स्वास्थ्य कोषको रकममा लेखा प्रमुखको चलखेल

स्वास्थ्य कोषको रकममा लेखा प्रमुखको चलखेल

काठमाडौं : सरस्वती बहुमुखी क्याम्पसले २०७६ देखि नै विद्यार्थीहरूसित ‘त्रिभुवन विश्वविद्यालय विद्यार्थी स्वास्थ्य उपचार शुल्क उठाइरहेको छ। क्याम्पसले उठाएको रकम त्रिभुवन विश्व विद्यालयको कोष’मा जम्मा भइसक्नुपर्ने हो। तर अहिलेसम्म रकम जम्मा भएको छैन।

क्याम्पसले २०७६ देखि विद्यार्थीबाट स्वास्थ्य उपचार कोषका लागि प्रति विद्यार्थी पाँच सय रुपैयाँ उठाइरहेको छ। २०७६ मा स्नातक तहमा करिब ९ सय २८ जना भर्ना भएका थिए। २०७६ मै स्नातकोत्तर तहमा ३ सय ९८ विद्यार्थी भर्ना भएका थिए। 

शैक्षिक सत्र २०७७ को माघदेखि भदौ ३० सम्म स्नातक तहमा ८ सय २ जना र स्नातकोत्तर तहमा ३ सय ६६ जना विद्यार्थी भर्ना भए। उनीहरूबाट समेत कोषका लागि प्रति विद्यार्थी पाँच सय रुपैयाँ उठाइसकेको प्रशासनले कोषमा ती रकम बुझाएको छैन।

२०७६ मा विद्यार्थीहरूबाट कोषका लागि ६ लाख बढी रकम उठाएको देखिन्छ। २०७७ मा पाँच लाख ८४ हजार उठ्नुपर्ने हो। दुवै वर्षको करिब ११ लाख रुपैयाँ क्याम्पसले कोषमा दाखिला गर्नुपर्नेमा गरेको छैन।

त्रिभुवन विश्वविद्यालय तथा यस विश्वविद्यालय अन्तर्गतका शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीहरूले ५ सय स्वास्थ्य उपचार शुल्क बुझाए बापत बिरामी परेको खण्डमा एक लाखसम्मको स्वास्थ्य उपचार खर्चमा छुट पाउँछन्। 

क्याम्पसले शुल्क उठाएर कोषमा रकम जम्मा नगर्दा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीले पाउने उपचारमा छुट पाउन सकेका छैनन्।

कोष २०७१ मा बनेको हो। त्रिभुवन विश्व विद्यालयले मातहतका क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूबाट वार्षिक पाँच सय उठाउन थालेको हो। २०७२ बाट क्याम्पसहरूले सो शुल्क उठाउनुपर्ने हो। तर क्याम्पस प्रशासन २०७६ बाट मात्र शुल्क उठाउन थालेको दाबी गर्छ।

रकम कुन वर्षदेखि उठाएकोबारे क्याम्पसका प्रमुख र लेखा प्रमुखको आ–आफ्नै दाबी छ। क्याम्पस प्रमुख डा. गोलमान गुरुङले २०७६ सालको ब्याचदेखि स्नातक तहमा विद्यार्थीबाट स्वास्थ्य उपचार बापतको ५ सय शुल्क लिन थालेको बताउँछन्। यसबारे निर्णय नै भएको उनले उकेरासँग बताए।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले परिपत्र जारी गरेकाले स्नातकोत्तर तहका विद्यार्थीको पनि स्वास्थ्य उपचार बापतको शुल्क कोषमा बुझाउनुपर्ने डा. गुरुङले बताए।

गुरुङले ‘५ सय रुपैयाँ यो भन्दा अगाडिको शैक्षिक सत्रमा पनि उठाएको तर क्याम्पसले अहिलेसम्म कोषलाई नबुझाएको’ बताए। यो वर्ष स्नातक तहमा भर्ना भएका विद्यार्थीबाट पनि स्वास्थ्य उपचार बापतको शुल्क लिइएको उनले जानकारी दिए।

क्याम्पस प्रमुख गुरुङले अहिले भर्ना चलिरहेको शैक्षिक सत्र सहित विद्यार्थीबाट ९ हजार ५ सय शुल्क लिन थालेको बताए। यो शुल्क उठाउन थालेको दुई वर्ष भएको र नौ हजार पाँच सयमध्ये पाँच सय कोषका लागि भएको खुलाए।‘५ सय रुपैयाँ इन्स्युरेन्सको लागि उठाएको छ। इन्युरेन्सकै हो त्यो। लिएकै हो,’ उनले भने। 

क्याम्पसका लेखा अधिकृत बसुदेव पोखरेलले भने कोषका लागि उठाएको रकमबारे प्रारम्भदेखि नै गोलमटोल जवाफ दिइरहे। उनले उकेरासँग पहिला २०७७ बाट मात्रै कोषमा बुझाउने रकम उठाएको दाबी गरे पछि २०७६ बाटै कोषका लागि रकम उठाएको स्वीकार गरे।

