ट्रमाको ९० लाखको एम्बुलेन्स: बिरामी होइन कार्टुन ओसार्दै  

ट्रमाको ९० लाखको एम्बुलेन्स: बिरामी होइन कार्टुन ओसार्दै  

काठमाडौंः राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्ष अगाडि अस्पतालकै ‘प्रदेश–०३–००१ झ ००८३’ नम्बरको एम्बुलेन्स रोकी राखेको थियो। तर, बिरामी बोक्न किनिएको एम्बुलेन्सले भित्रबाट धमाधम कार्टुन झार्दै थियो। अस्पतालमा खटिएका सुरक्षा गार्ड र कर्मचारीहरू एम्बुलेन्सबाट धमाधम कार्टुन झारिरहेका थिए। 

आकस्मिक कक्ष अगाडि एम्बुलेन्सबाट झारिएको कार्टुनका चाङ नै थिए। कर्मचारीहरूले कार्टुन ओसार्दै अस्पतालभित्र लगिरहेका थिए।

एम्बुलेन्समा बिरामीको साटो कार्टुनको चाङ देखेपछि उकेराकर्मीले मोबाइलले एम्बुलेन्सको फोटो खिच्यो। तर, त्यहाँ खटिएका सुरक्षा गार्ड तथा कर्मचारीले 'किन फोटो खिचेको?' भन्दै फोटो डिलिट गर्ने प्रयास गरे। 

एक जना सुरक्षा गार्डले उकेराकर्मीलाई अलि ठूलो स्वरले भने, ‘दाइ त्यो फोटो किन खिचेको? मोबाइल ल्याउनुस् त।’

मोबाइल खोस्ने प्रयास गरेपछि भने उकेराकर्मी त्यहाँबाट छलिएर निस्कियो। 

०००
बिरामी बोक्ने एम्बुलेन्सबाट कार्टुन झरेको विषयमा अस्पताल प्रशासनसँग बुझ्दा एम्बुलेन्समा एयरपोर्टबाट मास्क ल्याएको पुष्टि भयो। 

राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल स्टोर प्रमुख कृष्णनन्द चौधरीले एम्बुलेन्समा ८५ कार्टुन मास्क ल्याएको प्रष्ट पारे। चौधरीले भने, ‘८५ कार्टुन ल्यायौं। एक लाख ७५ हजार पिस ल्याएको हो।’ 

चौधरीले आफैं एम्बुलेन्समा गएर मास्क ल्याएको जानकारी दिए। भने, ‘ऊ त्यो एम्बुलेन्समा ल्यायौं। मलाई गाडी नम्बर थाहा भएन।’

कुन वर्गको एम्बुलेन्स हो भन्ने पनि आफूलाई थाहा नभएको उनको तर्क छ। अस्पताल प्रशासन स्रोतका अनुसार शुक्रबार दुई वटा एम्बुलेन्स प्रयोग गरेर मास्क ल्याइएको  थियो।

ट्रमा सेन्टरका निमित्त निर्देशक डा. प्रमोद जोशीले पनि एम्बुलेन्समा मास्क ल्याएको घुमाउरो तरिकाले स्वीकारे। सुरुमा एयरपोर्टबाट एम्बुलेन्समा मास्क लिएर आएको स्वीकारे पनि कुरा गर्दै जानेक्रममा उनले मास्क बोक्न एम्बुलेन्सको प्रयोग भए नभएको बारे अनभिज्ञ रहेको बताए। 

जोशीले भने, ‘कुन चाहिँ एम्बुलेन्समा हाल्ने भन्ने त मलाई जानकारी छैन। एम्बुलेन्स लिएर जाने भनेको चाहिँ एयरपोर्ट लिएर गएको हो।’ केही बेरको कुराकानीपछि उनले कुरा फेर्दै भने, ‘एम्बुलेन्स नै प्रयोग गरेको मलाई जानकारी भएन।’

उकेराकर्मीले एम्बुलेन्सबाट कार्टुन झारिरहेको देखेको बताउँदा र अस्पताल प्रशासनले एम्बुलेन्समा मास्क ल्याएको पुष्टि गर्दा समेत डा. जोशीले भने एम्बुलेन्समा मास्क ल्याएको थाहा नपाएको जस्तो गरे।

