कर्मचारी भर्नाका लागि विज्ञापन खोल्ने सुदूरपश्चिम लोकसेवाको तयारी

कर्मचारी भर्नाका लागि विज्ञापन खोल्ने सुदूरपश्चिम लोकसेवाको तयारी

प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले रिक्त पदहरूमा पदपूर्तिका लागि लोकसेवा आयोगमा अनुरोध पत्र पठाउने निर्णय गरेको हो।

गत वर्ष चैतमा लोकसेवा आयोग गठन गरेको प्रदेश सरकारले पदपूर्तिको प्रक्रिया सुरु गरेको थिएन। 

रिक्त पदहरूमा पदपूर्तिका लागि आयोगमा अनुरोध गरी पठाउने निर्णय गरेको प्रदेश सरकारकी प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन। 

मन्त्री जोशीका अनुसार प्रदेशको सङ्गठन संरचना र कर्मचारी दरबन्दी स्वीकृति गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको हो। प्रदेशका मन्त्रालय, प्रदेशसभा, मुख्यन्यायधिवक्ताको कार्यालय लगायतमा आवश्यक कर्मचारीको माग फारम भरी एक साताभित्र प्रदेश लोकसेवा आयोगमा पठाउन समेत निर्देशन दिएको मन्त्री जोशीले बताइन। 

‘अब चाँडै प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्नाका लागी आवेदन खोल्ने छ। एक साताभित्रै सबै मन्त्रालयले माग फाराम भरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत आयोगलाई बुझाउने छन्। सबै विवरण पाइसकेपछि लोकसेवाले विज्ञापन खोल्छ,’मन्त्री जोशीले भनिन्।

मन्त्रिपरिषद्को बैठकले नीतिगत अस्पष्टता हटाएपछि विज्ञापन प्रक्रिया अगाडि बढ्ने प्रदेश लोकसेवा आयोगले जनाएको छ। 

‘सुदूरपश्चिम प्रदेशमा २३ सय बढी स्वीकृत दरबन्दी रहेकोमा झन्डै ४५ प्रतिशत रिक्त छ। पटक–पटक खाली रहेका दरबन्दी पदपूर्तिका लागि विवरण पठाउन स्थानीय तह र प्रदेश सरकारलाई आग्रह गर्दै आएका थियौँ। तर विवरण नै प्राप्त नहुँदा विज्ञापन खोल्न सकेका थिएनौ,’प्रदेश लोकसेवा आयोगका सदस्य सचिव दुर्गादत्त विष्टले भने,‘आन्तरिक तयारी सकिएपछि विज्ञापन खोल्छौँ।’

२८ माघ, २०७८, ०९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।