जागेश्वर गौतमका ‘भाइ’ लाई वीर अस्पतालको १५ करोडको टेन्डर

जागेश्वर गौतमका ‘भाइ’ लाई वीर अस्पतालको १५ करोडको टेन्डर

काठमाडौंः कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी प्राडा. जागेश्वर गौतमले आफ्ना व्यावसायिक साझेदारलाई अस्पतालमा स्वास्थ्य उपकरण तथा सामग्री खरिदको टेन्डर दिलाएका छन्।

अस्पतालले हालसम्म १९ करोड ४२ लाखको टेन्डर आव्हान गरेको थियो। त्यसमा १५ करोड बढीको टेन्डर सुन्दर भुसालको नाममा दर्ता रहेको ‘म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्राइभेट लिमिटेड’ ले पाएको छ।

टेन्डर आव्हान गर्दा नै भुसाललाई मिल्ने गरी स्पेकिफिकेसन मिलाएर आर्थिक स्वार्थमा उनलाई टेन्डर दिएको आरोप गौतममाथि लाग्दै आएको छ। यसका लागि सामान खरिदको मापदण्ड बनाउने बायोमेडिकल इन्जिनियर समेत आफू निकट ल्याएका छन् गौतमले।

अहिले युनिफाइड कमान्डको खरिद सम्बन्धी मापदण्ड बनाउँछिन् भावना बरालले। उनलाई करारमा राखिएको हो। वीर अस्पताल अगाडि उनी शिक्षण अस्पताल महाराजगन्जमा थिइन्। त्यहाँको टेन्डरमा मिलेमतो देखिएपछि अस्पताल प्रशासनले उनको करार रद्द गरेको थियो। 

जागेश्वर युनिफाइड अस्पतालमा आए लगत्तै उनले बराललाई ल्याए। बराल आएसँगै अस्पतालका अधिकांश टेण्डर म्याक्सिमले पाउँदै आएको छ।

डा. गौतम भुसाल आफ्नो आफन्त रहेको स्वीकार गर्छन्। मिलेमतो नभई जसले कम दररेटमा टेन्डर हालेको हो उसैलाई परेको दावी गर्दै गौतमले उकेरासँग भने, ‘‘पर्वतकै भाइ हो त्यो। चिनजान छ मेरो। अनि मेरा चिनजानकाले कसैले टेन्डर हाल्न नपाउने? कति मान्छे चिन्छु मैले नेपालमा? नेपालमा कति मान्छेले चिन्छन् डा. जागेश्वर गौतमलाई?’

भुसालले न्यून दरमा नहालेर महँगो हालेर पाएको भए आफूमाथि प्रश्न उठाउनु ठिकै भएको दावी गर्दै उनले सबैभन्दा सस्तो दररेटमा हालेकाले नै उनको कम्पनीले पाएको दावी गरे। 

भुसाललाई १५ करोडको टेन्डर

सरकारले कोभिड नियन्त्रण सम्बन्धी अध्यादेश ल्याएपछि गौतम युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी नियुक्त भए। त्यसपछि उनले अध्यादेश अनुसार स्वास्थ्य उपकरण किन्न टेन्डर आव्हान गरे।

जति टेन्डर आव्हान गरे तीमध्ये ठूला टेन्डरमा ‘श्री म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालि काठमाडौं’ ले हाल्यो।

युनिफाइड अस्पतालले भेन्टिलेटरका लागि सूचना प्रकाशित गरेर १४ करोड ४० लाखको टेन्डर आव्हान गरेको थियो। त्यसमा म्याम्सिमसँगै ‘श्री नेसनल इलेक्ट्रोनिक प्रालि लगायतकाले टेन्डर हालेका थिए। 

असार १९ गते ती टेन्डरमध्ये म्याम्सिमले इन्कर्पोरेसन ट्रेडर्स प्रालि काठमाडौंलाई ‘हाई इण्ड क्रिटिकल केयर भेन्टिलेटर’ खरिदका लागि १२ करोड ४३ लाखको टेन्डर पर्यो। सो टेन्डर ५० वटा भेन्टिलेटर खरिदको लागि स्वीकृति भएको थियो।

