चुरे क्षेत्रमा केबुलकार : विनासलाई निम्तो

चुरे क्षेत्रमा केबुलकार : विनासलाई निम्तो
लगातारको वर्षाका कारण बुटवल पाखापानीमा झरेको पहिरो।

बुटवल : बुटवल सहरदेखि उत्तरपट्टि दुई डाँडा छन्, नुवाकोट र बसन्तपुर। चुरे क्षेत्रका यी डाँडामा वर्षामा मात्र होइन, हिउँदमा पनि सुख्खा पहिरो जान्छ। जसका कारण चुरे पहाडको तल रहेका बस्तीहरु जोखिममा पर्दै आएका छन्। 

केही दिनयताको निरन्तर वर्षाका कारण बुटवल उपमहानगरपालिकाको पाखापानी क्षेत्रमा चुरे बग्न थालेको छ। माथिबाट ढुंगा र लेदो सहितको चुरे बग्दा मुख्य राजमार्ग किनारका घरभित्रै लेदो पस्न थालेको छ।

चुरे पहिरोकै कारण बुटवलका लक्ष्मीनगर, ज्योतिनगर, आदर्शनगर, चिडियाखोला लगायतका बस्तीहरु जोखिममा पर्दै आएका छन्। पहिरोले बेला-बेलामा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध हुने गरेको छ।

गत वर्ष पनि ज्योतिनगर र लक्ष्मीनगरमाथिको चुरे क्षेत्रमा ठूलो पहिरो गएको थियो। अहिले पनि त्यही क्षेत्रका बस्तीमा पहिरो जान थालेको छ।

बुटवल उपमहानगरपालिका- ४ का वडाअध्यक्ष टंक पराजुलीले चुरे बग्न सुरु गरेको र यसको असर बस्तीमा देखिन थालेको बताए। चुरे बगेर हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न पहल भइरहेको उनको दावी छ।

बुटवल उपमहानगरपालिका वडा नं. ३ र ४ को सीमामा रहेको मितेरी खोल्सा र वडा नं. ३ को खोल्साबाट लेदो सहितको माटो बगेर आउन थालेको उनले बताए। त्यस्तै लक्ष्मीपार्कको पश्चिम-उत्तरतर्फको भाग ढुंगा-माटोले भरिएको छ।

वडा अध्यक्ष पराजुलीका अनुसार लक्ष्मीपार्कको पूर्वतर्फबाट बग्ने सुखौरा खोलामा लगाइएको चेक ड्याम कतै बगाएको छ भने कतै क्षति पुगेको छ। 

चुरे क्षेत्रमै केबुलकार, थप जोखिम निम्तने चिन्ता

वर्षेनी वर्षायाम र हिउँद दुवै सिजनमा पहिरो झर्ने बुटवलका उत्तरी चुरे क्षेत्रमा दुई ठूला केबुलकारको निर्माण सुरु भएको छ। बुटवलको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले निर्माण थालिएका केबुलकारकै कारण चुरे क्षेत्रमा थप जोखिम निम्तिने त होइन? बहस सुरु भएको छ।

बुटवल-नुवाकोटमा निर्माण हुन लागेको सिद्धार्थ केबुलकार ऐतिहासिक सम्पदा मासेर चुरे क्षेत्रमा निर्माण हुन लागेको परियोजना हो। त्यस्तै केबुलकार निर्माण भइरहेको बुटवल-बसन्तपुर चुरे जोखिम क्षेत्र हो।

बुटवल–नुवाकोट केबुलकारको ९ फागुनमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गरेका थिए। बुटवल-बसन्तपुर केबुलकार १ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेका थिए।

सिद्धार्थ केबुलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले चुरे क्षेत्रमै भए पनि यसले कुनै पनि असर नगर्ने दावी गरे। उनले भने, ‘यो क्षेत्र जोखिमपूर्ण छैन भनेपछि योजना अगाडि बढाइएको हो। हामीले जियोलोजिकल अध्ययन गरेर काम सुरु गरेका हौं।’

