राजेन्द्र राई: सित्तैमा पाए मुख्यमन्त्रीको पद, खेर फाले अवसर

राजेन्द्र राई: सित्तैमा पाए मुख्यमन्त्रीको पद, खेर फाले अवसर

इटहरीः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई सत्तामा नहुँदासम्म क्रान्तिकारी स्वभावका नेता मानिन्थे। निकै प्रगतिशील र मितव्ययी नेताको छवि थियो उनको। नेकपा एमालेमा रहँदा आफ्नै पार्टी नेतृत्त्वको सरकारको खुलेर आलोचना गरेकै कारण पार्टीबाहिर पनि उनका शुभेक्षुक बढ्दै गएका थिए। 

प्रदेश सभामा प्रष्ट कुरा गर्ने र आफ्नै पार्टी नेतृत्त्वको सरकारको आलोचनामा खरो उत्रिन्थे राई। अनेरास्ववियूको अध्यक्ष हुँदा क्रान्तिकारी छवि बनाएका उनी एमालेको ८औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए। 

त्यसपछि माधव नेपाल प्रधानमन्त्री हुँदा राजनैतिक सल्लाहकार भएका राई भोजपुरबाट प्रदेश सभामा निर्वाचित सांसद हुन्। सांसद हुनु नै ठूलो सफलता देखेका राईले मुख्यमन्त्री बन्ने सपना समेत देखेका थिएनन्। 

नसोचेको पद हासिल गरेका उनको लागि एमाले विभाजन फलदायी बन्यो। विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीले प्रदेश सरकारको विरुद्धमा अविश्वास प्रस्ताव ल्याउने भयो। ५ दलीय गठबन्धनको सरकार बन्ने भएपछि एकीकृत समाजवादीको तर्फबाट राईले अवसर पाए। 

९२ सदस्यीय प्रदेश सभामा १० सांसदसहित चौथो ठूलो दल भएर पनि राईलाई मुख्यमन्त्री बन्ने मौका मिल्यो। तर यो अवसर उनले सित्तैमा पाएको धन जसरी खेर फालिरहेका छन्।

आफू सत्तामा नहुँदा बोलेको बोली र अहिलेको व्यवहारमा कुनै तारतम्य मिलेको देखिँदैन। 

शेरधन राई नेतृत्त्वको सरकारको पालामा २०७७ जेठ २९ गते बिहीबारको बजेट अधिवेशनमा उनले सरकारको खुलेरै आलोचना गरेका थिए। सरकार खर्चिलो बनेकोदेखि आर्थिक हैसियत बढाउन नसकेको उनको आरोप थियो। 

अहिले उनै राईले एकपछि अर्को मन्त्रालय विभाजन गर्ने र व्ययभार बढाउने काम गरिहेका छन्। कुनै पनि योजनालाई मूर्त रूप दिन नसकेका उनले काम गर्नसक्ने जति मात्र बोल्न आग्रह गरेका थिए। सरकारले घाँटी हेरी हाड निल्ने काम नगरेको उनको आरोप थियो। 

सरकार बनेको तीन महिना पूरा हुँदा समेत राईले आफ्नो कार्यक्षमता देखाउन सकेका छैनन्। सरकार विस्तार गर्नेबाहेक प्रदेशको नामांकनको विषयमा समेत उनको प्रयास निरर्थक छ।

मन्त्रालय विभाजन गरेर व्ययभार थप्ने काममा लागेका राईले मितव्ययी बन्न दिएको सल्लाह आफैँ पालना गरेका छैनन्। 

यस्तो थियो त्यसबेलाको भाषण 
केन्द्र सरकार र यहाँको सरकारको बाटो सन्तोषजनक छैन। प्रदेश सरकारको बाटो पनि सन्तोषजनक देखिएन। सरकारले काम गर्न सक्ने मात्र बोल्नुपर्छ। पहिला राखेका योजना पूरा नभएपछि हाम्रो अवस्था प्रष्ट भएको थियो। आर्थिक हैसियतअनुसार काम गर्नुपर्ने थियो। किन भएन? 

मुख्यमन्त्रीले पछिल्लो सरकारलाई काम नै नराख्ने वा काम पूरा गर्न अझै २/४ पटक आफै मुख्यमन्त्री बन्न लायक देखाए जस्तो कार्यक्रम आएको छ। रामकृष्ण ढकालको गीत जस्तो ‘यो त सब भन्ने कुरा न हो....’ भने जस्तो देखियो। घाँटी हेरी हाड निल्ने काम गरौँ। हजार माईलको यात्रा एक पाईलाबाट सुरु हुन्छ भने जस्तै विस्तारै विस्तारै पाइला सुरु गरौँ। 

अनेकौँ आकांक्षा र आशामा बजेट नछरौँ। एउटा भनाई छ ‘डन्ट काउन्ट योर चिकेन्स विफोर दे आर ह्याच्ड' भने जस्तो जन्मिनुभन्दा अगाडि चल्ला गन्नु हुँदैन। भ्रष्टचार शून्य सहनशीलता भने जस्तो खोजीखोजी भ्रष्टचार नियन्त्रण गर्नुपर्यो। डोकोले छोपेको भ्रष्टचार देखिएकाले शून्य सहनशीलता देखाउने हो भने यता ध्यान दिऔँ। 

योजना बजेट कार्यान्वयन कोरोनाले गर्दा भएन भने उपयुक्त विकल्प खोजौँ। जनता शासक भएको जनता मालिक भएको भन्ने परिवर्तनलाई बुझ्न सकेनौँ कि जस्तो भएको छ। शासन प्रशासनमा जनप्रतिनिधिले शासन गर्ने भन्ने हो।

२७ माघ, २०७८, २०:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।