हिजोका कुरा : परीक्षामा चिट् चोर्दा-चोर्दै समातिएका थिए पूर्वमन्त्री विद्याधर मल्लिक

हिजोका कुरा : परीक्षामा चिट् चोर्दा-चोर्दै समातिएका थिए पूर्वमन्त्री विद्याधर मल्लिक

विद्याधर मल्लिक वि.सं. २०१४ वैशाख ३ गते विराटनगरमा जन्मिएका हुन्। २०६९ को अन्तरिम चुनावी मन्त्रिपरिषद्मा सङ्घीय मामिला, स्थानीय विकास तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका मल्लिक कुशल प्रशासकको रुपमा परिचित छन्।

भन्सार अधिकृतका रूपमा निजामती सेवा सुरुवात गरेका मल्लिक अर्थ मन्त्रालयका सचिव समेत भए। मन्त्री हुनुअघि उनले राष्ट्रपति रामवरण यादवको अर्थ, विकास र प्रशासन क्षेत्रका विशेषज्ञका रूपमा कार्यभार सम्हालेका थिए। उनी गरिबी निवारण कोषका उपाध्यक्ष पनि भए। 

विद्याधर मल्लिकका बुबा जनार्दनलाल मल्लिक न्यायाधीश थिए। २०४६ को जनआन्दोलन दमनको अनुसन्धान गर्न गठित बहुचर्चित शाखाका अध्यक्ष समेत भएका थिए उनका बुबा।

०००
बुबा न्यायाधीश भएकोले बुबाको पोस्टिङ जता भयो उनको परिवार त्यतै बसाइँ सर्दै गयो ।

परिवारका जेठा छोरा मल्लिकले बाल्यकालमा आफ्नै बुबाबाट अक्षर चिने। उनी बुबासँग घरमै पढ्थे । बुबाको पोस्टिङ भइरहने भएकाले उनलाई बाल्यकालमा कहाँ-कहाँ पढेँ भन्ने खासै याद छैन। 

बुबाको काठमाडौं पोस्टिङ भएपछि मल्लिक पद्मोदय स्कुलमा ७ कक्षामा भर्ना भए। उनले ७/८ कक्षा पद्मोदयमा पढे। फेरि बुबाको पोस्टिङ नारायणी अञ्चलमा भएपछि ९ कक्षा गौरमा पढे। त्यहाँ पूर्वप्रधानमन्त्री तथा अहिलेका नेकपा समाजवादीका नेता माधवप्रसाद नेपालका बुबा मंगल उपाध्यायले नेपाली पढाएको उनलाई सम्झना छ।

महेन्द्रनगरबाट एसएलसी पास गरेका मल्लिक त्यसपछि भने काठमाडौं नै फर्किए।

मल्लिकलाई पहिल्यैदेखि डाक्टर बन्ने रहर रहेछ। 'त्यसैले म अमृत साइन्स क्याम्पस (अस्कल) मा आइएस्सी भर्ना भएँ। बिएसस्सी पनि त्यहीँबाट सकें,' उनले सुनाए।

२०३६ सालमा मल्लिकले लोकसेवा परीक्षा दिएर नाम निकाले। त्यतिबेला पुल्चोकस्थित गृह मन्त्रालय अन्तर्गतको स्थानीय विकास विभागमा प्रशासनमा शाखा अधिकृत भएर काम गरे। 

जागिर खाँदै पढ्दै गरेका उनी २०४१ सालमा पढ्नका लागि भनेर बेलायत पुगे। तर डेढ वर्षपछि फेरि नेपाल नै फर्किए। २०४२ सालसम्ममा उनले एमएससी, एमए (अर्थशास्त्र), एकपिए र कानुनमा स्नातक गरे । 

०००
२०३६ सालमा जनमत संग्रहको चुनाव हुने भयो । मल्लिक सहितको १०० जनाको टोली चुनाव गराउनका लागि रोल्पा जाने भयो। त्यो बेला सडक निर्माण भइसकेको थिएन। बुटवलको तिनाउ खोलामा पनि पुल निर्माण भएको थिएन। खोला तरेर पारि गएको उनलाई सम्झना छ। बस जान सक्ने ठाउँसम्म बसबाट र बाटो नभएको ठाउँमा सेनाको हेलिकोप्टरको सहायताले उनको टोली रोल्पामा चुनाव गराउन पुगेको थियो। 

