कभर स्टोरी

जता भावना उतै म्याक्सिमलाई टेन्डर : बायो मेडिकल इन्जिनियरले सेटिङमा यतिसम्म गर्न सक्छन्

स्वास्थ्य उपकरणमा म्याक्सिमको प्रवेश, बरालको सम्बन्ध अनि गौतम, यी तीनको खोजबिन गर्दा बायो मेडिकल इन्जिनियरले सघाए कतिसम्म फाइदा गराउन सक्ने रहेछन् भन्ने खुल्यो

उपेन्द्र खड्का


काठमाडौं : कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को अधिकांश  ठेक्का ‘म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिले पाएपछि विवादका आए प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम। विवादको कारण थियो– जागेश्वर र म्याक्सिमका प्रमुख सुन्दर भुसालबीचको व्यावसायिक सम्बन्ध। जागेश्वरले उकेरासँगको कुराकानीमा भुसालसँगको आफ्नो सम्बन्ध स्वीकार गर्दै टेन्डर सेटिङमा नभएको दाबी गरेका थिए।

मेडिकल व्यवसायमा म्याक्सिमको प्रवेश र प्रभावबारे खोजी गर्दै जाँदा शिक्षण अस्पताल महाराजगन्ज पनि जोडियो। अनि सँगै जोडिइन् बायो मेडिकल इन्जिनियर भावना बराल।

स्वास्थ्य उपकरणमा म्याक्सिमको प्रवेश, बरालको सम्बन्ध अनि गौतम यी तीनतिरको खोजबिन गर्दा एक बायो मेडिकल इन्जिनियरले चाहे कुनै व्यावसायिक प्रालिलाई कतिसम्म फाइदा गराउन सक्ने रहेछन् र सेटिङ कुन तहसम्मको हुने रहेछ भन्ने खुल्यो।

मनमोहन मेमेरोलियल मेडिकल कलेजबाट बायो मेडिकल इन्जिनियरको रूपमा काम सुरु गरेकी बराल जहाँ–जहाँ पुगिन् त्यही–त्यही पुग्यो म्याक्सिम। यी दुवैको सम्बन्धको प्रारम्भ भएको देखियो शिक्षण अस्पताल महाराजगन्जबाट। बराल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा करारमा बायो मेडिकल इन्जिनियरको रूपमा काम सुरु गरेपछि नै म्याक्सिम स्वास्थ्य उपकरणको व्यवसायमा प्रवेश गरेको देखिन्छ।

शिक्षण अस्पतालको रेकर्ड अनुसार बराल अस्पतालमा करिब साढे ३ वर्ष रहिन्। उनी त्यहाँ रहँदा नै सुन्दर भुसालको नाममा दर्ता रहेको ‘म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालि’लाई १० करोड बढीको टेन्डर पर्यो।

उनी शिक्षण अस्पतालबाट कोभिड युनिफाइड केन्द्रीय अस्पताल आएपछि म्याक्सिम पनि यतै सर्‍यो। यो बीचमा सो कम्पनीले वीरको १५ करोडभन्दा बढीको टेन्डर पाइसकेको छ।

कुनै सामानको आवश्यकता परेको अवस्थामा कुन प्रकृतिको सामान किन्ने सबै मापदण्ड बनाउने जिम्मेवारी हो बायो मेडिकल इन्जिनियरको। कुन प्रकृतिको सामान किन्ने त्यसको मापदण्ड बनाउने समिति हुन्छ। त्यो समितिमा मुख्य भूमिका बायो मेडिकल इन्जिनियरकै हो।

उनीहरूले तोकेको मापदण्डकै आधारमा कुन कम्पनीको सामान सदर हुने, कुन बदर हुने प्रायः निश्चित हुन्छ। बायो मेडिकल इन्जिनियरले चाहेमा आफू अनुकूलको कम्पनीले सप्लाई गर्ने सामानसँग मिल्ने गरी मापदण्ड बनाइदिन्छन्। त्यसैको आधारमा टेन्डर आह्रवान हुन्छ र चयन हुन्छ।

