इटहरीका मेयर द्वारिकलाल चौधरीले किन खोसे उपमेयर लक्ष्मी गौतमको गाडी ?

इटहरीका मेयर द्वारिकलाल चौधरीले किन खोसे उपमेयर लक्ष्मी गौतमको गाडी ?

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले उपमेयर लक्ष्मी गौतमले प्रयोग गर्दै आएको गाडी खोसे। उपमेयर गौतमले गाडी लिएर काठमाडौं गएकै बेला मेयर चौधरीले चालकलाई फोन गरेर गाडी फिर्ता मगाएका थिए।  

को१झ ५५६ नम्बरको स्कोर्पियो गाडी उपमेयरले दुरुपयोग गरेको भन्दै मेयर चौधरीले खोसेका हुन्। गत फागुन ३० गते गाडी लिएर काठमाडौं पुगेका चालक यादव सापकोटालाई फोन गरेर मेयर चौधरीले गाडी फिर्ता बोलाएका थिए।

उपमेयरले आफ्नो मनखुसी पार्टीको कार्यक्रममा जाँदा पनि गाडी लगेर दुरुपयोग गरेको मेयर चौधरीको सचिवालयले जनाएको छ। जनताको करबाट संकलित रकमले खरिद गरिएको गाडीको सही ठाउँमा मात्र उपयोग हुनुपर्ने मेयरको तर्क छ। 

उता उपमेयर गौतमले भने उपमहानगरको कामका काठमाडौं पुगेको बेला गाडी खोसिएको बताइन्। अहिले आफू सामान्य जनता जस्तै टेम्पोमा आवत-जावत गर्ने गरेको उनको भनाइ छ। मेयर चौधरीले घरमा लगेर गाडी थन्क्याएको उनले जानकारी दिइन्।  

यो त एउटा प्रतिनिधि घटना मात्र हो। इटहरीका मेयर चौधरी यसअघि पनि पटक पटक विभिन्न काण्डका कारण चर्चामा आएका थिए। पत्रकारको नाकको डाँडी भाँच्न एक करोड छुट्याएकोदेखि कर्मचारीलाई कुटपिट गरेर उनले चर्चा कमाएका थिए। भ्रष्टाचार विरोधी अभियानमा लागेको बताएका उनले करारका १२ जना कर्मचारीलाई समेत निकालेका थिए।

पत्रकार र कर्मचारीप्रति आक्रामक देखिएका चौधरीपछि सेवाग्राहीलाई कोठामा थुनेर पनि चर्चामा आए। ऐलानी जग्गा खोजी अभियान चलाएका उनले नेताहरुले खोला मिचेर घर बनाएको भन्दै आक्रोस पोखे।

पुनः मेयर बन्ने योजनामा रहेका चौधरी पछिल्लो समय निकै सक्रिय देखिन्छन्। उद्घाटन र शिलान्यास कार्यक्रममार्फत उनले आफ्नो प्रचार बढाएका छन्। 

इटहरीको निर्वाचनको निर्णायक मानिएको चौधरी मतलाई उनले आफ्नो पक्षमा पार्न खोजेका छन्। उनले सोझा चौधरीलाई नहेप्न चेतावनी दिँदै आएका छन्। यसअघि पनि आफू इटहरीको भूमिपुत्र भएको भन्दै बाहिरबाट आएकाहरुप्रति रोष पोख्ने गरेका थिए। 

अहिलेको गाडी कान्ड पनि मेयरको दावेदार रहेकी उपमेयर गौतमलाई टिकटबाट बञ्चित गराउने एउटा उपायका रुपमा मेयर चौधरीले प्रयोग गरेको टिप्पणी भइरहेको छ।

एमाले भित्रको तनाव
नेकपा एमाले जिल्ला अध्यक्ष रेवतिरमण भण्डारीप्रति इङ्गित गर्दै फाल्गुन २१ गते शनिबार उनले फेसबुक स्टाटस पोष्ट गरेका थिए। अधिवक्ता समेत रहेका भण्डारीलाई जाली भन्दै सम्बोधन गरेका छन्। 

