धरापमा प्रदेश १ को सत्ता गठबन्धन, कांग्रेसले दियो भत्कने चेतावनी

धरापमा प्रदेश १ को सत्ता गठबन्धन, कांग्रेसले दियो भत्कने चेतावनी

राई प्रदेश सरकारको आम्दानी नभई खर्च बढाउन व्यस्त छन्। नेकपा एकीकृत समाजवादीका राई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी ५ दलीय गठबन्धनको समर्थनमा कार्तिक १६ गते मुख्यमन्त्री नियुक्त भए। नियुक्ति पाएदेखि मन्त्रालय फुटाउने र भागबन्डा गरेर सत्ता टिकाउन लागेका छन् राई। 

राईले ७ बाट १४ सदस्यीय मन्त्रिपरिषद् पुर्याएका छन्। उनले गठबन्धन सरकारमा भागबन्डा मिलाउन मन्त्रालय फुटाउनु परेको तर्क गरेका छन्। मन्त्रालयको सङ्ख्या दोब्बर पुर्याउँदा पनि साना दललाई भाग नपुगेको भन्दै राई १९ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारीमा छन्। 

धरापमा गठबन्धन 

१० देखि १५ दिनभित्रमा ५ सांसदलाई राज्यमन्त्री नियुक्त गर्ने तयारी छ उनको। छरितो मन्त्रिपरिषद् गठन गरेर प्रभावकारी काम गर्ने बताएका राई भाग मिलाउन मन्त्रालय नै फुटाउन लागेका छन्। 

१२ वटा मन्त्रालय बनाउने सहमति सत्ता गठबन्धनले गरेका थिए। उनले कांग्रेस सांसद हिमाल कार्की मन्त्री नियुक्त भएको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयबाट यातायात विभाग र केदार कार्की मन्त्री बनेको आन्तरिक मामिला तथा कानुनबाट सञ्चार झिकेर यातायात तथा सञ्चार मन्त्रालय बनाएका छन्। यसले सत्ता साझेदार कांग्रेस असन्तुष्ट देखिएको छ। 

आन्तरिक मामिला तथा कानुन मन्त्री कार्की आफू राजीनामा दिने तयारीमा रहेको बताउँछन्। गठबन्धनमा भएको निर्णय विपरीत मन्त्रालय फुटाउने काममा मुख्यमन्त्री लागेको कार्कीको आरोप छ। एकलौटी ढङ्गले मुख्यमन्त्री अगाडी बढे दुर्घटना हुने चेतावनी दिए उनले। मन्त्रिपरिषद्मा आइतबार थपिएका मन्त्रीहरूको शपथग्रहणमा उनी गएनन्। 

कांग्रेस संसदीय दलका नेता राजीव कोइराला गठबन्धन सरकार भएकाले मुख्यमन्त्री एक्लैले मन्त्री थप्ने काम गलत भएको बताउँछन्। कांग्रेसको भागमा परेका मन्त्रालय टुक्र्याएर अन्य मन्त्रालय थप गरेकोमा उनले असन्तुष्टि जनाए।  मुख्यमन्त्रीले ढाँटेर अघि बढ्दा गठबन्धन धरापमा बताए कोइरालाले। 

भागबन्डा मिलाउँदा मिलाउँदै मन्त्रालय विभाजनको खेलमा लागेका राईका लागि सत्ता टिकाउनै समस्या पर्ने देखिएको छ। नामाङ्कनको विषय ओझेलमा पारेर मन्त्रालय विभाजनमा लागेका उनी समय मात्र कटाउने ध्याउन्नमा देखिएको आरोप समेत लागेको छ।

२६ माघ, २०७८, १२:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।