काठमाडौं महानगरको बेथिति : महामारीमा ६८ लाखको भ्रमण, तर को कहाँ गए छैन लेखाजोखा

काठमाडौं महानगरको बेथिति : महामारीमा ६८ लाखको भ्रमण, तर को कहाँ गए छैन लेखाजोखा

काठमाडौः कोरोना भाइरस संक्रमणका कारण गत आर्थिक वर्ष लकडाउन र निषेधाज्ञामै बित्यो। सोही समयमा काठमाडौं महानगरपालिकाका कर्मचारीले ६८ लाख रुपैयाँ भ्रमणमा खर्च गरे। तर कसले, कहाँ भ्रमण गरे भन्ने स्पष्ट विवरण भने महानगरले खुलाउन सकेको छैन।

महानगरले उकेरालाई उपलब्ध गराएको सम्पूर्ण खर्चको विवरणमा ६७ लाख ६० हजार रुपैयाँ उल्लेख गरेको छ तर महानगरले नै भ्रमण खर्चको शिर्षकमा भएको खर्च विवरणमा भ्रमणको लागि ७९ लाख ९६ हजार ४३९ खर्च भएको उल्लेख गरेको छ।

उक्त विवरणअनुसार सरुवा भएर आउने कर्मचारीको यात्रा गर्दाको भाडालाई समेत भ्रमण खर्च अन्तर्गत राखिएको छ। विपुल तिवारी, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाबाट काठमाडौं महानगरपालिकासम्म आइपुग्दा खर्च भएको ६ हजार रुपैयाँ समेत भ्रमण खर्चमै राखिएको छ।

गत आर्थिक वर्षमा महानगरले भ्रमणको लागि भनेर एक करोड ९३ लाख बजेट विनियोजन गरेको थियो। जसमध्ये महानगरले ६७ लाख ६० खर्च गरेको हो। 

सबै खर्च पछिल्लो ३ महिनामा

महानगरले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्षको अन्तिम ३ महिनामा मात्रै उक्त रकम खर्च भएको देखिन्छ। उक्त भ्रमण पोखरा, रारा, बर्दिया, चितवनलगायतका जिल्लाहरूमा भएको देखिन्छ भने धैरै शीर्षकमा कहाँ भ्रमण गएको खुल्दैन। 

जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आन्तरिक पर्यटन प्रवर्धन कार्यक्रम शीर्षकअन्तर्गत ६ लाख ४५ हजार खर्च भएको देखिन्छ। उक्त भ्रमणमा १८ जना जनप्रतिनिधि र कर्मचारीहरूले रारा क्षेत्र, बर्दिया, र नेपालगञ्ज भ्रमण गरेका थिए।

काठमाडौं महानगरपालिकाका एक कर्मचारीलाई गत चैत्र २६ गते ७ हजार १५० भ्रमण खर्च महानगरले उपलब्ध गराएको विवरणमा उल्लेख गरेको छ। तर कहाँ गएको भनेर उल्लेख गरेको भने छैन। 

यस्तै त्यही दिन भ्रमण खर्च भन्दै ६४ हजार ५ सय भ्रमण खर्च भुक्तानी गरिएको छ। त्यसको पनि कहाँ भनेर उल्लेख छैन। 

चैत २७ गते सातौं तहका अधिकृत श्यामप्रसाद न्यौपाने र प्रेमसिंह कार्कीको नाममा चेकमार्फत ३७ हजार ४ सय र त्यही दिन अर्को भ्रमण शीर्षकमा ६४ हजार खर्च भएको देखिन्छ। 

महानगरले उकेरालाई उपलब्ध गराएको विवरणमा वैशाख ५ गते २२ जनाको टोली भ्रमणको लागि भनेर ३ लाख २० हजार ६५० रुपैयाँ चेकमार्फत भुक्तानी गरेको उल्लेख गरेको छ। 

महानगरले गत वैशाख ५ गतेको आदेशअनुसार साेही दिन तिलक लामिछानेलाई पेस्की स्वरूप ३ लाख ५० हजार उपलब्ध गराएको छ। तर उक्त रकम कहाँ जाने भनेर उल्लेख गरेको छैन। 

यस्तै वैशाख १२ गते रारा ताल भ्रमणमा जाँदाको टिकट व्यवस्थापन गरिदिएवापत कोशी टुर्स एण्ड ट्राभललाई महानगरले १ लाख ८८ हजार भुक्तानी गरेको छ। 

