सुन्दरताले उन्मत्त भएपछि ढुंगाले छोपिएकी नक्साल भगवती

सुन्दरताले उन्मत्त भएपछि ढुंगाले छोपिएकी नक्साल भगवती

आज दशैंको तेश्रो दिन। आज चन्द्रघण्टा देवीको पूजा अराधना गरिन्छ। दुःख कष्टबाट मुक्ति पाउन गाईको दूधबाट बनाइएका परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर चन्द्रघण्टाको पूजा गरेका सधैँ लाभ हुने विश्वास गरिन्छ। 

चन्द्रघण्टाले हातमा चन्द्रमा आकार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ। 

चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको हुन्छ। यी देवीले अत्याचारी दानवलाई नाश गर्छिन्। चन्द्रघण्टा देवीको पूजा अराधना गीत सङ्गीत क्षेत्रमा लागेकाहरूले अझ विशेष रूपमा गर्छन्।

यसअघि उकेराले विजयादशमीका दिनसम्म हरेक दिन नवदुर्गासँग भेट गराउने वाचा गरेअनुरूप चन्द्रघण्टा देवीसँग भेट गरायौं। अब पालो नौ वटा शक्तिपीठमध्ये अर्को शक्तिपीठको दर्शन गराउने। 

आज नक्साल भगतवतीको कुरा गरौं।

नक्साल भगवतीको किंवदन्ती भगवानसँग जोडिएको छैन। रानीसँग जोडिएको छ। यो मन्दिर द्वापर युग सकिएर कलियुग सुरु भएपछि निर्माण गरिएको हो।

कलियुग सुरु भएको करिव एक हजार वर्षपछि कान्तिपुरमा विक्रमकेशरी नामका राजा थिए। उनकी रानी थिइन् नवसागर। नवसागर अत्यन्तै सुन्दर थिइन्। 

त्यही समयमा एक जना मूर्तिकारले मूर्ति तयार पारेछन्। निकै सुन्दर भगवतीको मूर्ति तयार पारेर ती मूर्तिकारले नवसागर भगवती नाम दिएछन्। रानीकै नाम दिएर उनले त्यो मूर्ति रानीलाई नै चढाएछन्। 

सुन्दर मूर्ति त्यो पनि आफ्नै नाममा बनेको देखेर रानी निकै खुशी भइछन्। उनले पनि आफ्नै नामबाट भगवतीको नाम राख्न लगाई विधिवत रूपमा मन्दिर स्थापना गराएर मूर्ति राख्न लगाइछन्।

मन्दिरको नाम नवसागर भगवती थियो। तर कालान्तरमा अपभ्रंश हुँदै नक्साल भगवती भयो।

सुन्दरताले उन्मत्त भगवती
मूर्ति सुन्दर त थियो नै, निकै उग्र पनि थियो। मूर्तिमा सुन्दरताको यति घमण्ड थियो कि,  अन्त्यमा मूर्तिलाई खाल्डो खनेर ढुङ्गाले छोप्न पर्ने अवस्था आयो।

पछि राजा शंकरदेवले विसं ६६४ मा फेरि विधिवत् रूपमा भगवतीको मूर्ति स्थापना गरी प्रेत चर्तुदशीका दिन रथारोहण गरी यात्रा गर्ने प्रवन्ध मिलाएछन्। शंकरदेवले नै मन्दिरमा सोह्र भुजा (१६ ओटा हात भएकी) देवीको मूर्ति स्थापना गरेका हुन्। 

ऐतिहासिक जानकारी
तले शैलीको भव्य मन्दिरमा नक्साल भगवतीको चिल्लो र आकर्षक मूर्ति छ।

शाह वंशावलीहरूमा चर्चा गरिएअनुसार देवीको स्थापना लिच्छवि कालतिर भएको हो। उपत्यकाका नक्साल भगवती,  शोभा भगवती र नाला भगवतीमा एकै प्रकारका मूर्तिहरू राखिएका छन्। यता पलाञ्चाेक भगवतीमा पनि त्यस्तै प्रकारको मूर्ति पाइन्छ। यी देवीहरूलाई दिदीबहिनी मान्ने चलन पनि छ।

राणा प्रधानमन्त्री जुद्ध शमशेर तथा राजा महेन्द्र शाहलगायतले समय समयमा यसको जिर्णोद्धार गर्दै आएका थिए। 

यो मन्दिरलाई सुन्दरता, सुन्दरताले निम्त्याउने घमण्ड र घमण्डले निम्त्याउने परिणामको पाठ सिकाउन स्थापित मन्दिरको रूपमा पनि व्याख्या गरिएको पाइन्छ।

भगवती दुर्गाकै रूपमा पुजा गरिने नक्साल भगवतीप्रति काठमाडौं उपत्यकाका भक्तजनमा ठूलो आस्था रहेको पाइन्छ।

विशेष गरेर घटस्थापनादेखि यहाँ भक्तजनको भिडभाड बढ्ने गर्छ। नवरात्रीबाहेक शनिबार पनि भक्तहरू दर्शनका लागि नक्साल भगवतीको मन्दिर जाने गर्दछन्। नक्साल भगवतीको पूजा अराधना गर्नाले मनले चिताएको पुग्ने जनविश्वास रहिआएको छ।

(स्रोत: मन्दिरबारे जानकार राजु नेपाल र प्राध्यापक दिनेश पन्तसँगको कुराकानी। प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित 'चाडपर्वको घर नेपाल', पदम श्रेष्ठद्वारा लिखित 'नेपाल मण्डल सम्पदा' र घटराज भट्टराईद्वारा लिखित 'नेपालका धार्मिक स्थलहरू')

२३ असोज, २०७८, ०८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।