लेखा अधिकृतको झुट
लेखा अधिकृत पोखरेल अघिल्लो शैक्षिक सत्रमा विद्यार्थीसँग स्वास्थ्य उपचार बापतको शुल्क नलिएको दाबी गरेपछि उकेराकर्मीले क्याम्पस प्रमुखको भनाई बारे जानकारी दिँदा उनले दाबी गरे ‘क्याम्पस प्रमुखलाई शुल्कबारे थाहा हुन्न। उठाएका छैनौँ।’

क्याम्पस प्रमुख गुरुङले  ९ हजार ५ सय शुल्क लिन थालेदेखि नै कोषका लागि विद्यार्थीहरूबाट ५ सय रकम लिएको हो भन्नु भएको छ नि भन्ने जिज्ञासामा लेखा अधिकृत पोखरेलको जवाफ थियो ‘पहिले लिएको हैन। सरले नबुझेको हो।’

९ हजार ५ सय शुल्क कहिलेबाट लिन थाल्नु भएको? भन्ने जिज्ञासामा लेखा अधिकृत पोखरेलले ‘भर्खरै लिएको हो’ भन्दै टार्ने कोसिस गरे। उकेराले प्राप्त गरेको रसिदमा नौ हजार पाँच सय २०७६ बाटै लिन थालेको देखिन्छ।

उनलाई विद्यार्थीहरूको साथमा रहेको रसिदको रकमबारे जानकारी गराएपछि मात्रै २०७६ बाटै कोषका लागि रकम लिने गरेको स्विकारेका थिए। ‘शुल्क लिन थालेको दुई वर्ष जति भयो होला,’ उनले टार्न खोज्दै भने। 

पहिला ८ हजार ५ सय विद्यार्थी भर्ना शुल्क लिने गरेको भए पनि आन्तरिक परीक्षा, र यात्रामा जाने जस्ता विषयका लागि एक हजार शुल्क बढाएर ९ हजार ५ सय पुर्याएको लेखा अधिकृत पोखरेलको तर्क थियो।त्यहीबाट अब ५ सय पैसा कटाएर यो वर्षबाट स्वास्थ्य उपचार बापतको शुल्कका लागि छुट्टाइएको उनले दाबी गरे।

टियुका विद्यार्थीको उपचारमा ९० प्रतिशत छुट, तर थाहा नै पाउँदैनन् विद्यार्थी

क्याम्पसबाट विद्यार्थीसँग लिइएको सो शुल्क किन कोषमा गएन? भन्ने विषय आफ्ना लागि पनि अध्ययनको विषय भएको क्याम्पस प्रमुख गुरुङको भनाई छ। उनले भने,‘कोषमा बुझाएको नबुझाएको बारे मैले अध्ययन गर्नुपर्छ। तर, विद्यार्थीबाट शुल्कचाहिँ लिएका छौँ।’

कोषमा सो क्याम्पसले अहिलेसम्म रकम बुझाएको विवरण भने छैन।  

भौचरमा शुल्क खुल्दैन, हेर्न मिल्दैन
विद्यार्थी भर्ना गर्दा लिइने शुल्कको भौचरमा स्वास्थ्य उपचार शुल्क भनेर लेखिएको छैन। क्याम्पसले विद्यार्थीसँग गोलमटोल गरेर शुल्क उठाएको देखिन्छ।

उकेराले फेला पारेको स्नातकोत्तर तहको विद्यार्थी भर्ना रसिदमा  एकमुस्ट १४ हजार ५ सय रकम लिएको पाइयो। रसिदमा विभिन्न १७ शीर्षकमा शुल्क छुट्याउनु पर्ने भए पनि एक एकमुस्ट रकम लिँदा कुन शीर्षकमा कति रकम लिएको हो भन्ने समेत खुल्दैन।

गुरुङ शीर्षक नखुलाए पनि स्वास्थ्य उपचार शुल्क लिने गरेको बताउँछन्। लेखा अधिकृत पोखरेलले यो वर्ष विद्यार्थी भर्ना गर्दा स्वास्थ्य शुल्क बापतको ‘कोड’ नम्बर दिएर शुल्क लिइएको दाबी गरे। उकेराले पाएको स्नातकोत्तरका लागि २०७७ मा भर्ना हुँदा बुझाएको रसिदमा त्यस्तो कुनै कोड नै छैन।

उकेराकर्मीले ९ हजार ५ सय शुल्क लिन थालिएपछिको भर्ना गर्दाको भौचर हेर्न दिन अनुरोध गर्दा ‘हेर्न आवश्यक नहुने’ भन्दै लेखा अधिकृतले पन्छाए।

लेखा अधिकृतले भने  किन यति धेरै चासो
प्रारम्भदेखि नै लेखा अधिकृत पोखरेलले कोषमा बुझाउनुपर्ने रकमबारे निरन्तर ढाँट्दै आए। उनको व्यवहार बढो शङ्कास्पद देखिएको थियो। उनले कहिले लिएकै छैन भनिरहे। पछि लिएको भने।

