हिजोका कुरामा संगीतकार बसन्त सापकोटा : मालगेडीको गुलियोले कुटाइको पीडा भुलियो

हिजोका कुरामा संगीतकार बसन्त सापकोटा : मालगेडीको गुलियोले कुटाइको पीडा भुलियो

नेपाली सांगीतिक आकाशमा स्थापित नाम हो बसन्त सापकोटा। विभिन्न आरोह-अवरोह पार गर्दै दुई दशक लामो सांगीतिक यात्रा तय गरेका बसन्तलाई फिल्म 'सिलसिला' को ‘सागर सरी चोखो माया’ गीत हिट भएपछि भने कहिल्यै पछाडि फर्किनुपरेन।

१७ सयभन्दा बढी गीतमा संगीत भरिसकेका बसन्तले तीन दर्जनभन्दा बढी गीतमा स्वर दिएका छन् भने त्यत्तिकै संख्यामा गीत रचना गरेका छन्।

'सागर सरी चोखो माया', 'सिम्पल सिम्पल कान्छीको', 'माया अन्तै सार', 'सान्नानीलाई भेट्न', 'रुमाल चिनो', 'सुन न पियारी' देखि 'पोखरेली झापाली' जस्ता लोक, आधुनिक, फिल्मी गीत-संगीतमा दर्शक/स्रोतामाझ लोकप्रिय छन् संगीतकार बसन्त। 

उनले संगीत भरेका फिल्म 'नाइँ नभन्नु ल' का विभिन्न सिरिजमा समावेश 'फेरि-फेरि नाइँ नभन्नु ल', 'यी आँखामा तिमी छौ', 'बालापनको उमेर', 'कम्मरमाथि पटुकी', 'मैना राजा मैना रानी' जस्ता गीत अझै हिट छन्।

०००
कास्कीको मादी गाउँपालिकामा २०३४ सालमा मध्यमवर्गीय परिवारमा जन्मिएका हुन् बसन्त सापकोटा। 

बुबा शिक्षक। आमा घरकै काममा व्यस्त। सानैदेखि एकान्तमा बस्न मन पराउने उनी जिज्ञासु स्वभावका थिए। कुनै पनि कुरामा जिज्ञासा भयो भने त्यसको आन्द्रा-भुँडी केलाएरै छाड्ने स्वभाव थियो उनको।

सानैदेखि लोकगीत-संगीत असाध्यै मन मनपराउने उनी रेडियोमा गीत सुन्ने र सँगै गुनगुनाउने गर्थे। 

बसन्त सानैदेखि नै जाँगरिला थिए रे। घरमा आमा-बुबालाई काममा सघाउँथे। घाँस काट्ने, खाना बनाउने गरेर आमाको काममा मद्दत गर्थे। 

गाउँकै ध्रुव निमाविमा अक्षर चिन्न सुरु गरेका बसन्त पढाइमा पनि तेज नै थिए। कक्षामा चार/पाँच नम्बरमा आउँथे। बसन्तका बुबा पनि त्यही स्कुलमा पढाउँथे। बुबाले सधैं राम्रोसँग पढ्नुपर्छ भनिरहँदा उनले पढाइबाहेक अन्त खासै ध्यान दिन पाएनन्। 

विद्यालयमा हुने हाजिरीजवाफ र गायन प्रतियोगितामा सधैं प्रमथ हुने बसन्तले तीन कक्षा पढ्दादेखि नै लोकगीत गाउन थालेका हुन्।

रेडियो शिक्षा तालिमका लागि बसन्तका बुबालाई स्कुलले रेडियो दिएको थियो। त्यही रेडियोमा उनी गीत सुन्थे। रेडियोमा नै सुनिरहने भएकाले त्यतिबेला नारायण गोपाल, धर्मराज थापा, पाण्डव सुनुवार, नारायण रायमाझी, प्रेमराजा महत, हरिदेवी कोइराला लगायतको नाम सुनेका थिए र उनीहरुकै गीत-संगीत मन पराउँथे बसन्त।

उनी बाल्यकालमा निकै चकचके थिए रे। ६ वर्षको हुँदा बसन्त आफ्ना अंकलसँग काफल टिप्न गएका थिए। अंकल रुखमा चढेर काफलका हाँगा भुँइमा फालिरहेका थिए, उनी भुइँमा बसेर काफल टिप्दै थिए। रुखबाट अंकलले फालेको काफलको हाँगा उनको टाउकोमा गढेर घाउ भएको अझै सम्झन्छन् बसन्त।

उनी स्कुलमा पनि चकचक मात्र गर्दैनथे, साथीहरुलाई जिस्क्याउने र पिट्ने गर्थे। बसन्त सम्झन्छन्, 'त्यो कुरा साथीहरुले बुबालाई भनिदिन्थे अनि म बुबाको पिटाइ खान्थें। कहिले त बुबाले दिनभर कक्षा बाहिर उभ्याइदिनुहुन्थ्यो।'

