मयूरले फलामलाई छोएर सुन बनाएपछि स्थापना भएकी मैतिदेवी

मयूरले फलामलाई छोएर सुन बनाएपछि स्थापना भएकी मैतिदेवी

आज दशैंको चौथो दिन। आज नवदुर्गामध्ये कुष्माण्डाको पूजा अराधना गरिन्छ। 

दुर्गाको कुष्माण्डा शक्तिबाटै ब्रह्माण्डको उत्पत्ति भएको धार्मिक विश्वास रहेको छ। यी देवीको रूप सेतो कुभिण्डोको जस्तो हुने भएकाले यिनलाई कुष्माण्डा भनिएको हो। 

यिनको पूजा अराधना गरेमा ज्ञान प्राप्त हुने बताइन्छ। यस्तै कुनै प्रकारका वाणीमा दोष छ भने आजको दिन मालपुवा अर्पण गरे शुभ हुने विश्वास गरिन्छ। 

विजयादशमीका दिनसम्म नवदुर्गाहरूको दर्शन गराउने हाम्रो वाचाअनुरूप कुष्माण्डा देवीको बारेमा माथि प्रस्तुत गरियो। अब पालो नौ वटा शक्तिपीठमध्ये एकको दर्शन गर्ने।

आज मैतिदेवीको दर्शन गरौं।

परापूर्वकालमा एउटा सुन्दर मयूर उड्दै आएछ। मयूर थकाई मार्न फलामबाट बनेको मूर्तिमा बसेछ। त्यो मूर्ति पारसमणिको थियो। 
नजिकै मैतिदेवीको मूर्ति पनि थियो।

मयूर पारसमणिको मूर्तिमा बसिरहेका बेला एक बदमासले प्याट्ट लौरीले हिर्काएछन्। मयूर त भुर्र उडेर गइहाल्यो, तर लौरीले लागेको पारसमणीको मूर्ति भने फुटेर टुक्रा टुक्रा भयो। 

अचम्म त के भयो भने, फलामले बनेको मूर्ति मयूर उडेर गएपछि सुनमा परिणत भयो। 

त्यसै दिनबाट मयूरलाई दैवीय रूप मानी मैतिदेवीको स्थापना मयूर बसेकै स्थानमा गरिएको भनिएको छ।

अंशुवर्माकालीन शिलालेखका अनुसार भने त्यो समयमा मैतिदेवी मन्दिरको स्थापना भएको हो। मैतिदेवीको उत्पति भने मयूर आउनुभन्दा अघि नै भएको थियो।

पछि मल्लकालीन र लिच्छविकालीन शिलालेखमा पनि यी कुराहरु लेखिएको पाइन्छ। 

मैतिदेवीको नामाकरणको सन्दर्भमा एउटा अर्को किंवदन्ती रहेको छ। पौराणिककालमा पञ्चकन्याहरू उडेर माइत जाँदै थिए। धरतीमा एक तान्त्रिक थिए। उनले पञ्चकन्या उडेको देखे। 

देशको रक्षाका लागि पञ्चकन्यालाई यहीँ राख्न पर्छ भनेर उनले आफ्नो तान्त्रिक शक्ति प्रयोग गरे। उनले पञ्चकन्यालाई वशमा पारेर यहीँ बस्न बाध्य पारे। 

र माइत जान हिँडेका पञ्चकन्याको माइतीका रूपमा यसलाई माइती देवी भन्दाभन्दै अपभ्रंश हुँदै मैतिदेवी भन्न लागिएको हो। 

मैतिदेवीमा उत्तरपट्टी मयूरकुण्ड,  मसानघाट ब्रह्मनाल छन्। मैतिदेवीमै हरेक जातिका लागि शव जलाउने छुट्टै मसानघाट समेत रहेको छ।

मैतिदेवीमा बेतालका लामो लिच्छविकालीन धातुको मूर्ति पनि छ। मयूरकुण्ड पनि छ। मयूरकुण्डमा हातगोडा धोएर दर्शन गर्दा छालाजन्य रोग नलाग्ने धार्मिक विश्वास छ। मैतिदेवी मन्दिरमा तान्त्रिक विधिअनुसार पूजाआजा गरिन्छ। दशैंको समयमा मैतिदेवीको मन्दिर झन् विशेष छ।

२४ असोज, २०७८, ०८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।