हिम्मत नआउँदा बुबालाई सम्झन्छन्, हेमराज पुत्र प्रज्वल

हिम्मत नआउँदा बुबालाई सम्झन्छन्, हेमराज पुत्र प्रज्वल
तस्बिर : कृष्पा श्रेष्ठ ।

काठमाडौं : चर्को घाम। बुङबुङ्ती उडेको धुलो। निलो मास्क, हरियो ज्याकेट र कालो ट्राउजरमा असिन-पसिन हुँदै एक युवक आइपुगे, मामाको पसल। त्यहाँ हामीलाई देख्ने बित्तिक्कै अचानक उनका आँखा रसिला भए।

विद्युत प्राधिकरणमा करारका जागिरे प्रज्वल बञ्जाडे सन्धीखर्क नजिकै अर्घामा बिजुलीको पोल बिग्रेर बनाउन गएका रहेछन्। औपचारिक कुराकानीपछि हामीसँग धेरै बेर बोल्न सकेनन्। मामाको पसलभन्दा केही पर कच्ची सडकमै आँखाभरि आँसु पारेर उभिइरहे।

उत्तरतिरबाट आएको हावाले अर्घाखाँचीको सन्धीखर्क बजार पूरै धुलाम्मे भएको थियो। सडक छेउ उभिइरहेका उनको पनि मनभरि ठूलै हुण्डरी चलिरहेको थियो। हुण्डरी पनि किन नचलोस्, ११ वर्षकै हुँदा उनका बुबाको हत्या भएको थियो।

साथीहरु बुबाको काँधमा चढेर गाउँ डुल्दै गर्दा उनले बुबालाई सम्झेर रुनु बाहेक विकल्प थिएन। सानोमा मात्रै हैन, अहिले पनि अरु कोही बुबासँग बोलेको देख्दा होस् या बुबाको कुरा गर्दा, प्रज्वलको मन थामिँदैन। आँखा रसाउँछन्, गला अवरुद्ध हुन्छ।

केही बेरमा नै भूमिकास्थान नगरपालिका-४ जाने गाडी आइपुग्यो। बोरामा घरका लागि सामल र आफ्ना लुगा गाडीमा राखे। बाटोभरि हामीसँग एक शब्द पनि बोल्न सकेनन्। जब बोल्न खोज्थे, उनका आँखा रसाउँथे। उनी सन्धीखर्कका डाँडा हेरेर मन बुझाउँथेँ।

देउराली पुगेपछि गाडी रोकियो। उनले आफ्नो गाउँ देखाए, ‘ऊ त्यही हो, हाम्रो गाउँ, त्यो चाहिँ हाम्रो घर।’ वरपर जंगल, झुरुप्प बस्ती, टिनले र ढुंगाले छाएका घरहरु देखिए।

०००
२०६५ साल जेठ २ गते अर्थात् सन् २००८ को मे १५ मा उत्तर प्रदेश, नोयडाको जयलायु बिहार अपार्टमेन्टमा आरुषी तलवारको हत्या भएको समाचार बाहिरियो। हत्याको आरोप डा. राजेश तलवार र नुपुर तलवारको घरेलु कामदारको रुपमा रहेका नेपाली नागरिक ४३ वर्षीय हेमराज बञ्जाडेलाई लगाइयो।

तर, यो आरोप पुष्टि हुन पाएन। भोलिपल्ट तलवारको घरको छतमा हेमराज हत्या भएको अवस्थामा भेटिए। सिआइबीले उनको लास फेला पार्यो।

तलवार परिवारले हेमराज र आरुषीको यौन सम्बन्ध रहेकाले हेमराजले आरुषीलाई हत्या गरेको आरोप लगाएको थियो। तर यो आरोप आरोपमा नै सीमित हुन पुग्यो। हेमराज बन्जाडे र १३ वर्षीया आरुषी तलवारको संदिग्ध दोहोरो हत्या काण्डमा सिआइबीले लगातार चार वर्ष अनुसन्धान गरेको थियो।  

हेमराज हत्याको १३ वर्ष : 'हत्यारा परिवार' को दाग मेटाउने हुटहुटी,न्यायको छटपटी

अदालती प्रक्रियामा स्वयं आरुषीका बुबा-आमा राजेश-नुपुर तलवारलाई छोरीको हत्यारा सावित गर्दै आजीवन काराबासको सजाय सुनाइएको थियो। तर उक्त हत्याकाण्डको अनुसन्धानमा पूर्णता नरहेको भन्दै इलाहाबाद उच्च न्यायालयले २०७४ असोजमा तलवार दम्पतीलाई जेलमुक्त गरिदिएको थियो।