डा. जोशीले भने, ‘कहिलेकाहिँ कस्तो हुन्छ भने अरू गाडी नभएको अवस्था,  त्यो गाडी चाहिँ त्यतिकै फ्रि भएर बसेको र हामिलाई सामानहरू तत्काल दिइरहेको बेलामा लिन गएन भने त्यो सामान नपाउन सक्ने पनि सम्भावना हुन्छ।’ 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको समन्वयमा मास्क ल्याइएको निमित्त निर्देशक जोशीले बताए। उनले भने, ‘व्यवस्थापन महाशाखासँग कुरा गर्दा व्यवस्थापन महाशाखाले हाम्रो सामान तपाईंहरूले एयरपोर्टबाट लिनु भनेको भएर त्यहाँबाट मास्कहरू लिएर आएको हो।’

तर, कुन एम्बुलेन्समा लगिएको भन्ने आफूले जानकारी नपाएको उनको भनाइ छ। 

मास्क लिन जान गाडीलाई प्रवेश अनुमतिका लागि ट्रमा सेन्टरले एयरपोर्टमा पत्र लेखेको पनि उनले बताए। तर, सो पत्रको प्रतिलिपि दिन भने अस्पताल प्रशासनले अस्वीकार गर्यो। मेडिकल प्रमुख चौधरीले एम्बुलेन्समा मास्क ल्याएको विषयलाई समाचार नबनाउन अनुरोध गर्दै पत्र दिन अस्वीकार गरे।

यता स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका विज्ञ सल्लाहकार डा. रमेश ढकाल एम्बुलेन्समा सामान बोक्न नपाइने बताउँदै सामान बोकेको पाइए सचेत गराउने बताउँछन्। सल्लाहकार डा. ढकालले भने, ‘एम्बुलेन्समा बिरामी बोक्ने हो। इमर्जेन्सी पर्दा डाक्टर र नर्स बोक्ने हो। अरू केही पनि बोक्न पाइँदैन।’

उपचार गरिरहेको अवस्थामा सामानको अभाव भयो भने आपत्कालीन अवस्थामा मात्र सामान ल्याउन पाइने उनी बताउँछन्। 

एम्बुलेन्सले नीतिगत रूपमा सामान बोक्न नपाउने भएकाले ट्रमा सेन्टरले एम्बुलेन्समा सामान बोकेको पाइए सचेत गराइने ढकाल बताउँछन्। उनले भने, ‘एम्बुलेन्समा सामान बोकेको पाइए अबदेखि नबोक्नु भनेर सचेत गराउने हो। ट्रमा सेन्टरको डाइरेक्टर आफैंले बुझ्ने कुरा हैन र त्यो?’

उनले थप भने, ‘क वर्गको एम्बुलेन्समा सामान लोड गर्ने हो भने त ट्रक किन चाहियो? डेलिभरी भ्यान किन चाहियो?’

ट्रमा सेन्टरको स्रोतका अनुसार ‘क’ वर्गको भनिएको सो एम्बुलेन्स ८९ लाख ९५ हजारमा खरिद गरिएको हो। एम्बुलेन्स नौ महिनाअघि ल्याइएको स्रोतले जानकारी दियो। 

तर एम्बुलेन्सको खरिद प्रक्रिया पनि चोखो छैन। कर्मचारीहरूले प्रश्न उठाउँदै आएका छन्। 

अस्पतालका पूर्व निमित्त निर्देशक डा. सन्तोष पौडेलले सो एम्बुलेन्स खरिद गरेका थिए। उनी पनि एम्बुलेन्सले बिरामीबाहेक अरू केही बोक्न नमिल्ने बताउँछन्। भन्छन्, ‘क वर्गको एम्बुलेन्स। त्यति धेरै इक्विप्मेन्ट जोडेको छ। इक्विप्मेन्टहरूलाई सामानले धक्का लाग्यो भने त बिग्रियो नि त।’

‘क’ वर्गको एम्बुलेन्स भेन्टिलेटर जडित एम्बुलेन्स हो। यसमा सिरिन्ज पम्प, इन्फ्युजन पम्प, मनिटर, डिफिब्रिलेटर लगायत आईसीयू तथा भेन्टिलेटरमा आवश्यक हुने सामग्री रहेको अस्पतालका एक चिकित्सकले जानकारी दिए।

एकीकृत एम्बुलेन्स तथा पूर्व–अस्पताल सेवा सञ्चालन निर्देशिका, २०७७ को निर्देशन ‘५’ को ‘८’ मा पनि जुनसुकै बेला सेवामा खटिनुपर्ने भएकाले एम्बुलेन्स सेवा चौबिसै घण्टा सञ्चालन गर्नेगरी तयारी अवस्थामा राख्नुपर्ने व्यवस्था छ। 

२३ मंसिर, २०७८, ०८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।