बुटवल माध्यमिक विद्यालयमाथि देउराली डाँडामा रहने स्टेसन समथर स्थानमा भएको र नुवाकोट डाँडामा पनि समथर भूभागमा स्टेसन हुने भएकाले केबुलकारले चुरेमा असर नपर्ने उनको तर्क छ।

करिब २ किलोमिटर लामो केबुलकारको लागि ७५ करोडको लागत अनुमान गरिएको छ। सिद्धार्थ केबुलकार प्रालिमा यस क्षेत्रका ५० जनाको लगानी रहेको छ।  

यता बुटवल-बसन्तपुर केबुलकार निर्माणस्थल पनि चुरेको जोखिमपूर्ण ठाउँ हो। २०५५ सालमा चुरे पहाडबाट झरेको पहिरोले आदर्शनगर, ज्योतिनगरमा ठूलो क्षति पुगेपछि त्यो बेला नै जाइकाका प्रतिनिधिहरुले चुरे पहाडको निरीक्षणपछि तत्कालीन बुटवल नगरपालिकालाई बस्ती हटाउन सुझाव दिएको थियो। तर अहिले त्यही बस्तीमाथि चुरे क्षेत्रमा अर्बौंको केबुलकारको परियोजना सुरु भइरहेको छ।

आइएमई ग्रुपका अध्यक्ष समेत रहेका उद्योगी चन्द्र ढकालले चुरे क्षेत्रलाई असर नपर्ने गरी बुटवल–बसन्तपुर केबुलकार निर्माण गरिने बताए। 

वातावरण क्षेत्रका जानकार युवराज कँडेल चुरे क्षेत्रमा ठूला संरचना तयार गर्दा भूक्षयको जोखिम बढ्ने बताउँछन्। केबुलकार निर्माण गर्ने क्षेत्र चुरे पहाड रहेकाले अझ बढी जोखिम हुने उनी बताउँछन्।  

कँडेल भन्छन्, ‘संरचना कस्तो बन्छ? कति पोल हुन्छन्? त्यो धेरै पहिरो गएको क्षेत्र हो। त्यहाँ बन्ने संरचनालाई जमिनले नथेग्न पनि सक्छ। त्यस कारण पनि चुरेमा केबुलकार निर्माण जोखिमपूर्ण हुन्छ।’

केबुलकार निर्माणपछि पर्यटकीय गतिविधि बढ्दै जाँदा अव्यवस्थित रुपमा बन र चुरे क्षेत्र ओगटेर संरचना समेत बन्ने भएकाले ठूला संरचना निर्माण गर्दा जोखिमको अनुगमन गर्न जरुरी रहेको उनले बताए। 

राष्ट्रपति तराई-मधेश चुरे संरक्षण समिति कार्यालय बुटवलका प्रमुख अजय कार्की केबुलकार निर्माण गर्नुपूर्व डिपिआर र वातावरणीय प्रभाव मूल्यांकनमा सबै विवरण समेटिएको भए पनि कार्यान्वयन पक्षमा भने चुनौती रहेको बताए।

उनले चुरे क्षेत्रमा ठूला संरचना बनाउनु जोखिमपूर्ण भएको भन्दै वातावरणीय मूल्यांकन  गर्दा त्यसको व्यवस्थापन गरिने भनिए पनि कार्यान्वयन गर्न भने चुनौती रहेको बताए। केबुलकार निर्माण गर्दा प्राकृतिक क्षतिलाई न्यूनीकरण गर्दै वातावरणीय संरक्षणका लागि स्रोत बढाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ।

चुरे तिनाउ बहुउद्देश्यीय विकास मञ्चका संयोजक कमल गौतमले विकास निर्माण गर्नु राम्रो भए पनि जोखिमको पहिचान गरेर मात्र केबुलकार निर्माण थाल्न आफूहरुले निर्माण पक्षलाई बताएको बताए। ‘चुरे क्षेत्रमा केबुलकार निर्माण गर्दा जमिनको अवस्था के हो? पिलर गाड्ने स्थानमा जमिनको क्षमता र माटोको परीक्षण गरेर मात्र काम अगाडि बढाउन भनेका छौं,’ उनले भने। 

११ भदौ, २०७८, १३:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।