'कसैले प्रेममा धोकै दियो रे ल, एसिड छ्याप्न पाइन्छ त !'

'कसैले प्रेममा धोकै दियो रे ल, एसिड छ्याप्न पाइन्छ त !'
तस्बिर : कृष्पा श्रेष्ठ।

भिड देखेपछि के भएछ भनेर चासो लाग्नु सामान्य नै हो। म पनि भिडतिर लागेँ।

भीडको विचमा  दुई किशोरी थिए। बिहानै एक युवकले उनीहरुलाई एसिड छ्यापिदिएछ। उपचारको लागि अस्पताल ल्याइएको रहेछ।
यसो हेरेको एक जनाको शरीरको अगाडिको भाग जलेर अर्कै भएको थियो। उनको अनुहार हेरे। यस्तै त हो भनेर घर फर्किए। तर घर आएपछि म शान्तिले बस्नै सकिनँ। ती किशोरीको अनुहार झल्झली आइरह्यो। फेरि दोहोर्याएर अस्पताल गएँ। उनैलाई हेरे। मुख पूरै सुन्निएको थियो।

चिकित्सकसँग यसबारे कुराकानी गरेँ। एसिडको प्रभावले पहिलो दिन मुख सुन्निने, दोस्रो दिन घाउ झन् गढ्ने र तेस्रो दिन छाला नै पग्लिने रहेछ। उपचारमा संलग्न चिकित्सकले भन्नुभयो, ‘एसिड (तेजाब) को रियाक्सन हड्डीसम्म पुग्छ कि मसलमा पुगेर रोकिन्छ थाहै हुँदैन।’

उनीहरु थिए संगीता र सीमा। म पनि तीन छोरीको बाबु। उनीहरुको अवस्थाले मलाई यसै बस्नै दिएन। जे हुनु भइगयो अब उपचार चै राम्रो होस् भन्ने लाग्यो।

त्यतिबेला गृहमन्त्री हुनुहुन्थ्यो वामदेव गौतम। उहाँलाई अनुरोध गरियो। उहाँ अस्पताल पनि आउनुभयो। बिरामीको खाने, उपचारदेखि सम्पूर्ण निःशुल्क हुने घोषणा गर्नुभयो। जे होस् सरकारले चासो राख्यो भन्ने भयो।

तर त्यतिबेला एउटा गल्ती गरिएछ। 

त्यो बेला फेरि पनि एसिड आक्रमणका यस्ता घटना घट्छन् भन्ने नै लागेन मलाई। सामान्य नागरिकको हिसाबले त्यति धेरै सोच्दा पनि सोचिनँ। भावनामा बगिएछ क्यारे। मन्त्रीले भनेको पत्याइयो। घोषणालाई लिखित गराइएन, मौखिक मात्रै भयो। 

लिखित नभएकाले पछि एसिडमा परेकाहरुको उपचारमा उस्तै समस्या आउनथाल्यो। ठूलो खर्च लाग्ने देखियो। एसिड आक्रमणले यस्तो रुप लेला  भन्ने मैले सोचेको थिइनँ। तर बिडम्वना! अहिलेसम्म घटना घटिरहेकै छन्। 

मिडियाले घटनालाई सामान्यीकरण गराइदिन्छन्
तेजाब आक्रमण गम्भीर अपराध हो। यो अपराध हुनुका दुई-तीन कारण छन्। पहिलो, एकदमै सस्तो र खुला रुपमा एसिडको बिक्री–वितरण हुन्। दोस्रो, भारतीय र अन्य देशको सिरियलको प्रभाव अनी तेस्रो मिडियाबाट गलत प्रचार। 