असोजमा जेलमुक्त गरेपछि हेमराज परिवारले पुस ५ गते भारतको सर्वोच्च अदालतमा पुनारावेदन दिएको थियो। सर्वोच्चले चैत ५ गते यो पुनारावेदन स्वीकारेको थियो। त्यसपछिको प्रक्रियामा हेमराज परिवारलाई न भारतको सर्वोच्च अदालतले नै थाहा दिएको छ न त उनीहरुले नै बुझेका छन्। तर उनीहरुको मनमा न्याय पाउने आश भने अझै मरेको छैन।

तिनै हेमराजका छोरा हुन् प्रज्वल बञ्जाडे। जसले उनलाई बुबाबारे सोध्छ, उनले बुबाको फोटोमा आफ्नो सेल्फी खिचेको तस्बीर देखाउने गरेका छन्। उनले पनि हामीलाई त्यही फोटो देखाए।

०००
भूमिकास्थानको बञ्जाडे टोलमै गाडी पुग्यो। आँगनकै छेउमा गाडीले झारिदिएपछि एउटा हातमा सामल सहितको बोरा र अर्काे हातमा झोला बोके प्रज्वलले। आमालाई सामलको बोरा जिम्मा लगाए।

गोठमा काम गरिरहेकी प्रज्वलकी आमा खुमकलाले छोरा घर आइपुगेपछि सञ्चो–बिसञ्चो सोधिन्। हामीतिर हेर्दै भनिन्, ‘बिहान फोन गर्दा यसको बोली सञ्चो नभाजस्तो सुनियो। बाबुलाई चिसोले समाइहाल्छ, फेरि चिसो लागेछ।’

२०६५ साल जेठ २ गते प्रज्वललाई निमोनियाले सताएको थियो। उठ्नै नसक्ने गरेर केही दिनदेखि थला परेका थिए। त्यही दिन गाउँमा खासखुस चल्यो। गाउँलेहरु प्रज्वलको घर आउने-जाने गरिरहे। प्रज्वलको परिवारले के भइरहेको छ, बुझ्न सकिरहेको थिएन।

हेमराज पत्नी खुमकलाको पीडा : न भारतबाट न्याय आयो, न आफ्नै सरकारको साथ

 

बिरामी त्यसमाथि सानै, उनलाई राम्रोसँग हेक्का छैन। दुई दिनपछि थाहा भयो, उनका बुबाको घाँटीमा कसैले छुरा हानेको रहेछ। त्यसपछि प्रज्वलका दुःखका दिन सुरु भए।

बुबा भइदिएको भए...
प्रज्वललाई बुबाबारे खासै याद छैन। कोही बोलेको देखे पनि, हिँडेको देखे पनि बुबाकै याद आउँछ। ‘म सानो हुँदा पनि बुबा धेरै समय नेपाल बस्नुहुन्थेन। कामको लागि भारत नै जानुहुन्थ्यो,’ उनले भने, ‘अनुहार याद नआए पनि उहाँको अभाव महसुस भइरहन्छ। बुबाले उचालेर गाउँतिर लिएर हिँड्नुहुन्थ्यो। यताउता हिँड्दा अरुको बुबा देख्दा आफ्नो बुबालाई मिस गर्छु। अहिले पनि याद आइरहन्छ। बुबा भइदिएको भए...।’

उनको गला अवरुद्ध भयो। केही बेर बोल्नै सकेनन्। वरपर सन्नाटा छायो। फेरि प्रज्वलले भने, ‘बुबाको अभाव पढ्दापढ्दै पढ्न नपाउँदा पनि हुन्छ। काम गर्दा हिम्मत आउँदैन। त्यतिबेला बुबा भइदिएको भए ‘तैँले सक्छस्’ मात्रै भनिदिँदा पनि काम गर्ने आँट आउँथ्यो होला।’

प्रज्वल ६ वर्षको हुँदा नै दिदीको विवाह भइसकेको थियो। त्यसपछि घरमा उनी, हजुरआमा र आमा मात्रै भए। दाजुभाइ र बहिनी नभएकोमा एक्लो महसुस हुने रहेछ प्रज्वललाई।

हेमराजकी ८४ वर्षीया आमा कृष्णकलाले रुँदै भनिन्, ‘मेरो बाबु बाँचेको भए मलाई के दुःख हुन्थ्यो र बा !’