वैशाख १५ गते महानगरपालिकाका सहायक निर्देशक नारायणसिंह भण्डारी चैत्त २८ देखि वैशाख १३ गतेसम्म सुदूरपश्चिम भ्रमण गरेवापत ३४ हजार दिएको छ। तर उक्त भ्रमण कुन उद्देश्यको लागि भनेर विवरणमा उल्लेख छैन। 

यस्तै वैशाख ७ गतेको आदेशअनुसार सहायक निर्देशक सुदर्शन भट्टराईलाई त्यही महिनाको १५ गते १४ हजार ४ सय उपलब्ध गराएको छ। 

महानगरको वातावरण विभागका कर्मचारीले चैत्त १२ देखि १५ गतेसम्म चितवन,बुटवल, पाल्पा, पोखराको भ्रमण र अवलोकन गरेवापत २ लाख ५६ हजार ९५ रुपैयाँ खर्च गरेको उल्लेख छ। 

महानगरका कर्मचारी र वडा कार्यालयका कर्मचारी वैशाख ९ देखि ६ दिने पश्चिम नेपाल भ्रमण गरेवापत ४ लाख ४६ हजार २५० खर्च गरेको छ। उक्त भ्रमणको खर्च भन्दै वैशाख २० गते थप ७८ हजार ८०० रकम भुक्तानी गरेको उल्लेख गरेको छ। यस्तै उक्त दिनमा नै जनस्वास्थ्य विभागका कर्मचारीहरू सुदूरपश्चिम भ्रमणको विल बमोजिम जेठ ९ गते ९२ हजार खर्च उपलब्ध गराएको उल्लेख गरेको छ। 

जनस्वास्थ विभागका कर्मचारीहरूले चैत ५ देखि १५ सम्म पश्चिम नेपालको भ्रमण गरेवापत १ लाख ७ हजार १०० रुपैयाँ खर्च गरेको उल्लेख छ। 

चैत २२ देखि २८ सम्म विभिन्न जिल्लाको विभिन्न स्थानमा भ्रमण गरेवापत २ लाख ३ हजार २५० खर्च भएको छ। 

महानगरले नगर प्रहरीले प्रदेश १ र२ मा भ्रमण गरेको भन्दै १ लाख ८९ हजार ७४४ रुपैयाँ खर्च भएको जनाएको छ। 

२०७७ को चैत २७ देखि २०७८ वैशाख २ गतेसम्म गुल्मी, पाल्पा, स्याङ्जा, बाग्लुङ, कास्कीको अध्ययन भ्रमणवापत २ लाख १७ हजार ६४० खर्च भएको उल्लेख छ। 

चैत २३ गतेको आदेश अनुसार २९ जना कर्मचारीको भ्रमण शीर्षकमा ३ लाख ६५ हजार ५८७ रुपैयाँ खर्च भएको उल्लेख छ। त्यही दिनको भ्रमण आदेश अनुसार ६ जनाको कर्मचारी टोलीले ७९ हजार खर्च गरेको जनाइएको छ। तर उक्त भ्रमण कहाँ र कुन मितिमा भएको उल्लेख छैन।

महानगरका कार्यालय सहयोगीहरूले भ्रमण गरेवापत १ लाख ३२ हजार २०२ रुपैयाँ खर्च गरेको उल्लेख गरिए पनि कहाँ र कहिले भनेर महानगरले उपलब्ध गराएको विवरणमा उल्लेख छैन। 

अन्तरिक पर्यटन भन्दै महानगरको खर्च
काठमाडौं महानगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरू आन्तरिक पर्यटन प्रवर्धन भन्दै भ्रमणमा गएको पाइएको छ। उक्त शीर्षकमा १८ जनाको टोलीले २०७७ चैत २० देखि २८ गतेसम्म रारा, बर्दियार नेपालगञ्ज भ्रमण गरेको थियो।

उक्त भ्रमणमा महानगरले ६ लाख ४५ हजार ४०१ खर्च गरेको छ। यस्तै कर्मचारी तथा जनप्रतिनिधिहरूले भ्रमण कार्यक्रमको लागि लिएको पेस्की फर्स्योट गरी सोधभर्ना भनी ७ लाख ७ हजार २ सय खर्च भएको उल्लेख छ। 

महानगरले उपलब्ध गराएको भ्रमण शीर्षकमा ७९ लाख ९६ हजार ४३९ खर्च भएको उल्लेख छ भने महानगरले एकमुस्ट खर्च विवरणमा ६७ लाख ६० हजार उल्लेख गरेको छ।

२४ असोज, २०७८, १२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।