टिकट लिन देउवा फकाउँदै धरानका मेयर तिलक राई

टिकट लिन देउवा फकाउँदै धरानका मेयर तिलक राई

यहाँ रहँदा देउवाले धरान उपमहागरपालिकाका मेयर तिलक राईलाई हौसला प्रदान गरे। धरान उपमहानगरको पार्टी कार्यालय उद्घाटन गर्ने क्रममा देउवाले राईको प्रशंसा गर्दै धेरै राम्रो काम गरेको बताए। 

यसअघि धरान उपमहानगरपालिकाको दोस्रो चरणको निर्वाचनमा उनी धरान आएका थिए। केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला धरान आएका देउवाले राईलाई विजय गराउन आग्रह गरेका थिए। धरानलाई कांग्रेसको गढ बनाउन राईको जित अपरिहार्य भएको उनको भनाइ थियो। नभन्दै राई विजयी भए। 

राई विजयी भएपश्चात बधाई दिन देउवा पुनः धरान पुगे। बधाई दिने क्रममा उनले धरानलाई हरतरहले सहयोग गर्ने बाचा गरे।

दोस्रो कार्यकालको लागि सभापति भएका देउवासामु कांग्रेसलाई बलियो बनाउने चुनौती छ। पहिला विजयी भएका पालिकामा पुनः विजयी गराउने उनको रणनीति छ। बाँकी कांग्रेस बलियो भएर पनि पराजित भएका पालिकाहरुमा एकताको सन्देश दिएर विजयी गराउने उनको तयारी देखिन्छ। अघिल्लो कार्यकालमा कांग्रेस कमजोर बनाएको आरोप पखाल्न उनले कोसिस गरिरहेका छन्। 

मंगलबारको धरान भ्रमणमा पनि उनले आफ्नो अन्तिम कार्यकाल भएको स्मरण गराउँदै एकताको सन्देश दिने बाचा गरे। धरानमा कोइराला समूह बलियो भएपछि उनले एकताको विषय उठाएका हुन्। सोही क्रममा मेयर राईको खुलेर प्रशंसा गरेका उनले कांग्रेसको कार्यकालमा विकाशको योजना बढी आएको बताए। 

मेयर राईले पनि देउवालाई कांग्रेस पार्टी कार्यालय, अत्याधुनिक फोहोर–मैला प्रसोधन केन्द्र, निर्माणाधीन नमुना बसपार्कको अवलोकन गराए। आफ्नो कार्यकालमा भएका काम भन्दै उनले प्रधानमन्त्री देउवा सामु भावी योजना बताए।

खानेपानी समस्या समाधान गर्नुपर्ने र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषय समाधान गर्नुपर्ने, ६ लेन सडक बाइपास गर्नुपर्ने, सुकुम्बासीलाई लालपुर्जा दिनुपर्ने जस्ता माग उनले राखे। राईको मागमा देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन्। 

राईले निजी निवासमै खानाको व्यवस्था गरेका थिए। खानापछि कार्यकर्तासँगको भेटमा पनि देउवाले राईको खुलेर प्रशंसा गरे। देउवाको नजरमा पर्न सफल राईले आगामी स्थानीय निर्वाचनमा पुनः टिकट पाउने सम्भावना बढेको छ। 

यसअघि २०७४ को निर्वाचनमा पराजित भएका थिए राई। एमालेबाट विजयी तारा सुब्बाको निधन भएपछि दोस्रो चरणका निर्वाचनमा उनी विजयी भएका हुन्। पार्टी भित्र शेखर कोइराला निकट मानिए पनि उनले देउवासँग सम्बन्ध सुधार गरेका छन्।

भर्खरै सम्पन्न कांग्रेसको १४औं अधिवेशनमा सुनसरी क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिमा उनको दावी थियो। धरान उपमहानगरको दुई कार्यकाल नेतृत्व गरेका राईले देउवा टिमको सहयोगमा सभापतिको उम्मेदवार हुने चर्चा चलाए। देउवा समूहले सहयोग गर्ने भएकाले आफू उम्मेदवार हुन लागेको उनले बताएका थिए। 

उम्मेदवारी मनोनयनको अघिल्लो दिन आफू उम्मेदवार बन्न नसक्ने बताएपछि देउवा समूह रुष्ट भएका थियो। त्यसपछि उनी कोइराला प्यानलबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार भए। अत्यधिक बहुमतका साथ महाधिवेशन प्रतिनिधि विजयी भएपछि उनले देउवा टिमलाई धोका दिएको आरोप लाग्यो। 

तर, पछिल्लो समय देउवालाई गृहनगर भ्रमण गराएर उनले सबै दोष पखाल्ने प्रयास गरेका छन्। धरानका स्थानीय देउवा पक्षीय नेताभन्दा उनको प्रभाव बलियो बन्दै गएको छ। अगामी स्थानीय तहको निर्वाचनमा पनि उनकै पल्ला भारी देखिएको छ।

२१ पुस, २०७८, १७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।