जागेश्वर गौतमका ‘भाइ’ लाई वीर अस्पतालको १५ करोडको टेन्डर

बराल जहाँ–जहाँ गइन् उनले म्याक्सिमलाई सहज हुने गरी मापदण्ड बनाइदिएर स्वास्थ्य उपकरणको व्यवसायमा प्रवेश गराएको जानकार स्रोतको दाबी छ। बराल जहाँ पुगिन् म्याम्सिमले त्यहीको टेन्डर पाउनाले बराल र म्याक्सिमको सम्बन्धबारे स्रोतले गर्ने दाबी बलियो देखिन्छ नै।

शिक्षण अस्पतालमा कार्यरत रहँदा म्याक्सिमलाई सहज हुने मापदण्ड बनाएको देखिएपछि अस्पताल प्रशासनले उनको करार रद्द गरेको थियो। शिक्षणमा २ जना बायो मेडिकल इन्जिनियर करारमा थिए। भावनाले मापदण्ड बनाएको अधिकांश टेन्डरको मापदण्ड म्याक्सिमसँग मिल्न थालेपछि प्रशासनले उनीमाथि निगरानी गरेको थियो। सेटिङमा काम हुने गरेको देखेपछि उनीहरूले नवीकरण गरेनन्।

बायो मेडिकल इन्जिनियर बराल भने यो आरोप मात्र भएको र आफूले मापदण्ड बनाउने टेन्डर म्याक्सिमले पाउनु संयोग मात्र भएको दाबी गर्छिन्। ‘यो संयोग मात्र हो। मैले त्यस्तो गरेको छैन,’ उनको दाबी छ।

म्याक्सिमलाई १० करोडभन्दा बढीको टेन्डर

बराल शिक्षण अस्पतालमा करारमा प्रवेश गर्नु अगाडिसम्म म्याक्सिमले टेन्डर हाल्ने गरेको थिएन। उनी २०७४ मा अस्पताल पुगेपछि नै म्याक्सिम सप्लायर्सको रूपमा दर्ता भयो।

त्यसपछि अधिकांश टेन्डर उसैले पाउन थाल्यो। भावना शिक्षण अस्पतालमा रहेसम्म म्याम्सिमले १० करोड बढीको टेन्डर पार्‍यो।

शिक्षण अस्पताल स्रोतका अनुसार भुसालको ‘श्री म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिले ३० लाखको सिरिन्ज पम्प ५० पिस र एक पटकमा ५० पिस इन्फ्युजन पम्पको ३५ लाखको टेन्डर पाए।

१ करोड लागतको ५० वटा मनिटर खरिद गर्ने टेन्डर पनि म्याक्सिमले नै पायो। अर्को १५ सेट मनिटर खरिद गर्ने ५० लाखमा टेन्डर पनि म्याक्सिमले नै पायो।

करिब १ करोड ४४ लाखको ८ वटा आइसियु भेन्टिलेटर खरिदको टेन्डर भयो। दुई पटकमा ४/४ वटा खरिद भएको आइसियु भेन्टिलेटरको टेन्डर पनि अन्य कम्पनीले पाएन।

एक पटक करिब ९० लाखको हाइफ्लो नजल क्यानुला १० वटा खरिदको टेन्डर, दुई पटक गरी करिब ५० लाख मूल्य बराबरको २ वटा ओटी टेबुल (अप्रेसन थियटरमा प्रयोग हुने) र ८० लाखभन्दा बढी मूल्यका २ वटा ओटी लाइट खरिदको टेन्डरमा पनि म्याक्सिम नै छानियो।

२०७७ चैत ८ गते ७२ लाख ३२ हजारको २० युनिट मनिटर खरिदका लागि भएको टेन्डर पनि उसैले पायो। सोही मितिमा अर्को १५ युनिट मनिटर ६९ लाख ४९ हजार ५ सयमा खरिदको टेन्डर पनि उसैले पायो।