त्यतिबेला अहिलेजस्तो सुत्न-बस्नका लागि होटलको सुविधा थिएन। १०० जनाको लागि बासको व्यवस्था गर्नु पनि चानेचुने कुरा थिएन। स्लिपिङ ब्याग बोकेर रोल्पा गएको र खुला चौरमा सुतेको उनी सम्झन्छन्। 

धेरै जना भएकाले खानामा पनि जे भेटिन्छ त्यही खानुपर्ने अवस्था थियो। 

त्यहाँ उनीहरुले नेताहरुको भाषण क्यासेटमा रेकर्ड गरेर लगेका थिए। टेपमा क्यासेट बजाएर त्यहाँका जनतालाई भाषण सुनाएर भोटको मागेको मल्लिक बताउँछन्। त्यो भाषण सुन्न धेरै मानिस जम्मा हुने गर्थे ।

'चुनावमा मतदातालाई दुई वटा पर्चा दिइएको थियो। निलोमा छाप लगाए बहुदललाई र पहेंलोमा छाप लगाए पञ्चायतलाई भोट जान्थ्यो,' उनले सुनाए। 

रोल्पामा सहज वातावरणमा नै चुनाव गराएर आफ्नो टोली काठमाडौँ फर्किएको उनी सम्झन्छन्। 

०००
बाल्यकालमा आफू निकै पढाकु भएको ठान्छन् मल्लिक। 'म पढ्ने स्वभावको थिएँ। बुबाको पोस्टिङ भइरहने र ठाउँ परिवर्तन गरिरहनुपर्ने भएकाले पनि मेरो खराब साथीहरुसँग संगत हुनै पाएन,' उनले भने, '७ कक्षा नपुग्दासम्म घरमै पढ्ने र स्कुलमा परीक्षा दिने गरेर पास भएँ। मलाई साथीहरुसँग खेले-कुदेको कुनै सम्झना नै छैन।' 

२०२६ सालमा काठमाडौं आएपछि उनी कालिकास्थान बस्थे। त्यहाँ बस्दा एक/दुई जना साथी भए पनि धेरै साथीहरुको संगत नभएको उनी बताउँछन्।

पद्मोदय स्कुलमा ७ कक्षामा भर्ना भएपछि सिंहदबारभित्र पहिला गृह मन्त्रालय भएको ठाउँमा फुटबल ग्राउन्ड भएको उनी सम्झन्छन्। पुतलीसडकको पद्मोदय स्कुल भएको बाटोसम्म सिंहदरबारको पर्खाल थियो र त्यो खाली ठाउँ फुटबल ग्राउन्ड थियो। त्यहाँ स्कुल-स्कुलको फुटबल हुन्थ्यो। कहिलेकाहीँ पद्मोदयको पनि फुटबल खेल पर्थ्यो। खाजा खाने समयमा मल्लिक साथीहरुसँग सिंहदरबारको मुल गेटबाट फुटबल हेर्न भित्र पस्थे। त्यो बेला कमल थापा पनि त्यहाँ फुटबल खेल्न जाने गरेको उनी बताउँछन्।

फुटबल हेर्न जाने क्रमको एउटा घटना मल्लिक सम्झिन्छन्- सिंहदरबारको गेटभित्र सेनाले माटोमा गाडेर ठूलो गाग्रोमा पानी राख्थ्यो। त्यहाँ पानी पिउन सानो आम्खोरा पनि राखिएको हुन्थ्यो। मल्लिक जहिले आम्खोरा जुठो बनाएर पानी पिउँथे। उनलाई आम्खोराबाट पानी अलग्ग खानुपर्छ थाहा थिएन । आम्खोरा जुठो हालेर पानी पिउँदा उनलाई सेनाले गाली पनि गर्थे। त्यो कुरा उनी बुझ्दैनथे।

एक दिन साथीले आम्खोराबाट अलग्ग पानी पिएको देखेपछि मात्र उनलाई थाहा भो, जुठो हालेर पानी पिउन नहुने रहेछ। उनी भन्छन्, ‘त्यसपछि मात्र मैले जुठो र चोखोको अन्तर थाहा पाएँ। अनि मैले पनि अलग्ग पानी पिउन सिकेँ।’ 