मिडियाबाट कस्तो गलत प्रचार भन्ने लाग्नसक्छ। संगीता, मुस्कानकै केस हेरौँ। उनीहरुको केसमा एसिड छ्याप्दा प्रेम प्रस्ताव अस्वीकार गरेको जस्तो कुरा मिडियामा आए। अझै कसैको त प्रेममा धोका पाएर एसिड छ्यापेको भनेर समाचार नै लेखे। जति पनि एसिड आक्रमणमा पर्नुभयो, चरित्र हत्या गरेर उहाँहरुको गल्ती देखाइन्थ्यो। 

यति गम्भिर विषयलाई यसरी सामान्यीकरण गरिदिन्छन् मिडियाले। मुस्कानको समाचार पनि एक पत्रकारले त्यसरी नै लेखे। मैले उनलाई भनें, ‘ए भाइ, यो  आपराधिक हो। एसिड छ्याप्ने व्यक्ति अपराधी र अमानवीय हो। यी किशोरीको लभ अफेयर थियो कि थिएन, त्यो त उसको पर्सनल लाइफ हो। ब्यक्तिगत विषयलाई अपराधसँग नजोड्नूस्। सानी किशोरीलाई ठूलो उमेर समूहको मान्छेले प्रेम प्रस्ताव गर्नु पनि त अपराध हो नि हैन?’

तर यति भन्दा पनि मिडियाले यसलाई आफ्नै तरिकाले प्रस्तुत गरिरहेका छन्। 

कसैले प्रेममा धोकै दियो रे ल, एसिड छ्याप्न पाइन्छ त’ अझ पहिलेका प्रेमी–प्रेमिका भनेर समेत लेखिरहेका हुन्छन्। पहिलेका प्रेमी–प्रेमिका भए भन्दैमा जे पायो त्यही गर्न पाइन्छ?

काठमाडौंको एक घटना। एक जना महिला फोहोर फाल्न जाँदा सधैं  हेल्मेट लगाएर जानुहुन्थ्यो। कारण के भने, उहाँको पहिलेको प्रेमीले एसिड छ्याप्छु भनेको रहेछ। दुई वर्ष उहाँले फोहोर फाल्न जाँदा हेल्मेट लगाएर जानुभयो। पछि प्रहरीकहाँ गएर घटना मिलाइयो। कस्तो टर्चर यो? पूर्व प्रेमी–प्रेमिका त जसको पनि हुनसक्छ। अनि मिडियाले ए प्रेमको कुरा रहेछ भनेर घटना सामान्यीकरण गरिदिने? 

केही पहिलेको घटना। श्रीमतीले श्रीमानलाई तेजाब खन्याइदिइन्। कोही पत्रकार स्टोरी लेख्न आएनन्। हारगुहार गर्दा एक जना पत्रकारले श्रीमतीसँग झगडा परेका कारण खन्याइदिएको भनेर लेखे। अनि मलाई लाग्यो कथा बेच्ने रहेछ मिडियाले। मिडियोको यो शैलीबाट म अझै दिक्क छु। कथा नबनाई अपराध नबिक्ने रहेछ। जो एसिडमा पर्योक त्यसको ‘अपराध’ देखाउनैपर्ने रहेछ। 

२३ जना एसिडपीडित

अहिलेसम्म नेपालमा एसिडपीडितको संख्या २३ छ। सबैभन्दा ठूलो घटना काभ्रेपलाञ्चोकमा भयो। १७ जना एकै घटनामा परे। भएछ के भने डेरी साहुले रिसको झोकमा एसिड हुत्याइदिँदा अगाडि बसेका सबै कामदारलाई एसिड परेछ। सबैभन्दा धेरै १५ वर्षको किशोरलाई परेछ। तीन जनाको अनुहारै ड्यामेज भयो।

त्यस्तै रौतहटमा दुई दिदीबहिनीलाई आक्रमण भयो। उपचारकैक्रममा दिदीको निधन भयो। बहिनी हुनुहुन्छ।

धेरैले मलाई मुस्कान खातुनको समयमा धेरै काम गर्नुभयो भन्छन्, त्यसो होइन। सबैकोमा बराबर गरेको हो। मुस्कानको अली धेरै चर्चा भएकाले धेरैलाई यस्तो लागेको हो।