यी टेन्डरको अधिकांश मापदण्ड उनै बरालले बनाएकी थिइन्।

६४ लाखको टेन्डर रद्द, अरू पुनरावलोकनमा

भुसालको म्याक्सिमले केही महिनाअघि शिक्षण अस्पतालमा करिब ६४ लाख मूल्य बराबरको २० थान मनिटर खरिदका लागि प्रस्ताव पेस गरेको थियो। म्याक्सिमले दिने भनेको जस्तो मनिटर वेबसाइटमा हेर्दा नमिलेपछि आशय पत्र जारी भएन, रद्द भयो।

त्यसको मापदण्ड भावनाले नै बनाएकी थिइन्। यहीबाट उनीमाथि शंका लागेको अस्पताल स्रोतले बतायो। उनले सेटिङमा आफू अनुकूल कम्पनीलाई टेन्डर पर्ने गरी मापदण्ड बनाएको देखिएपछि अस्पताल प्रशासनले उनको करार रद्द गरेको स्रोतको दाबी छ।

‘यसअगाडि पनि शंका नभएको हैन। तर शंकाका आधारमा मात्र निर्णय गर्न सकिएन,’ अस्पताल स्रोतले भन्यो, ‘मनिटर खरिदमा चलखेल भएको देखिएपछि हामीले उनको करार सम्झौता नवीकरण गरेनौं।’

लिफ्टमा पनि सेटिङ

बायो मेडिकल इन्जिनियर भावनाले शिक्षण अस्पतालमा रहेको सुरेश वाग्ले क्यान्सर सेन्टरमा लिफ्ट जडानको योजना (इस्टिमेट) तयार गर्दा पनि विवाद भएको थियो।

भावनाले महँगो लागत पर्ने गरी लिफ्ट बनाउने योजना तयार गरेकाले भइसकेको टेन्डर पनि अस्पतालले रद्द गर्‍यो।

अस्पताल स्रोतका अनुसार टेन्डरको मापदण्ड पुनरावलोकन गर्दा बजारको लागतभन्दा बढी मूल्य देखेपछि टेन्डर रद्द गरेको हो। सो टेन्डर पुनः आह्वान भएर अहिले मूल्यांकनको चरणमा रहेको अस्पताल स्रोतले जानकारी दियो।

बराल लिफ्टको विषयमा केही विवाद आए पनि सेटिङमा योजना तयार नभएको दाबी गर्छिन्। टेन्डर आह्रवान भए पनि प्रस्ताव पेस हुनुभन्दा अघि नै रद्द भएको भन्दै उनले आफ्नो कारणले टेन्डर रद्द नभएको दाबी गरिन्। त्यसमा आफूले गलत काम नगरेको र संशोधन गर्न टेन्डर स्थगित भएको उनको तर्क छ।

‘नेपालमा लिफ्टको (टेन्डर) गर्ने २/३ वटा कम्पनी छन्। १/२ वटामा टेक्निकली समस्या छन्। दुई वटामा अलिकति कन्फ्लिक्ट आइरहेको थियो,’ उनले उकेरासँग भनिन्।

उनले टेन्डर खोल्नुभन्दा अगाडि नै समस्या भएको स्वीकारिन्। उनले भनिन्,‘टेन्डर नै खुला भएको थिएन। कमले पनि सहभागी गर्ने भो, बढीले पनि गर्ने भो। मूल्यको भेरियसन धेरै आउने भयो। फेरी रिभाइभ गर्नका लागि हो। कुनै पनि टेन्डर परेर रद्द गरेको हैन, त्यो भ्रममा नपर्नुहोस्।’

अनि उनी आइन युनिफाइडमा

भावना बराल। तस्बिर स्रोत : बरालको फेसबुक

अस्पतालका अनुसार शिक्षणमा बराल र रुसा आचार्य २०७४ असोज २५ गते नियुक्त भएका थिए। उनीहरूको कामप्रति नै प्रश्न उब्जिएपछि २०७७ चैत २५ गते दुवैको करार नवीकरण भएन। करार रद्द हुनुको कारण बरालको बदमासी नै हो। आचार्यको बदमासी नदेखिए पनि एक जनालाई मात्र हटाउँदा अनेक प्रश्न आउने भएपछि करारमा राखिएको दुवै जनालाई हटाएको स्रोतको दाबी छ।