०००
अर्को घटना पनि सम्झिन्छन् मल्लिक- उनी पढाइमा तेज नै थिए। अलिअलि बदमास अनि अलिअलि घमण्डी पनि। सात कक्षामा पढ्दा एक दिन उनी आफ्नो बेन्चको साथीसँग गफ गरेर बसेका थिए। नेपाली पढाउने गुरु कक्षामा पसेको उनले थाहा पाएनन्। गफको तालमा गुरुले हल्ला नगर भनेर पटक-पटक भनेको पनि सुनेनन्। 

त्यसपछि गुरु सरासर आएर गालामा एक थप्पड हानेपछि बल्ल कक्षामा गुरु आएको उनले थाहा पाए। 'कक्षामा त चड्कनको आवाज पो गुञ्जियो,' उनी हाँस्दै भन्छन्, 'गुरुको चड्कनले मेरो गाला रातै भयो। जिन्दगीमा मैले पिटाइ खाएको त्यो पहिलो र अन्तिम हो।'

०००
अर्को घटना पनि बिर्सँदैनन् उनी- भाइ ६ कक्षामा पढ्थे उनी सातमा। त्यो बेला मल्लिकलाई पढाइमा आफू निकै जान्ने छु भन्ने घमण्ड पनि थियो।

अन्तिम परीक्षा भयो। घरमा बुबाले सोध्दा उनले परीक्षा राम्रो भएको जवाफ दिए। ‘म त सेकेण्ड हुन्छु, अरुले पनि त्यही भन्छन्,’ उनको जवाफ थियो। त्यतिबेला पनि स्कुलमा सेक्सन छुट्याएर पढाइ हुन्थ्यो। उनी सेक्सन बीमा थिए। 

केही समयपछि रिजल्ट आयो। रिजल्टमा उनी पूरै कक्षाभरिमा पाँचौ भए। ‘भाइ पढ्दैन, केही जान्दैन भन्ने सोचेको तेस्रो पो भयो,’ उनी भन्छन्, ‘त्यहीँबाट मैले धेरै घमण्ड गर्नु हुँदोरहेनछ भन्ने सिकेँ।’

०००
अस्कल क्याम्पसमा आइएसस्सी पढ्दा केमेस्ट्रीको परीक्षामा मल्लिकले चिट चोरेका थिए रे। पढाइमा ठिकठाकै भएकाले यसअघि उनले कहिल्यै चिट चोरेका थिएनन्। केमेस्ट्रीमा फर्मुला घोक्नुपर्ने, जति घोके पनि याद नहुने भएपछि पनि परीक्षामा चिट चोरेको उनले बताए।

चिट त चोरे तर चोर्दाचोर्दै पक्राउ परे। गार्ड बसेकी म्याडमले चिट खोसिदिइन्। त्यसपछि उनी रातोपिरो भए। त्यो दिनपछि उनले कहिल्यै चिट नचोरेको उनी सुनाउँछन्।

०००
मल्लिकले २०४० सालमा अन्तरजातीय प्रेम-विवाह गरेका हुन्। 'प्रेम-विवाह त्यो पनि अन्तरजातीय, त्यो बेला घर-परिवारलाई मनाउन कठिन थियो। समाजिक दृष्टिकोणमा पनि सही मानिँदैनथ्यो। निकै समयपछि मात्र परिवार पनि राजी भएका थिए।'

०००
मल्लिकले २०६३ देखि २०६५ सम्म अर्थसचिव भएर काम गरे। २०६१ देखि २०६३ सम्म शान्ति सचिव, २०५४ देखि २०५८ सम्म आन्तरिक राजस्व विभागका महानिर्देशक भएर काम गरेका उनले महानिर्देशक भएर आयकर ऐन २०५८ ल्याउन योगदान गरेका थिए।

अहिलेसम्म काम गरेको अनुभवमा उनी आफूलाई एउटा इमान्दार सिपाही भन्न रुचाउँछन्। इमानदार भएर काम गर्ने हो भने कुनै जालझेलमा नपरिने, सामान्य र सहज जिन्दगी बिताउन सकिने उनको बुझाइ छ।

५ फागुन, २०७८, १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।