एमाले सुनसरी अधिवेशन : भीम आचार्यको शक्तिमा पुगे रेवतीरमण

एमाले सुनसरी अधिवेशन : भीम आचार्यको शक्तिमा पुगे रेवतीरमण

इटहरी : नेकपा एमाले सुनसरीको अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएसँगै सुनसरी एमालेका बादशाह मानिएका भीम आचार्यको राजनीति संंकटमा परेको छ। कुनै समय आचार्य निकट मानिएका भण्डारी अहिले उनको राजनैतिक विश्रामको साक्षी भएका छन्।

जिल्ला अधिवेशनमा उनी निकट मानिएका अध्यक्षका उम्मेदवार द्वारिकलाल चौधरीले लज्जास्पद हार बेहोरे। केपी ओली निकट अर्का उम्मेदवार खेमराज पोखरेललाई पनि उनले समर्थन गरेका थिए। पोखरेल र चौधरीलाई मिलाउने प्रयास गरेका आचार्य असफल भए। 

चौधरी र पोखरेलको मत भन्दा बढी मतान्तरले भण्डारी विजयी भए। यसले आचार्यमाथि ठुलो धक्का पुग्यो। दोस्रो कार्यकाल सुनसरी अध्यक्ष भइसकेका अनुभवी भण्डारी तेस्रो कार्यकालको लागि विजयी भए। यसअघि आचार्य निकट भएका उनी अब उनको विरोधी खेमामा छन्। आचार्यको शक्ति आफूमा ल्याउन लागि परेका भण्डारी सफल हुँदै गएका छन्। भण्डारीको विजयीले सुनसरीमा आचार्यको विकल्प दिएको छ। 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी २ बाट भण्डारीले टिकट नपाएपछि आचार्यसँग असन्तुष्ट थिए।  एमाले प्रदेश १ संसदीय दलको उम्मेदवार भएका आचार्यलाई पराजित गर्न भण्डारी लागिपरे। नभन्दै आचार्य पराजित भए। आचार्यलाई पराजित गरेका भण्डारीको सफलता त्यहीबाट सुरुवात भयो। त्यसपछि गाउँपालिकामा टिकट विक्री गरेको भन्दै आचार्य विरुद्ध झनै आक्रामक भए उनी। आचार्यले एमालेलाई कमजोर बनाउन लागिपरेको भन्दै सार्वजनिक रूपमै अभिव्यक्ति दिए भण्डारीले। 

कुनै बेला एमाले भित्र माधव नेपाल समूहमा थिए दुवै नेता। पछि आचार्यसँगको असन्तुष्टि पछि भण्डारी केपी ओली लाइनमा लागे। माओवादी र एमाले एकता भएर बनेको नेकपा भित्र ओली समूह कमजोर अवस्थामा थियो। माधव नेपाल समूह ओली विरुद्ध लागिरहँदा सुनसरीमा भण्डारी ओलीकै पक्षमा लागे। उनले ओलीको विश्वास जिते। 

पछि एमाले र माओवादी फरक दल भएपछि एमाले भित्र नयाँ संरचना देखा पर्यो। २०७५ जेठ २ अगाडीकै एमालेको संरचना हुनुपर्ने नेपाल समूहको रणनीति बन्यो। तर ओलीले भण्डारीलाई सुनसरी अध्यक्षको जिम्मेवारी दिए। पछि नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी खोले। तर आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्न पाउने भएपछि १० बुँदे सहमति गरेर एमालेमै रहे। 

पछि २ महिना मात्र मुख्यमन्त्री भएर उनी बिदा भए। एमालेको १० औँ महाधिवेशनमा सचिवमा पनि पराजित भए आचार्य। यसअघि सचिव भएका उनी अहिले पार्टी भित्र प्रदेश १ संसदीय दलको नेताको हैसियतमा छन्। प्रदेश १ इन्चार्ज भइसकेका उनले पार्टी भित्र हैसियत गुमाउँदै गएका छन्। 

आचार्यका विश्वासपात्रहरू धमाधम माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लाग्न थालेपछि एमाले भित्र उनको प्रभुत्व कमजोर बनेको छ। सुनसरीमा उनका विश्वासपात्र धर्म निरौलाले एकीकृत समाजवादी रोजे। इटहरीमा उनी निकट केशव कुमार विष्ट देखि चिरञ्जीवी भट्टराईसम्म एकीकृत समाजवादीमा लागे। 

अब उनीमाझ भण्डारीलाई रिझाउने वा नेकपा एकीकृत समाजवादी रोज्ने दुई विकल्प देखिएका छन्। भण्डारीको विजयीसँगै पुराना ओली पक्षीय नेताहरू पनि पाखा लागेका छन्।

२९ पुस, २०७८, २२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।