फरार सांसद खातुन पक्राउ गर्न प्रहरीले बढायो निगरानी

फरार सांसद खातुन पक्राउ गर्न प्रहरीले बढायो निगरानी

इटहरी : राष्ट्रियसभामा प्रदेश १ बाट ३ सदस्य निर्वाचित हुँदै छन्। आज बुधबार हुने निर्वाचनमा ३ पदका लागि ३ दलका ८ जनाको उम्मेदवारी परेको छ। सत्तारुढ गठबन्धनले साझा उम्मेदवार तय गरे पनि नेकपा एमाले र राप्रपाले एकल उम्मेदवारी दिएका छन्। 

गठबन्धनकाको तर्फबाट खुल्लामा काँग्रेसका गोपाल बस्नेत, महिलामा एकीकृत समाजवादीकी जयन्ती राई र अल्पसङ्ख्यकतर्फ जनता समाजवादीका हेमराज थुलुङ राई उम्मेदवार छन्। 

एमालेबाट खुल्लातर्फ गुरु बराल, महिलामा सुमित्रा भण्डारी र अल्पसङ्ख्यक कोटामा सोनाम ग्याल्जेन शेर्पा उम्मेदवार छन्। राप्रपाको तर्फबाट खुल्लामा झापाका अमर विष्ट र महिलामा रञ्जु प्याकुरेल चुनावी प्रतिस्पर्धामा छन्। 

प्रदेशसभाका राप्रपाका एक सांसद र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष गरी चार जना छन्। उनीहरूको जम्मा १२० मतभार छ।

स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेशसभाका सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा ३६४ मतदाता छन्। निर्वाचनमा प्रदेशसभाका ९३ सांसद मध्ये एमालेकी गुलेफुन खातुन फरार छिन्। 

बाकी १३७ स्थानीय तहतर्फ २७४ मतदाता हुनेमा २ जनाको निधन भएका कारण २७२ जनाले मतदानमा भाग लिने भएका प्रदेश १ को निर्वाचन कार्यालयले जनाएको छ।  

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुने कानुनी प्रावधान छ। जसअनुसार ९२ प्रदेशसभा सदस्यहरूको मतभार ४ हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार ४ हजार ८९६ गरी जम्मा मतभार ९ हजार ३१२ रहेको छ।

प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको ४ हजार ५२४ मतभार रहेको छ भने गठबन्धनमा आबद्ध दलहरूको कुल मतभार ४ हजार ६६८ देखिएको छ।

हालको मतभारको अङ्कगणित अनुसार गठबन्धनका उमेद्धवारको विजय निश्चित देखिएको छ। एमाले र राप्रपा मिलेको खण्डमा पनि ५ दलीय गठबन्धन बलियो देखिएपछि दुई दलले साझा उम्मेदवार नै तय गर्न सकेनन्। 

एमाले सांसद खातुनको चर्चा 

राष्ट्रियसभा निर्वाचनले पुनः एमालेकी फरार सांसद गुलेफुन खातुनलाई चर्चामा ल्याएको छ। सरकारी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा जेल सजाय तोकेपछि फरार रहेकी उनी निर्वाचनमा सहभागी हुने नहुने कुनै जानकारी नपाएको प्रहरीले जनाएको छ। उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष कैद र १४ हजार ५८३ जरिमानाको फैसला सुनाएको थियो।  

उनी प्रहरीको फरार सुचीमा छिन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार खातुनबारे प्रहरी जानकार रहेकाले निगरानी बढाइएको छ। प्रहरीले आफ्नो जिम्मेवारी पुरा गर्ने भन्दै उनले समय आएपछि उत्तर दिने बताए। 

राष्ट्रियसभा निर्वाचनको लागि बिहान ९ बजेदेखि ३ बजेसम्मको समय तय भएको छ। जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश तथा निर्वाचन अधिकृत भरत लम्सालका अनुसार समयमै निर्वाचन सक्ने गरी व्यवस्था मिलाइएको छ।

मतदान गर्ने जनप्रतिनिधिहरूले नागरिकता वा राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा निर्वाचित भएको प्रमाणपत्र लिएर आउनुपर्ने उनले बताए।

कोरोना विरुद्धको दुवै डोज खोप लगाएको कार्ड र मास्क अनिवार्य गरिएको उनले जानकारी दिए। उनका अनुसार कोरोना सङ्क्रमितका लागि छुट्टै मतदानको व्यवस्था गरिएको छ। मतदानका लागि दुई वटा मतदान केन्द्र निर्धारण गरिएको छ। 

स्थानीय तहका प्रमुख/उपप्रमुख लागि प्रदेश निर्वाचन कार्यालय परिसर र प्रदेश सांसदहरूका लागि बाली संरक्षण प्रयोगशालामा मतदान केन्द्र तोकिएको हो। मतदान सकिएपछि साँझ ४ बजेसम्ममा मतगणना सुरु हुने लम्सालले बताए। 

१२ माघ, २०७८, ०७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।