सम्झौता अनुसार जुलाई १३ सम्ममा उपकरण ल्याइसक्नुपर्ने छ। भुसालको कम्पनीले १२ करोड ४३ लाखको टेन्डर पाउँदा श्री नेसनल इलेक्ट्रोनिक प्रालि काठमाडौंले १ करोड ९७ लाख ६९ हजार मूल्यको सामग्रीको खरिदका लागि बोलपत्र स्वीकृत भयो।

त्यसैगरी असार २१ गते अध्यादेशको दफा ६ को उपदफा ५ अनुसार ३ दिने सूचना जारी गरेर डा. गौतमले ५ करोड २ लाख ११ हजार ५ सय ५० को बोलपत्र स्वीकृत गरे।

जसमध्ये भुसालको ‘श्री म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालि काठमाडौं’ लाई २ करोड ७६ लाखको बोलपत्र स्वीकृत गरे।

बाँकी रकमको टेन्डर अरू कम्पनीलाई परेको छ। श्री एसएन बायो मेडिकल इक्युप्मेन्ट सर्भिस प्रालिलाई ५० लाख ४५ हजार ४ सय ५०, श्री मेडिपोइन्ट इन्टरनेसनल प्रालिलाई ३३ लाख ३३ हजार ५ सय, श्री एसेन्ट इन्कर्पोरेसन ट्रेडर्सलाई ७५ लाख ३७ हजार र हिमालयन मेडिकल टेक्नोलोजिज् प्रालिलाई ६६ लाख १० हजारको सामान खरिदका लागि बोलपत्र स्वीकृत गरेका छन्। 

डा. गौतमले अधिकांश बोलपत्र आह्वान गर्दा प्रस्ताव पेस गर्ने समय ३ देखि ५ दिनको समय सीमा तोकेको देखिन्छ। असार ९  गते जारी भएको बोलपत्रमा १३ गतेसम्म, ११ गते जारी भएको बोलपत्रमा १४ गतेसम्म, १३ गते आव्हान भएको बोलपत्रमा १८ गतेसम्म प्रस्ताव पेस गर्न पाइने गरी जारी गरेका छन्। 

असार १० गते जारी भएको बोलपत्रमा भने १५ दिनको समय दिएर २५ गतेसम्म प्रस्ताव पेस गर्न पाइने गरी बोलपत्र जारी गरेका छन्। २५ गते नै यो खुला हुनेछ। 

जागेश्वर–म्याक्सिमको कनेक्सन

‘म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्राइभेट लिमिटेड’ सुन्दर भुसालको नाममा दर्ता छ। सो कम्पनीमा जागेश्वर समेत सेयर होल्डर छन्। उनी कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख भएलगत्तै स्वास्थ्य उपकरणको व्यवसायमा संलग्न भयो कम्पनि। अनि सबै अस्पतालको अधिकांश टेन्डर समेत उसैले पाइरहेको छ।

जागेश्वर आफैँ पार्टनर भएको कम्पनीले लगातार टेन्डर पाउँदा आन्तरिक सूचना चुहावटदेखि स्पेसिफिकेसन बनाउँदा नै आफू अनुकुल पार्टनरलाई मिल्ने गरी बनाउने जोखिम रहन्छ नै।

भुसालसँग व्यापारिक साझेदारी रहेकोबारे उनले उकेरासँग अस्वीकार गरेनन्। भुसालसँगको साझेदारीबारे उकेराको जिज्ञासामा उनले भने, ‘डा. जागेश्वर गौतमले कहीँ लगानी गरेको छ। कहीँ संस्था खोलेको छ। त्यसमा अरू पनि सेयर होल्डर होलान्। त्यसमा सुन्दर भुसाल रहेछ, उसले टेन्डर पार्यो के भयो त?’

