प्रभाव देखाउन जनप्रतिनिधिबीच तँछाडमछाड, एउटै मन्दिर दुई पटक शिलान्यास

प्रभाव देखाउन जनप्रतिनिधिबीच तँछाडमछाड, एउटै मन्दिर दुई पटक शिलान्यास
मन्दिर शिलान्यास गर्दै वडाध्यक्ष भट्टराई (दायाँ) र मेयर खनाल (बाँया)

इटहरीः स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै जनप्रतिनिधिहरू शिलान्यास र उद्घाटन गर्न व्यस्त हुन थालेका छन्। एकैदिन दर्जन बढी आयोजनाको शिलान्यास र उद्घाटन हुन थालेको छ। 

कतिपय पालिकामा त एउटै आयोजनामा दलहरूको स्वार्थ बाझिन पनि थालेको छ। यस्तो दृष्य देखियो- सुनसरीको बराहक्षेत्र नगरपालिका- २ को एक मन्दिर निर्माणमा।

बराहक्षेत्र नगरपालिका- २ जब्दीमा वडाध्यक्षले शिलान्यास गरेको मन्दिर पुनः मेयरले शिलान्यास गरेका छन्। २०७४ सालको निर्वाचनलगत्तै फाल्गुन १ गते शिवरात्रिको अवसरमा वडाध्यक्ष हरिकृष्ण भट्टराईले शिवालय मन्दिर शिलान्यास गरेका थिए। 

र शिवरात्रीकै अवसर पारेर ४ वर्षपछि मेयर निलम खनालले एउटै मन्दिर दोस्रो पटक शिलान्यास गरेका हुन्। 

मन्दिर निर्माण कार्य अगाडि बढाउन जग हाल्ने काम सकिएको अवस्थामा मेयर खनालले आफ्नो संलग्नता देखाउने प्रयास गरेका हुन्। 

नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष विजयी भएका भट्टराईको वडामा एमालेको प्रभाव देखाउन मेयर खनालले सक्रियता देखाएका हुन्। एमालेका सुनसरी उपाध्यक्ष समेत रहेका खनाल पुनः मेयरको उम्मेदवार बन्ने तयारीमा देखिन्छन्। यसैकारण शिलान्यास र उद्घाटन उनको प्राथमिकतामा परेको छ।  

४ वर्षअघि नै स्थानीयको लगानीमा मन्दिर निर्माण प्रकृया सुरु भएको हो। मन्दिर निर्माण समिति नै गठन गरेर थप काम भइरहेको थियो। बीचमा नगरपालिकाबाट आउने सहयोग रोकिएपछि थप निर्माण प्रकृया ओझेलमा पर्यो। 

स्थानीय धनवती धामीले आफ्ना स्वर्गीय श्रीमान् पलट धामीको नाममा जग्गा दान गरेकी थिइन्। प्रेम धामीको अध्यक्षतामा गठित निर्माण समितिले थप रकमको जोहो गरिहेको छ। 

अन्यत्रबाट रकम उपलब्ध नभएपछि धामीले नगरपालिकाबाट बजेट व्यवस्था गराइदिन वडाध्यक्षसमक्ष आग्रह गरेका थिए। सोही बमोजिम ८ लाख लागत अनुमान गरिएको मन्दिरमा चालु आर्थिक वर्षमा नगरपालिकाले २ लाख बजेट बिनियोजन गरेको छ। 

वडाध्यक्ष भट्टराई मेयर खनालले शिलान्यास गरेर एउटै बच्चाको दुई पटक न्वारन गरे जस्तो व्यवहार प्रस्तुत भएको बताउँछन्। अगाडि नै शिलान्यास भएर निर्माणाधीन अवस्थामा रहेको मन्दिरको पुनः शिलान्यास गर्नु भगवानमाथि नै धोका भएको उनको भनाइ छ। 

उता मेयर खनाललले भने नगरपालिकाले लगानी गरेको योजना भएकाले शिलान्यास गरिएको बताए। आफू विकासविरोधी नभएको प्रष्ट पार्दै उनले नगरपालिकाले सामाजिक तथा सांस्कृतिक उत्थानको क्षेत्रमा काम गरेको बताए।

१९ फागुन, २०७८, ०७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।