इटहरीका मेयर द्वारिकालाल रेवतीरमणलाई जिल्ला अध्यक्ष हुन नदिने लबिङमा   

इटहरीका मेयर द्वारिकालाल रेवतीरमणलाई जिल्ला अध्यक्ष हुन नदिने लबिङमा   

इटहरी : नेकपा एमाले सुनसरीको अध्यक्षमा पुर्वअध्यक्षहरु रेवतीरमण भण्डारी र द्वारिकालाल चौधरी दाबेदार देखिएका छन्। हालका अध्यक्ष खेमराज पोखरेल आफैँ दोहोरिने दाउमा छन्। 

चौधरी र भण्डारी भन्दा बलियो अवस्थामा देखिएका छन् पोखरेल। पोखरेलले मिलेर अगाडी बढ्नुपर्ने बताउँदै आएका छन्। 

भण्डारी यसअघि तीन पटक अध्यक्ष भइसकेका नेता हुन्। पछिल्लो समय भीम आचार्यसँग दुरीबढेपछि केपी ओली समूहमा उनको निकटता बढेको थियो। त्यसअघि एमाले भित्र पनि माधव नेपाल समूहका खास नेता हुन् उनी। नेकपा एमाले विभाजन भएर माधव नेपालले छुट्टै पार्टी गठन गर्दा भण्डारी एमालेमै रहे। 

भण्डारीको योजना अनुसार आचार्य कमजोर पनि देखिए। तर भण्डारी आफैँ भने शक्तिशाली बन्न सकेनन्। युवा सङ्घ, अनेरास्ववियु लगायत भातृसंगठनको साथ पाएर पनि भण्डारीले पुनः नेतृत्व पाउने सम्भावना कमजोर बन्दै गएको छ।

चौधरीले पनि एमाले भित्र आफ्नो स्थान खोजिरहेका छन्। केन्द्रीय सदस्यमा नपरेपछि उनी अध्यक्ष दोहोर्याउने लाइनमा छन्। इटहरी उपमहानगरपालिकाको मेयर समेत रहेका चौधरी विभिन्न काण्डका चर्चित अनुहार हुन्। 

मेयर बनेपछि चौधरीले रमेश बस्नेतलाई कार्यबहाकको जिम्मेवारी दिएका थिए। पछि एमाले भित्र विवाद बढ्दैगएपछि ओलीले भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिए। बस्नेत र भण्डारीको कमिटिबीच विवाद बढ्दै गयो। पछि पोखरेललाई तदर्थ कमिटीको सर्वसम्मत अध्यक्ष चयन गरियो। 

पोखरेललाई अध्यक्ष घोषणा गर्न आयोजित कार्यक्रममा चौधरीले माइक खोसेका थिए। जेठ २ अघिको अध्यक्ष आफू भएको भन्दै उनले पार्टीलाई कम्पनी बनाउन खोजेको आरोप लगाएका थिए। 

अहिले पुनः चौधरीले अध्यक्षमा दाबी गर्दै आएका छन्। भण्डारीलाई अध्यक्ष हुन नदिने दाउमा छन् चौधरी। भण्डारीलाई रोक्न सके अर्को कार्यकालमा मेयरको लागि सिफारिसमा पर्न सकिने उनको बुझाई छ। 

अर्का नेता रामप्रसाद चौलागाईले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन्। पार्टी भित्र शुद्धीकरणको लागि आफू अध्यक्ष बन्न लागेको उनको तर्क छ। कार्यकताहरु नेतृत्वको खोजीमा रहेकाले दास मनोवृतीलाई हटाउन आफू अध्यक्ष हुनुपर्ने चौलागाईले बताए। अहिले नै यसलाई छाड्ने र उसलाई समर्थन गर्ने भन्दा पनि चुनावी प्रक्रिया सुरुभएपछि निर्णय हुने उनको भनाई छ। सुनसरीको एमाले सङ्गठन निर्माण  गर्ने कार्ययोजना आफूसँग मात्र भएको उनले बताए। 

उता पोखरेलले भने सर्वसम्मत नेतृत्व चयनको सम्भावना बढ्दै गएको बताएका छन्। यसअघिको लामो विवादपछि आफ्नै नाममा सहमति भएको स्मरण गराउँदै उनले पूर्ण कार्यकालको लागि अध्यक्ष हुनेमा विश्वास व्यक्त गरे। धेरै उम्मेदवार हुँदा राम्रो सन्देश नजाने भन्दै उनले सहमतिकै आधारमा नेतृत्व टुङ्गो लाग्ने दाबी गरे। 

चौलागाई र चौधरीबीच लामो समय विवाद बढेको थियो। पछिल्लो समय भण्डारीलाई एक्लाउने विषयमा भने दुवै नेता एक भएका छन्। भण्डारी अध्यक्ष भए आफूहरूको ठाउँ नहुने बुझेका नेताहरूले पोखरेलको नाममा सहमति जनाउन लबिङ तीव्र पारेका छन्।

एमालेको सुनसरी जिल्ला अधिवेशन भोलि शुक्रबार सुरु हुँदैछ। 

 

२२ पुस, २०७८, १८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।