'जाली वकिल भण्डारी तिमीसँग सायद कलम मात्रै छ। म तिमीलाई तलवार दिन्छु। मेरो हात काट। तिम्रो लागि मेरो खुट्टा काफी छ,' उनले लेखेका छन्। 

एक कार्यक्रममा समेत यही भाषण दोहोर्याएका उनले भण्डारीले सोझा चौधरीलाई कमजोर पार्न खोजेको आरोप लगाएका थिए। ‘इटहरीका थारुहरु सोझा छन्, दलितहरु सिधा छन्। यिनीहरुलाई कज्याहालिन्छ भन्ने लागेको छ ?’ भन्दै प्रश्न गरेका छन्।

आफूलाई सोझो पनि निकै लाख चौधरीले थारुहरुलाई खुसी पार्नकै लागि भजनलाल चौधरी स्मृति प्रतिष्ठान, स्व. दुखीलाल चौधरी स्मृति भवनदेखि थारु कल्याणकारिणी सभाको भवन शिलान्यास गरेका छन्। उनी निर्वाचित भए लगत्तै विकासको नाममा ग्राथान मासिएको भन्दै थारुहरु रुष्ट देखिएका थिए। 

नेकपा एमाले पूर्वसचिव तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री भीम आचार्य निकट रहेका चौधरीले भण्डारीको समूहसँग दूरी बढाएका छन्। पुनः इटहरीको मेयरमा दोहोर्याउने तयारीमा रहेका चौधरीको लागि भण्डारीले सहयोग गर्न नसक्ने बुझेपछि उनी रुष्ट देखिएका हुन्। 

हालकी उपमेयर तथा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम पनि मेयरको आकांक्षी देखिएकी छिन्। गौतमलाई जिल्ला अध्यक्ष भण्डारीले साथ दिएका छन्। भण्डारी सकेसम्म गौतमलाई नै टिकट दिलाउने लाइनमा छन्। 

इटहरी- ४ को पुल उद्घाटन कार्यक्रममै उपमेयर गौतमले भण्डारी संविधानसभा सदस्य भएको बेला लगानी भित्र्याएको स्मरण गराइन्। जवाफमा मेयर चौधरीले जिउँदै मान्छेको सालिक बनाउन नमिल्ने भन्दै व्यङ्ग्य गरे। 

चैत ५ गते शनिबार साँझ पुनः फेसबुक पोष्टमार्फत उनले उपमेयर गौतम र भण्डारीप्रति आक्रोस पोखे। एमाले जिल्ला र केन्द्रका नेताहरुको भ्रष्टाचारको प्रमाण सार्वजनिक गर्ने बताए। २ लाख ३६ हजारको मोबाइल किनेको चेक सहित प्रमाण बाहिर निकाल्ने उल्लेख गरे। 

'नेकपा एमाले सुनसरीका केन्द्रीय र जिल्ला नेतृत्व कतिसम्म आर्थिक नैतिक रूपमा भ्रष्ट छन्, छिट्टै सार्बजनिक गर्नेछु। २ लाख ३६ हजारको मोबाइल कुन चेकबाट कुन मितिमा कति भ्रष्टाचार..चेतना भया !,' उनले लेखेका छन्।

एमाले सुनसरी अध्यक्ष भएकै समयमा उनी इटहरी उपमहानगरपालिकाको मेयर भएका थिए। पहिला कुनै लाइनमा पनि नखुलेका उनी पछि भीम आचार्य निकट रहेका छन्। इटहरी एमालेमा विवाद आउँदा समेत आचार्यले मिलाउने गर्थे। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनदेखि टाढिएको भण्डारी र आचार्यको दूरीले मेयर र उपमेयरकै दूरी बढाएको छ। भण्डारी निकट उपमेयर र आचार्य निकट मेयरबीच अबको उम्मेद्वारीलाई लिएर प्रतिस्पर्धा भएको हो।

एमाले केन्द्रीय सचीवमा पराजित आचार्यले जिल्ला अध्यक्षमा पराजित चौधरीलाई समर्थन गरेका छन्। चौधरीले पनि इटहरीका आयोजना उद्घाटन र शिलान्यास कार्यक्रममा आचार्यलाई प्रमुख अतिथि बनाइरहेका छन्।

१० चैत, २०७८, १५:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।