कहिले विशेष कोड राखेको दाबी गरे। तर विलमा त्यस्तो कोड थिएन। त्यसले क्याम्पसले उठाउने गरेको शुल्कको दुरुपयोग भइरहेको प्रस्ट देखायो।

कोषको कुरा गर्दा उनी चिढिरहे। उनले उठाएको रकमबारे चासो राख्नुभन्दा त्यसको कार्यान्वयन पाटोमा ध्यान दिन सुझाव दिए।

‘तपाईँहरूले यताको पैसाको चासो दिनु भन्दा, पैसा कसले कति उठायो भन्दा पनि त्यसको कार्यान्वयनको पक्षतिर लाग्नुपर्छ त,’शाखा अधिकृत पोखरेलले सुझाव दिए, ‘तपाइँहरुलाई कति पैसा उठाए, के–केमा उठाए भन्नेसँग सरोकारै भएन नि।’

उनको थप सुझाव थियो,‘प्राविधिक कुरा धेरै छन्। यतातिर (पैसा उठेको कुरामा) जानुभयो भने तपाई सफल हुनुहुन्न।’
२ वर्ष, ३ वर्ष अघि (क्याम्पसले) उठाएको रहेछ भने पनि केन्द्रीय कार्यालयले पैसा पठाउन आवश्यक नभएको उनको तर्क थियो। कोषको म्याद गुज्रिएकाले उठाएको रकम बुझाउनै नपर्ने उनको कुतर्क थियो।

‘अगाडिको वर्षदेखि पठायो की पठाएन भन्ने कुरा तपाइहरूले हेर्ने हैन। पोहोर– परारको यता–उतिको नहेर्नुहोस्। विद्यार्थीले सुविधा पायो की पाएन भनेर हेर्ने हो। तपाईँ कोषको रकमबारे किन यसरी पछि लाग्नुभएको?’ 

५ सय नबुझाए विद्यार्थीले पाउँदैनन् सुविधा
त्रिभुवन विश्वविद्यालय तथा यस अन्तर्गतका शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीले एक लाख बराबरको स्वास्थ्य उपचार खर्चमा ९० प्रतिशत छुट पाउने व्यवस्था छ। ६० वटा अस्पतालबाट विद्यार्थीले यस्तो सुविधा पाउँछन्। 

‘त्रिभुवन विश्वविद्यालय विद्यार्थी स्वास्थ्योपचार कोष सम्बन्धी कार्य व्यवस्थापन प्रणाली–२०७१’ को दफा ‘४’ मा ‘विश्वविद्यालयको आङ्गिक क्याम्पस वा केन्द्रीय विभाग वा अनुसन्धान केन्द्र वा कुनै सङ्गठन वा निकायका कुनै शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत विद्यार्थीहरू कोषको अनिवार्य रूपमा सदस्य रहनेछन्’ भन्ने व्यवस्था छ। 

यो नियम हेर्दा क्याम्पसहरूले अनिवार्य रूपमा विद्यार्थी उपचार बापतको शुल्क कोषमा बुझाउनुपर्ने देखिन्छ।

तर, छुट सुविधा पाउनका लागि ‘त्रिभुवन विश्वविद्यालय विद्यार्थी स्वास्थ्योपचार कोष सम्बन्धी कार्य व्यवस्थापन प्रणाली–२०७१’ अनुसार ‘विद्यार्थी स्वास्थ्योपचार कोष’ मा विद्यार्थीबाट लिएको ५ सय शुल्क क्याम्पसले बुझाउनुपर्छ। सो शुल्क क्याम्पसले नबुझाए विद्यार्थीले छुट सुविधा पाउँदैनन्।

स्वास्थ्य उपचार खर्च सुविधा लिनका लागि क्याम्पसमा भर्ना भएका विद्यार्थीले स्वास्थ्य उपचार बापतको ५ सय शुल्क प्रत्येक वर्ष भर्ना हुँदा बुझाउनुपर्ने हुन्छ। भर्ना भएपछि कुनै स्वास्थ्य समस्या भए क्याम्पसमा निवेदन दिएपछि क्याम्पसले ‘त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय’मा स्वास्थ्य उपचारमा दिइने सहुलियतका लागि सिफारिस लेखिदिन्छ। 

क्याम्पसले पठाएको सिफारिस पत्र र विद्यार्थी परिचय पत्रका आधारमा निर्देशनालयले विद्यार्थीको उपचार गर्ने अस्पताललाई उपचार छुटका लागि पत्र लेख्छ। सोही पत्रका आधारमा अस्पतालमा विद्यार्थीले छुट सुविधामा उपचार गर्न पाउँछन्।

यो प्रावधान हेर्दा सरस्वती क्याम्पसको प्रशासनले विद्यार्थीसँग रकम उठाए पनि कोषमा नबुझाएकाले उनीहरूले यो सुविधा पाउन सक्दैनन्। 

३१ भदौ, २०७८, ०७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।