बस्दै नबसी भत्कन थाले हलिया बस्तीका घर 

बस्दै नबसी भत्कन थाले हलिया बस्तीका घर 

डोटी : डोटीमा मुक्त हलियाका लागि वनेका घरहरू भत्किन थालेका छन्। पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ मा मुक्त हलिया पुनः स्थापनका लागि पाँच वर्ष अघि निर्माण गरिएका घर भत्किन थालेका हुन्। 

कतिपय घरको जग नै भत्केको छ भने कतिपय घर जीर्ण बनेका छन्। मुक्त हलिया पुनः स्थापनाका लागि निर्माण गरिएका घरमा मान्छे नबस्दा जीर्ण बनेको स्थानीय रम्भा विकले बताइन्। 

‘हामीलाई बिजुली पानी दिन्छौ भन्ने आश्वासन दिएका थिए तर अहिलेसम्म त्यो पुरा भएन। त्यहाँ केही सुविधा छैन। बस्न बाहेक अन्नबाली लगाउन जग्गा दिइएको छैन’,उनले भनिन्।

सरकार र हलियाका नेताहरूले झुटा आश्वासन मात्र दिएको स्थानीय दल बहादुर नेपालीले गुनासो गरे। ‘आकर्षक बस्ती बसाउँछौँ, स्कुल खोल्छौँ भने तर खानेपानीको समेत व्यवस्था गरेनन्,’उनले भने,‘अहिले पुरानै घरमा बसिरहेका छौँ,खानेपानी र आय आर्जनको व्यवस्थापन गरिदिएपछि मात्रै नयाँ घरमा जान्छौँ।’

स्थानीय फुले नेपाली आफूहरूका समस्यामा राज्य गम्भीर नभएको बताउँछन्। ‘अहिले पनि डोका नाम्ला बचेर घर खर्च चलाइरहेका छौँ,’उनले भने,‘राज्य हाम्रा समस्या प्रति गम्भीर वन्नुपर्यो।’

दुई कोठे भवन निर्माणको नक्सा भए पनि सानो आकारको टहराजस्तो घर निर्माण गरेर मुक्त हलियाले अनुदान भने लिइरहेका छन्।

राज्यको हेपाहा प्रवृत्तिका कारण समस्या यथावत् रहेको हलिया मुक्ति समाज डोटीको आरोप छ। ‘सरकारले जग्गा किन्न प्रति परिवार २ लाख र घर निर्माण गर्न ३ लाख २५ हजार उपलब्ध गराएको थियो,’हलिया मुक्ति समाज डोटीका अध्यक्ष बज्री सिङ नेपालीले भने,‘ आफूखुसी जग्गा खरिद गरेर बनाएका घरमा उनीहरू नै बस्न मानिरहेका छैनन्।’

उनले हलिया बस्तीमा खाने पानीसँगै स्कुल लगायतका अन्य सुविधाका लागि पहल गरिरहेको बताए। 

अध्यक्ष नेपालीका अनुसार २०७५ असारमा सरकारबाट रकम पाएपछि १८ जनाले व्यक्तिगतरुपमा जग्गा खरिद गरे। हलियालाई पुनः हलिया नै बनाई राख्न वडा नम्बर २ को बगलेक जङ्गलमा बस्ती निर्माण भयो। पूर्वी चौकी–२ बगलेक र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ मा मुक्त हलियाका ३० परिवारको पुनः स्थापनाका लागि जग्गा खरिद तथा घर निर्माण गरियो। प्रतिपरिवार पाँच लाख २५ हजारको लगानी भएको भए पनि हाल उनीहरू पुरानो घरमै बसिरहेका छन्।

जङ्गलको बीचमा बनेको छ हलिया बस्ती। पूर्वी चौकी गाउँपालिकाका अध्यक्ष दीर्घ बोगटीले अहिले प्रतिवेदन तयार भइरहेको र केही समयमै मुक्त हलियाको उचित व्यवस्थापन गर्ने बताए। 

दुई कोठे भवन निर्माणको नक्सा भए पनि सानो आकारको टहराजस्तो घर निर्माण गरेर मुक्त हलियाले अनुदान भने लिइरहेका छन्।

२७ माघ, २०७८, १२:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।