एक पटक बुबाको पैसा चोर्दा मज्जैले कुटाइ खाएको घटना पनि स्मरण गर्छन् बसन्त। भन्छन्, ‘शिक्षकको तलब अहिले जस्तो बैंकमा पठाउने चलन थिएन। एक जना शिक्षकले स्कुलमा ल्याएपछि बाँड्ने चलन थियो। बुबाले दसैंमा पाँच-पाँचका नोट ल्याएर राख्नु भएको रहेछ। मैले हरेक दिन झिक्दै गएछु। पछि बुबाले थाहा पाउन् भो। अनि बेस्सरी कुट्नुभयो। चोरेको पैसाले मालगेडी र बिस्कुट किनेर खाएको म सम्झन्छु। कुटाइको पीडा मालगेडीको गुलियोले भुलायो।’

बसन्त अर्को एउटा घटना पनि सुनाउँछन्। ठूली आमाको घर नजिकै थियो। एक दिन दाइले उनलाई ‘ठूली आमाको घरमा भैंसी ब्याको छ, बिगौती खान जा’ भने। उनी सुटुक्क ठूली आमाको घर गए।

'घरमा त म हराएँ भन्ने भएछ। दाइले पनि म ठूली आमाको घर गएको कसैलाई भनेनछन्। छोरो हरायो भनेर खोज्दा-खोज्दै बुबा राति १२ बजे ठूली आमाको घर पुग्नुभयो, बसन्तले सुनाए, ‘भोलिपल्ट बुबाले भनेर जान पर्दैन? भनेर बेस्सरी गाली गर्नुभयो। बिगौतीसँगै गाली पनि खाइयो।’

०००
बसन्तले गाउँकै स्कुलबाट एसएलसी पास गरे। त्यसपछि पिएन क्याम्पसमा एजुकेसन विषय लिएर भर्ना भए। तर उनलाई गीत-संगीतमा रुचि भएकाले त्यहाँ पढ्न छाडेर ललितकला पढ्न २०५५ सालमा काठमाडौँ आए। ललितकलामा उनले संगीत विषय पढे। 

२०५७ सालमा फेरि पोखरा फर्केका बसन्तले पोखरामा इलेक्ट्रोनिक्सको काम गर्न थाले। ‘मैले चार वर्ष पोखरामा बसेर इलेक्ट्रोनिक्सको काम गरेँ,’ उनले भने, ‘त्यहाँ माधव पराजुली भन्ने दाइ हुनुहुन्थ्यो। उहाँको घरमा म वायरिङ गर्न गएको थिएँ।’

उनै माधव दाइले आफूलाई संगीततर्फ जान घच्घच्याएको बसन्त बताउँछन्। उहाँले मैले गीत गाएको सुन्नुभएको रहेछ। उहाँले चलचित्रमा संगीत गर्नुपर्ने भयो भाइ भन्नुभयो। मैले आफू गायक भएको बताउँदा उहाँले जसरी पनि गर्नुपर्छ भन्नुभयो।'

त्यसपछि एक हप्तामा बसन्तले चार वटा गीत बनाए, 'दोषी' फिल्मका लागि। त्यसमा आफैं संगीत भरे र दुई वटा गीत आफैँ गाए।  

बसन्तलाई घरबाट कुनै सहयोग थिएन। बुबाको चाहना छोरो गीत-संगीतमा नलागेर शिक्षक बनोस् भन्ने थियो। मध्यमवर्गीय मान्छेले यो क्षेत्रमा संघर्ष गर्न सकिँदैन भन्ने उनको बुबालाई लाग्थ्यो। 

बसन्तलाई भने मैले गीत-संगीतमै केही गर्नुपर्छ। संघर्ष नगरी सफलता सम्भव छैन भन्ने लाग्थ्यो। बुबाको कुरा नमानी उनी हिम्मत जुटाएर २०६१ सालमा काठमाडौँ फर्के।

अब उनलाई काठमाडौंमा जिरोबाट सुरु गर्नुपर्ने थियो। त्यतिबेला आन्दोलन पनि भइरहेको थियो। त्यो समयमा बसन्तको कोठा भाडा तिर्न पनि नसक्ने अवस्था भयो। 

घरबाट सहयोग पनि नहुने र भाडा तिर्न पनि नसक्ने अवस्था भएपछि सबै छोडेर घर जाउँ जस्तो नलागेको होइन। तर फेरि मैलै यति धेरै गरिसकेको छु, छोड्नु हुँदैन भनेर हिम्मत जुटाउँथे। त्यो बेला उनले बल्ल दु:ख र सुखको फरक छुट्याउन सके। घरबाट विदेश जानु भन्ने दबाब पनि थियो। त्यसैले उनी केही वर्ष त घरै गएनन्।  

२०६३ सालमा बसन्तले 'बसन्त' नामको एल्बम निकाले। त्यो एल्बम निकै चल्यो। त्यति बेलासम्म उनले १५/२० वटा भिडियो फिल्ममा काम गरिसकेका थिए।

२०६४ सालमा 'तहल्का डट कम' भन्ने फिल्ममा काम पाए। त्यो फिल्म आउँदा नआउँदै उनले विकास आचार्यको 'नसिब', 'आफ्नो भन्ने' फिल्ममा पनि काम गरे। काम त पाइरहेका थिए तर सोचेजस्तो भने भइरहेको थिएन। 

