कार्कीले ३ हजार ७१५, माओवादी केन्द्रकी हरिमाया जिमीले ३ हजार ३६४ र फोरम लोकतान्त्रिकका अरुण चौधरीले १ हजार ४३७ पाएका थिए।

१७ चैत, २०७८, १६:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।