तर, बरालले अस्पताललाई आफ्नो काम चित्त नबुझेर नभई करार नियुक्तिको समय सकिएर पुनः नियुक्ति नभएको तर्क गरिन्।

तपाईंले सेटिङमा स्पेसिफिकेसन बनाएर चलखेल गर्न थालेपछि नवीकरण नै नभएको सत्य हो ? भन्ने जिज्ञासा उनले भनिन्, ‘रद्द हैन। कुरा बुझ्नुहोस्। खासमा हाम्रो दरबन्दी भनेको २ वर्षका लागि हो। साढे ३ वर्ष भइसकेको थियो। मेरो मात्रै हैन। दुई जना इन्जिनियर थियौं। दुवै जनाको नगरेको हो।’

उनले अनियमितता भएका कारणले नवीकरण नभएको भन्ने कुरा गलत रहेको दाबी दोहोर्याइरहिन्।

‘समस्या भएर, यो त्यो भएर हैन। डाइरेक्टरलाई सोध्न सक्नुहुन्छ। डाइरेक्टर दिनेश काफ्ले हुनुहुन्छ। सोध्नुहोस् उहाँलाई मेरो हिस्ट्री के छ? कसो छ? भनेर। जो जिम्मेवार पदमा बसेको व्यक्ति छ, प्रशासन प्रमुखलाई सोध्नुहोस्। कर्मचारी प्रशासनमा सोध्नुहोस्,’ उनले भनिन्।

बराल, म्याक्सिम र जागेश्वर कनेक्सन

शिक्षण अस्पतालमा बायो मेडिकल इन्जिनियरका रूपमा जागिरे हुँदा अस्पतालको योजना शाखा प्रमुख थिए दीपक तिवारी। उनले नै म्याक्सिमका भुसाललाई बरालसँग चिनजान गराएको जानकार स्रोतको दाबी छ।

भुसाल र तिवारीबीच निकट नाता रहेको स्रोतले बतायो। तिवारी अहिले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा कार्यरत छन्।

तिवारीले भुसाल र बरालको परिचय गराएपछि घनिष्ठता बढ्दै गयो। बरालसँग भेट हुनुभन्दा अघि भुसाल आइटी र शिक्षासम्बन्धी व्यवसाय गर्थे। बरालसँग निकट भएपछि नै उनी स्वास्थ्य उपकरणको व्यवसायमा संलग्न भए।

दुई वर्ष अघिबाट शिक्षण अस्पतालले आह्रवान गर्ने अधिकांश टेन्डरमा सहभागी हुन थाले भुसाल। त्योभन्दा अगाडि म्याक्सिमले शिक्षण अस्पतालको टेन्डरमा सहभागी हुने गरेका थिएनन्।

बराल र भुसालको भेट भएको मिति र ‘श्री म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालि’ दर्ता भएको मितिसमेत मेल खान्छ। प्राप्त तथ्यांक अनुसार ‘श्री म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालि २०७६ असार ११ गते वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता भएको देखिन्छ। भावना २०७४ मा शिक्षण नियुक्त भएकी हुन्।

दर्ता प्रमाणपत्रमा ‘हस्पिटल इक्युपमेन्ट, सर्जिकल एथेसिभ, किचेन वेयर, हार्डवेयर, इलेक्ट्रिक तथा इलेकट्रोनिक्स सम्बन्धी सामानहरूको मात्र कारोबार गर्ने’ भन्ने उल्लेख छ। शिक्षण अस्पतालले २०७७ मा आह्रवान गरेका अधिकांश टेन्डर म्याक्सिमले पार्‍यो।

यसबारे बरालको आफ्नै तर्क छ। उनले शिक्षण अस्पतालमा म्याक्सिमलाई प्रवेश गराएको अस्वीकार गरिन्।

तपाईं टिचिङ पुगेपछि नै भुसालसँग सम्पर्क भएर मेडिकल व्यवसायमा तपाईंले नै उहाँलाई प्रवेश गराउनु भएको भन्ने सत्य हो? भन्ने जिज्ञासा उनको जवाफ छ,‘उहाँ(दीपक)ले मान्छे चिनाइदिएर, कम्पनी दर्ता गरेर, गर्ने भन्ने कुरा नचाहिने कुरा हो।’

