दुवै हात काटिएपछि मूर्तिकारले गोडाले कुँदेर बनाए शोभा भगवती

दुवै हात काटिएपछि मूर्तिकारले गोडाले कुँदेर बनाए शोभा भगवती

आज दाश्रो दिन, द्वितीया। अर्थात् ब्रह्मचारिणी देवीको पूजा गरिने दिन।

ब्रह्मचारिणी देवीलाई सख्खर चढाई पूजा अराधना गरेमा तथा दान गरेमा कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउन सकिने तथा हरेक प्रकारको अनिष्ट नाश हुने विश्वास गरिन्छ।

आजबाट विजयादशमीको दिनसम्म हरेक दिन हामी तपाईंलाई नवदुर्गासँग भेट गराउँछौं। नौ वटा शक्तिपीठको दर्शन गराउँछौं।

सुरुआत गरौं शोभा भगवतीबाट।

गर्जु बज्रवाद नाम गरेका एक गुरु थिए। उनका शिष्यहरू साह्रै चकचके। शिष्यबाट हैरान भएर गुरु गर्जु बज्रवाद भचाखुशी (निर्मल तीर्थ) नजिकै कर्णदीपमा ध्यान गर्न बसे।

ध्यानमा बस्दाबस्दै त्यहाँ बालुवाको विशाल चैत्य निर्माण हुनपुग्यो। तर दुर्भाग्यवश, कुनै विध्वंशकारीहरूले चैत्य भत्काइदिए। 

सोही चैत्यबाट एकाएक शोभा भगवती प्रकट भइन् र भनिन् 'यस्तो चैत्य भत्काइनुहुन्न'। त्यसपछि चैत्यको पुनर्निर्माण गरियो।
उक्त चैत्य आजसम्म पनि शोभा भगवतीको मन्दिरसँगै जोडिएर रहेको देख्न सकिन्छ। 

अर्को किंवदन्ती के छ भने, द्वापर युगपछि कलियुगले झण्डै एक हजार वर्ष पार गरेपछि राजा विक्रमकेशरकी रानी नवसागरलाई एक कुशल कालिगढले भगवतीको मूर्ति बनाएर चढाए। 

विष्णुमति र भद्रमतिको दोभानमा मूर्तिको विधिवत् रूपमा स्थापना गरियो। 

पछि राजा शंकरदेवले ६६४ सालमा जीर्णोद्धार गरी पुनः मूर्ति स्थापना गरे। र यो नै हालको शोभा भगवतीको मन्दिर हो।

कसरी बनाइयो शोभा भगवतीको मूर्ति?
तान्त्रिक वास्तुशास्त्रका आधारमा बनाइएको शोभा भगवती मन्दिरमा साढे दुई फिट उचाइको मूर्ति रहेको छ। तन्त्रशास्त्रमा यो मन्दिरलाई ‘वगला’ भन्ने गरेको पाइन्छ।

शोभा भगवतीको स्थापना मिति यकिनका साथ भन्न सकिँदैन। तर यसमा भएको मूर्तिकारको कुशल कलाकारिता भने प्रष्टैसँग देखिन्छ। 

उसो त पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवतीको प्रतिमा एकै शिल्पकार ले बनाएको भन्ने किंवदन्ती पनि रहेको छ। एकै मूर्तिकारले बनाएका कारण पनि पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवतीलाई तीन दिदीबहिनी पनि भनिन्छ। 

भनाइ त के पनि छ भने- पलाञ्चोक भगवतीको दिव्य मूर्ति दाहिने हातले बनाएपछि त्यस्तै मूर्ति नबनोस् भनेर ती मूर्तिकारको दाहिने हात नै काटिएको थियो। ती मूर्तिकारले देब्रे हातको मद्दतले नक्साल भगवतीको मूर्ति बनाएका थिए। 

तर त्यसपछि उनको देब्रे हात पनि काटियो। र उनले आफ्नो गोडाले कुँदेर शोभा भगवतीको मूर्ति बनाए भन्ने श्रुतिपरम्परा पनि चलिआएको छ।

बौद्ध पुजारीले गर्दै आएका छन् रेखदेख
दुःख र दरिद्रपनबाट मुक्ति पाउन, युद्धमा विजय हासिल गर्न, शत्रुको संहार गर्न, कामकाजमा सफलता पाउन, पदोन्नति हुन तथा साहसिक कार्यका लागि शोभा भगवतीको आराधना गर्नुपर्ने जनविश्वास छ।

शोभा भगवतीको नित्य पूजा मखनबहालका एक बज्राचार्य परिवारले गर्दै आएका छन्। ती पुजारी बौद्धधर्मी हुन्।

वर्षैपिछे नवरात्रिको अवसरमा निर्मल तीर्थ भचाखुसीमा नवरात्रि मेला लाग्दछ। दशैंको अवसरमा सबै दिन भक्तजनहरू पूजापाठका लागि शोभा भगवती दर्शन गर्न आउँछन्।

हरेक वर्ष मङसिर कृष्णपक्षको ‘बालाचतुर्दशी’को दिन ६ वटा देवदेवीका जात्रामा शोभा भगवतीको मूर्ति पनि रथमा राखी विधिपूर्वक जागा गरी नगर परिक्रमा गराइन्छ।

निकै प्रसिद्ध यस शोभा भगवती मन्दिरमा मनोकामना पूरा गर्न विभिन्न पूजा र बलि चढाउन आउनेहरूको घुइँचो लाग्ने गर्दछ।

(स्रोत: मन्दिरबारे जानकार राजु नेपाल र प्राध्यापक दिनेश पन्तसँगको कुराकानी। प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित 'चाडपर्वको घर नेपाल', पदम श्रेष्ठद्वारा लिखित 'नेपाल मण्डल सम्पदा' र घटराज भट्टराईद्वारा लिखित 'नेपालका धार्मिक स्थलहरू')
 

२२ असोज, २०७८, ०८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।