भुसाल डा. गौतमको लामो समय देखिएका व्यवसाय पार्टनर हुन् भन्ने कुरा क्यानभास एजुकेसन फाउन्डेसन प्रालिमा भएको सेयरको विवरणले समेत पुष्टि गर्छ। 

प्राप्त विवरण अनुसार ‘क्यानभास एजुकेसन फाउन्डेसन प्रालि’ मा डा. गौतमसँग ३० हजार कित्ता सेयर रहेको छ। सो सेयर सुन्दर भुसाललाई बिक्रीका लागि २०७७ फागुन १५ गते निवेदन दिएको देखिन्छ। क्यानभासमा भुसाल र गौतम दुवैको सेयर देखिन्छ। निवेदन दिएको खुले पनि सेयर बिक्री भएको हो या हैन भन्ने खुल्दैन।

त्यसै गरी ‘मौला कालिका अस्पताल प्रालि.’ मा पनि डा. गौतम र  भुसालको २०७० सालमा सेयर रहेको देखिन्छ। 

व्यापारिक साझेदारलाई मिलेमतोमा टेन्डर पारिरहेको आरोपबारे उनको आफ्नै तर्क छ। उनले बदमासी नगरेको दावी गर्दै भने, ‘डा. जागेश्वर गौतम एक पैसा घुस खाँदैन। एक पैसा कमिसन खाँदैन। एक रुपैयाँ मात्रै घुस खाएको देखायो भने म प्रोफेसन नै छाड्दिन्छु। प्रमाणित गर्नु।’

उनले जहाँ लगानी गरे पनि पारदर्शी रूपमा कमाएको रकम नै लगानी गरेको र ट्याक्स तिरिरहेको बताउँदै प्रक्रिया पूरा भएर आएकाले टेन्डर पाएको दावी गर्दै भने, ‘साढे ३ करोड ट्याक्स तिर्ने मान्छेको आम्दानी कति होला नि? आज मात्रैको त हैन। १० वर्षअघि कमाएर जग्गा किन्यो भने अहिले १० गुणा भयो होला।’

‘मैले ट्याक्स तिरेको मेरो पैसा जहाँसुकै खर्च गरूँ?,’ उनले भने, ‘मैले ट्याक्स तिरेको पैसा मैले खर्च गर्न नपाउने?’

आफैँ व्यावसायिक साझेदार रहेको कम्पनीलाई आफ्नै तजबिजमा टेन्डर स्वीकृत गर्नु आफैँमा नीतिगत भ्रष्टाचार समेत हो नै। तर जागेश्वर यसलाई स्वीकार गर्दैनन्। 

नियम अनुसार पार्यो कि पारेन त्यसको विश्लेषण हुनुपर्ने उनको दावी छ। सबैभन्दा कम दर हाल्नेले नै टेन्डर पाएको बताउँदै उनले भने, ‘लोयस्ट हुनेले हालेको छ कि छैन हेर्नु। लोयस्ट हालेपछि नपाउने? लोयस्ट दावी गर्ने मान्छेले पाएको छ ठेक्का।’

भुसाललाई मात्रै टेन्डर नपरी कम मूल्यमा गुणस्तरीय सामान ल्याउने अन्य कम्पनीलाई पनि टेन्डर परेको उनको तर्क छ। 

यस अगाडि कहिल्यै वीर अस्पतालको टेन्डरमा सहभागी हुने म्यासिम जागेश्वर प्रशासकीय प्रमुख भएपछि सहभागी हुन थाल्नु, अधिकांश टेन्डर उनैलाई पर्नु अनि जागेश्वर प्रमुख भएलगत्तै सामग्री खरिदको मापदण्ड बनाउने व्यक्ति समेत आफू अनुकुल लैजानुले खरिदमा मिलेमतो देखिन्छ नै।

भावना जता म्याक्सिम उतै

म्याक्सिमले यस अगाडि शिक्षण अस्पताल महाराजगन्जमा टेन्डर हालेको थियो। त्यो बेला त्यहाँ खरिद गर्ने सामानको मापदण्ड बनाउने जिम्मेवारी थियो, बायोमेडिकल इन्जिनियर भावना बरालको।