उनले म्यक्सिमलाई नचिनेझैं गर्दै भनिन्,‘कसको कम्पनी? के हुन्छ? त्यो कसरी गर्छ? त्यो त हामीलाई थाहा हुँदैन। सामान सप्लायर्सको टेन्डर परेको छ। म्याक्सिमको मात्रै त परेको थिएन नि त्यहाँ पनि। प्रतियोगिता हुन्छ। टेन्डर फाइट गरेर कम प्रस्ताव पेस गर्नेलाई पर्ने हो। म्याक्सिमभन्दा बढीका पनि हुन्थे।’

स्रोतका अनुसार बराल बाहेकले बनाउने मापदण्डका टेन्डर म्याक्सिमलाई पर्दैनथ्यो। जानकार स्रोतले भन्यो, ‘अरुले स्पेसिफिकेसन बनाएकोमा म्याक्सिमले २/३ वटामा हालेको थियो। तर, टेन्डर परेको याद छैन।’

‘सबै हेर्नुहोस् न। म्याक्सिममा नजानुहोस्। अरू पनि भएको टेन्डरमा हेर्नुस्,’ बरालले दाबी गरिन्।

म्याक्सिमकै अर्को संस्था ‘शुभ बायो मेडिकल कन्सर्न’ समेत भएको स्रोतले जानकारी दियो। शिक्षण अस्पतालमा बरालले बनाएको मापदण्ड अनुसार भएको टेन्डरमा यसले समेत काम पाएको छ।

अख्तियार–भावना कनेक्सन

बरालको मेडिकल उपकरण सप्लायर्ससँग मात्रै हैन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि सम्बन्ध देखिन्छ। उनीभन्दा सिनियर र अनुभवी, सरकारी सेवामै कार्यरत रहेका अन्य बायो मेडिकल इन्जिनियरहरू भए पनि उसले बराललाई नै पटक–पटक आयोगमा विज्ञको रूपमा बोलाउने गरेको छ।

उनी शिक्षण अस्पतालमा कार्यरत रहेको बेलामा उनकै नाम तोकेर आयोगले काजमा खटाउनु भनेपछि अस्पताल प्रशासनले अस्वीकार गरेको थियो। प्रशासन स्रोतले उकेरासँग भन्यो, ‘कुनै बायो मेडिकल इन्जिनियर भनेको भए पठाउन सकिन्थ्यो। तर, उनकै नाम तोकेर पत्र आएपछि पठाउन उचित लागेन। पठाइएन।’

बराल अख्तियारले आफूलाई विज्ञको रूपमा परामर्शका लागि बोलाउने गरेको स्वीकार गर्छिन्।

‘कन्सल्टेन्ट चाहियो भने उहाँहरूले मलाई बोलाउनुहुन्छ। काजमा बोलाउने हो। एक्सपर्ट कन्सल्टेसन चाहिएको बेलामा बोलाउने हो,’ उनले दाबी गरिन्, ‘कन्सल्टेन्टको रूपमा फस्ट फेजदेखि नै केही केही मैले हेरिरहेको हुन्छु।’

उनले सेटिङभन्दा पनि आफू विज्ञ भएकाले बोलाउने गरेको दाबी गरिन्।

‘एक हप्ता हैन। अख्तियारमा महिना दिन पनि काजमा बसेको छु। प्रत्येक वर्ष बसिरहेको हुन्छु। गइरहेको हुन्छु,’ बरालले भनिन्,‘मेरो एक्पर्टिज राम्रो लागेर, सिन्सियारिटी राम्रो लागेर बोलाउनुभएको हुन सक्छ। मैले भनेर बोलाउने, नभनेर नबोलाउने त हुँदैन होला।’

उनी आफैंले अख्तियारमा विषय विज्ञको रूपमा गएको स्वीकार गरेपछि अख्तियारका जिम्मेवार अधिकारीसँग उनलाई विज्ञका रूपमा बोलाउनुको आधारबारे जिज्ञासा राख्दा उनले बरालबारे कुनै विवरण नभएको दाबी गरे। नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भने, ‘उहाँबारे केही भेटिएन। भेटियो भने भन्छु है।’