त्यो बेला मैले नै एसएमएस गरेर भारतीय अभिनेता अमिताभ बच्चनले बोल्नुभएको हो। उहाँसँग अरु एसिडपीडितको पनि कुरा हुन्थ्यो। उहाँले अंग्रेजी माध्यमको समाचारको कटिङ पठाउन भन्नुहुन्थ्यो। तर समाचारमा एसिड आक्रमणको कारण पूरै प्रेम प्रसंग मात्र हुने। सायद उहाँ अलि हच्किनुभयो। सायद मुस्कानको सवालमा १४ वर्षकी बालिका भएर उहाँले बोल्नुभयो। 

कोही बैंकमा, कोही गार्डेनर छन् 
नेपालमा एसिडपीडितको संख्या थोरै भए पनि उनीहरुको अवस्था दयनीय छ। 

रौतहटका ७० वर्षे वृद्धमाथि एसिड पर्यो। गर्मीमा बाहिर सुतिरहनुभएको थियो उहाँ। रातको एक बजे छुराले कसैले ढाडमा हानेछ। 

उहाँ अगाडि पल्टनुभयो। त्यो छुरा हान्नेले अनुहारमा एसिड छ्यापेर हिँडेछ। १४ वर्षका छोरा रहेछन् घरमा। उहाँ छट्पटिनुभयो। कसले हान्यो भन्ने पनि थाहा भएन। अहिले उहाँको आर्थिक अवस्था नाजुक छ। 

जेनी–संगीता बैंकमा र वसन्ती नेपाल आयल निगम हेटौँडामा काम गर्नुहुन्छ। उहाँहरुले योग्यता अनुसार काम गर्नुभएको छ। पवित्रा कार्की पनि हुनुहुन्छ, उहाँले पनि काम गर्न थाल्नुभएको छ। उहाँहरुलाई काम लगाउन मैले मध्यस्थकर्ताको भूमिका खेलेको हो। 

अर्को, आरती शाहको नागरिकता नभएर काम गर्न पाउनुभएको छैन। वीरमान श्रेष्ठको अगाडिको भाग क्षति भएको छ एसिडले। तर उहाँ अहिले गाडी चलाउनुहुन्छ। 

अनि बन्यो अध्यादेश
एसिड आक्रमण गर्नेदेखि बिक्री–वितरणमा समेत कडा कारबाही गर्नुपर्छ भनेर मैले कानुन बनाउन कानुन मन्त्री, महिला मन्त्रीदेखि महान्याधिवक्ता फेरिएपिच्छे भन्न छोडेको छैन।

पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल पनि मुस्कानलाई भेट्न अस्पताल आउनुभयो। मुस्कानको ड्रेसिङ गर्ने बेला भएको थियो। उनलाई हेरेर आउँदा त उहाँ असिनपसिन देखिनुहुन्थ्यो। उहाँले प्रधानमन्त्रीलाई भेट्ने समय मिलाउन कुरा गर्नुभयो। 

मुस्कान पनि सँगै लग्यौँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न। मलाई आशा लागेको थिएन, अध्यादेश बन्छ भनेर तर प्रधानमन्त्री ओलीले आउनेबित्तिक्कै मुस्कानलाई हेर्दै भन्नुभयो, ‘मुस्कान डाक्टर बन्न चाहन्छौँ हैन? फेसबुक, टिकटक र पत्रकारबाट टाढा रहनु। मलाई लाग्यो, उहाँले मुस्कानबारे अध्ययन गर्नुभएको रहेछ। 

उहाँले २५ गते देशभरिका एसिडपीडित बोलाउने र छलफल गर्ने बताउनुभयो। छलफल भयो पनि। एसिड आक्रमण विरुद्धको दिवस भदौ २५ गतेलाई प्रस्ताव गरियो। कानुनमा बिक्री–वितरणमा कडा नियमदेखि एसिड छ्याप्नेलाई कडा कारबाही गर्ने नै मुख्य उल्लेख छन्।