म्याम्सिमले टेन्डर पायो। सो टेन्डरमा मिलेमतोको शङ्का उठेपछि विवाद भयो। आन्तरिक छानबिनमा म्याक्सिम र बरालबीचको सम्बन्ध खुलेपछि अस्पताल प्रशासनले २ महिना अगाडि बरालको करार रद्ध गर्यो। यता गौतम आएलगत्तै उनै बराल यता आइपुगिन्। उनी करार सेवामा अस्पताल प्रशासनमा जोडिइन्। अहिले युनिफाइड केन्द्रीय अस्पतालले खरिद गर्ने सबै सामानको मापदण्ड उनले नै बनाउँछिन्।

जानकार स्रोत मापदण्ड आफू अनुकुल बनाएर आफ्नालाई टेन्डर दिन सहज बनाउन नै गौतमले बराललाई वीरमा ल्याएका हुन्। टेन्डर आव्हान अगाडि नै म्याक्सिमलाई नै मिल्ने गरी खरिद मापदण्ड निर्माण हुन्छ। 

अध्यादेशको उपयोग गर्दै छोटो समय तोकेर टेन्डर आव्हान हुने र जो निकट छन् उनीहरूले टेन्डर हाल्ने र स्वीकृत हुने गरेको जानकार स्रोतको दावी छ।

भावना युनिफाइड केन्द्रीय अस्पताल आएसँगै म्याम्सिम पनि यतै आउनुले पनि उनीहरूबीचको व्यापारिक सम्बन्ध र स्वार्थ देखिन्छ नै।

स्रोतका अनुसार बराल बालुवाटारमा रहेको म्याक्सिमको अफिसमा नै पार्ट टाइम काम गर्छिन् र त्यहीँ बसेर स्पेसिफिकेसन बनाउने गरेको स्रोतको दावी छ। 

जानकार स्रोत बरालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत बाक्लो हिमचिम रहेको दावी गर्छ। शिक्षण अस्पतालमा करारमा रहँदा उनी टेन्डरमा विवादमा परेपछि अख्तियारले पत्रै काटेर ‘भावना बराललाई एक साताका लागि काजमा पठाउन’ भनेको थियो।

तर, अस्पताल प्रशासनले पठाएन।

‘हाम्रोमा २ जना बायोमेडिकल इन्जिनियर थिए। अख्तियारले बरालको नामै किटेर काजमा मागेको थियो। २ जनामध्ये कसैको नाम उल्लेख नगरी मगाएको भए पठाउनसक्थ्यौं तर नामै किटेर पत्र पठाएकाले उनलाई काजमा पठाएनौं,’ शिक्षण अस्पताल स्रोतले भन्यो।

समय तोक्नेदेखि टेन्डर स्वीकृतिसम्मका प्रक्रियाबारे गौतमको आफ्नै ढिपी छ। उनी कसैले सामान ल्याएर स्टकमा राखेर बेचे त्यसमा टाउको दुखाउनुपर्ने आवश्यकता नरहेको तर्क गर्दै भन्छन्, ‘कसैले सामान ल्याएर राख्यो भनेर के टाउको दुखाउनु। वीर अस्पतालमा बिरामीलाई उपचार गर्न सामान पाएको राम्रो कि नपाएको राम्रो?’

जोखिम मोलेर व्यापार गर्नेले कमाउने उनको तर्क छ। ‘जसले ल्याउँछ। जसले रिस्क लिन्छ। जसले कम पैसामा हाल्छ। जसले क्वालिटी दिन्छ। त्यसले व्यापार गर्छ कमाउँछ नि त। त्यो रामे परोस् कि श्यामे परोस् के मतलब,’ डा. गौतमले भने।

अहिलेसम्म सामान खरिदका लागि कम मूल्यमा सामान दिनसक्ने कम्पनी मात्रै छनोटमा परेको उनको दावी छ। 

अध्यादेश स्वेच्छाचारीका लागि हो?

कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ६ मा ‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’ सञ्चालन गर्ने व्यवस्था छ। 

सो व्यवस्था अनुसार वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रूपमा रूपान्तरण गरिएको हो। अस्पतालको प्रमुख प्रशासकीय अधिकारीका रूपमा प्राडा. जागेश्वर गौतम रहेका छन्।  यसरी हेर्दा उनी अधिकार सम्पन्न देखिन्छन्। 

अध्यादेशको परिच्छेद–६ को दफा २६ मा खरिद  प्रक्रिया सम्बन्धी व्यवस्था रहेको छ। दफा २६ को उपदफा ‘१’ मा खरिद सम्बन्धी प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानुन बमोजिम प्रक्रिया अवलम्बन गर्दा कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारमा बाधा पर्ने वा जीउ ज्यान जोखिममा पर्ने देखिएमा तत्काल आवश्यक पर्ने औषधि, अक्सिजन, स्वास्थ्य सामग्री, उपकरण आधिकारिक बिक्रेता वा अन्तर्राष्ट्रिय संस्थासँग सोझै खरिद गर्न सकिने व्यवस्था छ। 

तर, स्वास्थ्य मन्त्रालयकै तथ्याङ्कले कोरोना महामारी घटेको देखाउँछ। अस्पतालहरूले आइसियु, भेन्टिलेटर खाली हुँदै गएको देखाएका छन्। यस्तो अवस्थामा अनियमितताकै लागि उनी सामग्री किन्न हतारिएको स्रोतको दावी छ। 

त्यसैगरी उपदफा २ मा तत्काल खरिद गर्नुपर्ने औषधि तथा स्वास्थ्य सामग्री मुलुकभित्र पर्याप्त मात्रामा उपलब्ध हुन नसक्ने भएमा अधिकारप्राप्त अधिकारीले आफैँ वा विदेशस्थित नेपाली कुटनीतिक नियोगमार्फत सोझै खरिद गर्नसक्ने व्यवस्था रहेको छ। 

तर, यसरी सोझै खरिद गर्ने सामग्रीको स्पेसिफिकेसन र दररेट नेपाल सरकारले स्वीकृति गरेबमोजिम हुने व्यवस्था रहेको छ। 

डा. गौतमले भने यो व्यवस्थालाई पनि कति समय कम गर्न सकिने छ भन्ने व्यवस्था नहुँदा छोटो समयमा नै भटाभट खरिद प्रक्रिया स्वीकृत गरेका छन्। 

त्यसैगरी अध्यादेशको दफा २६ को उपदफा ५ मा ‘खरिद सम्बन्धी प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस अध्यादेश बमोजिम गरिने खरिद प्रक्रियालाई छिटो सम्पन्न गर्नका लागि सम्बन्धित सार्वजनिक निकायको प्रमुखले प्रचलित कानुन बमोजिम खरिद प्रक्रियाका सम्बन्धमा तोकिएको समयावधि कम गर्न सक्नेछ’ भन्ने व्यवस्था गरिएको छ। 

त्यसो त अध्यादेशमा खरिद सम्बन्धी प्रश्नै उठाउन नपाइने व्यवस्था छ। अध्यादेशको दफा २६ को उपदफा १० मा लेखिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि यस अध्यादेश बमोजिम खरिद गरिएकोमा प्रचलित खरिदसम्बन्धी कानुनबमोजिम नभएको भनी प्रश्न उठान पाइने छैन।’ 

तर, अध्यादेश अनुसार छिटो प्रक्रिया गरी सामान खरिदका लागि प्रश्न उठान नपाइने  भए पनि अध्यादेशको दुरुपयोग गरी सामग्री खरिदमा अनियमितता देखिए प्रश्न उठाउन पाइने र उनी कारबाहीको भागिदारी हुने अधिवक्ता ओमप्रकाश अर्याल बताउँछन्। अर्याल भन्छन्, ‘कानुनमा व्यवस्था छ भन्दैमा त्यसको दुरुपयोग गरेर व्यक्तिगत फाइदा लिने कुरो त केही गरे पनि हुँदैन।’

अधिकारको प्रयोग गर्दा स्वेच्छाचारी गरे उन्मुक्ति नपाउने उनले बताए। अन्य समयमा भन्दा महामारीको अवस्थामा अख्तियारको दुरुपयोग गरे अझ बढी कारबाहीको भागिदारी हुने व्यवस्था रहनुपर्ने अर्याल बताउँछन्। 

२३ असार, २०७८, १९:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।