टिचिङ हुँदै युनिफाइड 

टेन्डरमा चलखेल गरेको भन्दै करार नथपिएपछि बेरोजगार भएकी बराल कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा प्रा.डा. जागेश्वर गौतम प्रमुख प्रशासकीय अधिकारी भएसँगै उतै गइन्। 

उनलाई गौतमले करारमा नियुक्त गरेका थिए। बराल नियुक्त भएसँगै शिक्षण अस्पतालमा टेन्डर पार्दै आएको म्याक्सिमले युनिफाइड अस्पतालमा टेन्डर पार्न थाल्यो।

गौतमको युनिफाइड केन्द्रीय अस्पतालमा प्रवेशसँगै बराल र भुसालको प्रवेश संयोग मात्रै थिएन। यसबारे जिज्ञासा राख्दा उनले भनिन्, ‘यो सबै परिस्थिति ‘को– इन्सिडेट’ हुन सक्छ। त्यस्तो केही पनि छैन।’

अस्पताल स्रोतका अनुसार डा. गौतम युनिफाइड केन्द्रीय अस्पताल पुगेपछि नै बराल अस्पतालमा बायो मेडिकल इन्जिनियरका रूपमा नियुक्त भएकी हुन्। उनी जेठ २८ मा नियुक्त भएकी हुन्। कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ जेठ ६ मा आएको हो।

उनले अध्यादेश आउनुभन्दा अघि नै आफू नियुक्त भएको दाबी गरे पनि मिति खुलाइनन्। गौतम र बराल युनिफाइड अस्पताल पुगेपछि म्याक्सिमले १५ करोडको टेन्डर पाइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

निर्मलाले न्याय नपाएको ३ वर्ष :   अब त आमालाई आस पनि छैन

के-के भएन र यो बिचमा। दोषीको पक्राउको माग गर्दै कञ्चनपुरदेखि काठमाडौँसम्मका सडकदेखि सदनसम्म तात्यो। छानबिन समिति बन्यो। पटक-पटक आरोपी भन्दै विभिन्न व्यक्ति पक्राउ परे र....

सम्बन्धन नपाएका विद्यालयलाई प्रदेश २ सरकारको २४ करोड अनुदान

तर, सम्बन्धन स्वीकृति र जनशक्ति व्यवस्थापनको सुनिश्चितता नभई प्रदेश सरकारले प्रदेशका ४८ विद्यालयलाई आर्थिक वर्ष ०७६/०७७ र ०७७/०७८ मा जनही ५० लाख (पहिलो र दोस्रो....

हेटौंडा कपडा उद्योग- ८ : काठमाडौंमा घुमेर प्रतिवेदन बनाइयो, त्यो पनि मन्त्रालयमै अलप

समितिलाई रुग्ण उद्योगको पहिचान, वर्गीकरण, पुनरुत्थान, पुनर्निमाण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिने कार्र्यादेश दिइएको थियो। समितिले हेटौंडा कपडा उद्योग लगायत देशभरका रुग्ण उद्योगबारे प्रतिवेदन....

कान्ति हराएको मेलम्ची : फर्किएला रौनक ?, फेरि बन्ला व्यापारिक हब ?

हरेक बर्खामा आउने बाढीकै स्वरुपमा सुरु भएको बाढीले विस्तारै लेदो पनि बोकेर ल्यायो। र, मेलम्ची नगरपालिका वडा नम्बर ६, ७, ९, १०, ११ र १२....

ट्रमा-वीर छानविन प्रतिवेदन : ट्रमाको तथ्यभन्दा प्रशंसा बढी, वीरको छानविन अख्तियारले गरोस्

ट्रमा र वीरमा भएको अनियमितताबारे उकेराले श्रृंखलावद्ध समाचार प्रकाशित गरेको थियो। दुवै अस्पतालका जिम्मेवार अधिकारीले गरेका बदमासी उजागर भएपछि मन्त्रालयले छानविनका लागि समिति गठन गरेको....