अर्को कुरा, कुनै पनि व्यक्ति संस्थाले एसिडपीडितको अनुहार बेचेर पैसा उठाउन नपाइने व्यवस्था गरेका छौं। एसिड पुरुषले महिला मात्र हैन, महिलाले पुरुषलाई पनि छ्याप्छन्। बेलायतमा ७० प्रतिशत पुरुष पीडित छन्। उनीहरुको घर खोजतलासीमा एसिड देखियो भने कडा कारबाही हुन्छ। अहिले बिक्री–वितरणमा कडाइ त हुँदै गएको छ। 

यो अध्यादेश पेस हुन्छ–हुँदैन थाहा छैन। अहिलेका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पास गर्ने कुरा गर्नुभएको छ भन्ने सुनेको छु। एउटा सच्याउनुपर्ने कुरा के छ भने जुनसुकै जलन होस्, कारबाही एउटै होस्। नत्र अपराध सिफ्ट हुन्छ।

एसिडको कहर : पाँच महिनापछि फर्किएको अस्मिताको हाँसो

केही समयअघि घरायसी झगडामा धादिङमा एक महिलालाई उनका श्रीमान् र सासुले ७ लिटर तातो तेल खाँबोमा बाँधेर खनाइदिए। जलन त उही हो नि। हरेक जलन पदार्थ बेच्नलाई कडाइ गर्न सकिँदैन। त्यसकारण यदि त्यो प्रयोग गरेर अरुलाई जलाइदिएको खण्डमा उस्तै कारबाही हुनुपर्छ। 

अध्यादेश रोक्ने आँट त कसले गर्ला र अध्यादेश। यो जसरी पनि पास हुनुपर्छ। हामीले दबाबस्वरुप लाङटाङ हिमालमा सबैभन्दा धेरै जलन भएका दुई महिला, दुई पुरुष र पत्रकारलाई बिल पास गर भनेर मुभमेन्ट सुरु गर्ने भनेका थियौँ अन्तराष्ट्रिय समुदायको ध्यान खिच्न। तर मौसमले साथ दिएन। 

उपचार निःशुल्क
अहिलेसम्म जतिलाई एसिड छ्यापियो, उनीहरुको उपचार सहयोग उठाएर गरीयो। एउटा गल्ती के गरिएछ भने त्यो पैसा जसको नाममा आएको हो उसैलाई दिइयो। यसो गर्दा पछि एसिड आक्रमणमा परेकाको हकमा फेरि पैसा उठाउनुपर्ने बाध्यता आयो। त्यसैले मैले अब के गरेको छु भने, अस्पतालको नाउँमा पैसा जम्मा गरिदिने र उसलाई सञ्चो भएपछि अर्को बिरामीमा त्यो पैसा खर्च हुने। 

ओली सरकारले सुष्मा कोइराला अस्पताल बाहेक कीर्तिपुर बर्न अस्पताल, वीर अस्पताल, शिक्षण अस्पतालमा निःशुल्क उपचार सुरु गरेको छ।  सुरुआतदेखि अन्तिमसम्मको उपचार निःशुल्क छ। त्यसपछिको फिजिओथेरापी पनि। खै के कारणले हो, सुष्मामा भने गरिएन। 

जबसम्म एसिड खुला बिक्री–वितरण हुन्छ, यस्तो अपराध हट्दैन। यो अध्यादेश पास हुनुपर्छ। एसिड आक्रमण गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ। नत्र अपराधीको मनोबल बढ्न सक्छ। यतातर्फ सबैको ध्यान जान जरुरी छ। 

(पेसाले इन्जिनियर थापा २०७१ सालदेखि एसिडपीडितको सहयोगमा सक्रिय छन्। उनैसँग उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

२५ भदौ, २०७८, १६:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।