फिल्म 'सिलसिला' बाट भने आफ्नो जीवन नै परिवर्तन भएको मान्छन् बसन्त। ‘सागर सरी चोखो माया’ भन्ने बोलको गीत निकै हिट भयो। अहिले पनि त्यो गीत दर्शक/स्रोताको माझमा निकै लोकप्रिय छ।

त्यो गीत हिट हुनुभन्दा अगाडि उनी आफ्नो गीत लिएर विभिन्न निर्माता-निर्देशककहाँ पुगे। त्यसबेला सबैले पछि गरौँला भन्दै टारेको उनी सुनाउँछन्। 'कसैले पनि मेरो गीत लिएनन्। सबैले बलेको आगो ताप्ने त हो। मलाई सानै देखेर पनि हो कि!,’ उनी भन्छन्। 

फिल्म सिलसिला राजेन्द्र उप्रेतीले बनाएका थिए। निर्माण टिमले मन पराएपछि 'सागर सरी' भन्ने गीत रेकर्ड भयो। त्यसमा राजेशपायल राई र अन्जु पन्तको आवाज छ। 

सागर सरी गीत रेकर्ड गर्दाको एउटा घटना सुनाउँछन् संगीतकार बसन्त, 'राजेशपायल राई र अन्जु पन्त गीत गाउँदै थिए। ‘तिम्रो नभई मरेछु भने’ भन्ने लाइन हाई लेबलमा गाउनुपर्ने थियो। यसलाई रेकर्ड गर्न मात्रै ४०/४५ टेक लिइएको थियो। रेकर्डिङ भइसकेपछि सुन्ने क्रममा भोल्युम बढाउन लाग्दा फ्याट्टै अफ भइदियो। गीत उड्यो भन्ने लागेको थियो। तर ब्याकपमा रैछ र टुक्राटुक्रा जोडेर पूरै गीत बचाइयो।'

त्यसपछि भने उनलाई धेरै ठाउँबाट अफर आउन थाल्यो। 'सबै मान्छे भेट्न खोज्थे। बसन्तले मेरो गीत सुन्दिए हुन्थ्यो भन्ने पनि धेरै भेटिए। त्यसपछि मलाई सहज भयो,' उनी भन्छन्, 'आठ/दस वर्ष त निकै संघर्ष गरें नि।'

गीतहरु चर्चित हुँदै गएपछि भने बसन्तका धेरै गीतले अवार्ड पनि पाएका छन्। उनले देशदेखि विदेशसम्म पुगेर विभिन्न अवार्ड ग्रहण गरेका छन्। 

उनलाई गीतहरु चल्नु, राष्ट्रिय अवार्ड पाउनु, सबैको मन मुटुमा बस्न सफल हुनु नै जिन्दगीको सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने लाग्छ। 

अहिले सबै कुरा राम्रै चलिरहँदा पनि बसन्तलाई पहिला पाएको दु:खले बेलाबेला झस्काउँछ। अझै संघर्ष गर्नुपर्छ। यति छ भनेर लत्तो छोडिहाल्न हुँदैन भन्ने लागिरहन्छ। 

नयाँ प्रतिभालाई पनि स्थान दिएका छन् बसन्तले। प्रह्लाद तिमिल्सिना, प्रेम परियार, मेलिना राई, समीक्षा अधिकारी, रचना रिमाल, मिलन अमात्य जस्ता धेरैले उनको संगीतमा हिट गीत गाएका छन्। 

०००
बसन्तले २०६६ सालमा सञ्चारकर्मी प्रभा आचार्यसँग विवाह गरेका हुन्। अहिले उनका एक छोरा छन्। 

संगीत रोयल्टी संकलन समाजका कोषाध्यक्ष भएर काम गरिरहेका बसन्त गीत-संगीतमा आउन खोज्ने नयाँ पिँढीलाई आफूमा भएको प्रतिभा पहिचान गरेर मात्र आउन सुझाव दिन्छन्। गायन, कम्पोज, लिरिक्स जेमा लागे पनि म सिर्जना गर्न सक्छु र अब्बल काम गर्न सक्छु भन्ने सोचका साथ आउनुपर्ने उनको भनाइ छ। 

गीत-संगीत क्षेत्रका विकृति र विसंगति हटाउन दर्शक/स्रोताको पनि उत्तिकै भूमिका रहने बताउने संगीतकार बसन्त सच्चा स्रोता/दर्शकले नराम्रा गीत हाइड गर्दै लैजानुपर्ने तर्क गर्छन्।

नराम्रा कुराहरु छानीछानी सामाजिक सञ्जालमा भाइरल बनाउने ट्रेण्ड बढेकोमा चिन्ता व्यक्त गर्छन् उनी। भन्छन्, 'यसमा हामी सबै सचेत हुन जरुरी छ।' 

एल्बम र फिल्मकै काममा व्यस्त रहेका संगीतकार बसन्त आगामी दिनमा पनि गीत-संगीतलाई नै चुस्त बनाउन निरन्तर लागिरहने योजनामा छन्। 

१० चैत, २०७८, १४:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।