‘म काममा जाँदा आमा एक्लै हुनुहुन्छ। हजुरआमा फुपुकोमा गएर बस्नुभएको छ। भाइ, बहिनी जो भइदिएको भए पनि बाहिर जाँदा आमाको पिर हुँदैनथ्यो मलाई,’ प्रज्वलले भने ‘नजाउँ खान पुग्दैन, जाउँ आमा बिरामी हुनुहुन्छ। के गर्ने सोच्नै सकेको छैन।’

११ वर्षको उमेरमा बुबा गुमाए प्रज्वलले। उनी ६ वर्षको हुँदा नै दिदीको विवाह भइसकेको थियो। घरमा प्रज्वल, आमा र हजुरआमा मात्रै भए। वर्षको दुई तीन पटक आउने बुबा पनि अर्कैको देशमा बिते। घरमा न खाने प्रशस्त अन्न न त काम गर्ने जग्गा नै। आमा र हजुरआमाको लागि उनी नै सहारा बने। धन्न उनका मामावली उनको गाउँ नजिकै थियो र ठूलै आड भरोसा भयो।

‘मैले १२ सम्म पढेको छु। त्यहाँसम्म मामाले नै पढाउनुभयो,’ प्रज्वलले भने, ‘सधैं मामाहरुको भरमा पढ्न मन लागेन। घरमा खाने अन्न नहुँदा मैले पैसा कमाउनुपर्छ भन्ने लाग्यो। अनि पढाइ छाडेँ।’

भारतमा काम गर्नै मन लागेन
कक्षा १२ को पढाइ सकेपछि प्रज्वल भिनाजुका साथ लागेर भारतको नोयडामा नै कामको लागि पुगे। पहिलो पटक मोबाइल पसलमा, दोस्रो पटक टिभी पसलमा काम गरेका उनको भारतको बसाइ जम्मा ११ महिना मात्रै रह्यो। नोयडाको गल्ली-गल्लीमा प्रज्वल रुँदै हिँडेका छन्।

‘नोयडामा बस्दा होस् या एक्लै हिँड्दा, बुबाको याद आउने, कहाँनेर होला, के भाको होला जस्तो लाग्ने,’ प्रज्वलले भने, ‘घर त सोध्दै सोधिनँ। परिस्थितिले भोलि जान पनि पर्नसक्छ। फेरि सहिनसक्नु हुन्छ भनेर सोधिनँ। चैनका साथ भारतमा काम गर्न नसकेपछि म नेपालमा नै फर्किएँ।

प्रज्वल अहिले विद्युत प्राधिकरणमा ठेकेदार अन्र्तगत करारमा इलेक्ट्रिसियनको काम गर्छन्। उनको काम बिजुलीको पोल बिग्रेको बनाउने हो। महिनाभरि काम गरेको १३ हजार ३ सय १५ कमाउँछन्।

सन्धीखर्कमै बस्ने उनले महिनाको ५/६ हजार जोगिने बताए। ‘हप्तामा एकचोटी घर जाने गर्छु। आउँदा-जाँदा भाडा खर्च, घरमा केही सामान लानै पर्यो। कोठाभाडा १५ सय छ। २/३ जना बस्छौं, जसोतसो चलेको छ,’ उनले भने, ‘यो काम दुई वर्षको करार हो। माघबाट सकिएको छ, थपेको पनि छैन। अब के हुन्छ, थाहा छैन।’

विदेश नगई धरै छैन
२०७६ कात्तिकमा घाँस काट्न जाँदा प्रज्वल रुखबाट लडे। लड्दा उनको खुटामा ठूलो चोट लाग्यो। अहिले एउटा खुट्टामा स्टिल राखिएको छ। बलको काम गर्न उनलाई गाह्रो छ।

जग्गाको नाउँमा दुई हल खेत र केही खर्क छ प्रज्वलको परिवारको। वर्षैभरि मिहिनेत गर्दा पनि एक जनालाई ६ महिना पनि खान पुग्दैन। परिवारको जिम्मेवारी महसुस गरेका प्रज्वलले विदेश जाने सपना देखिसकेका छन्।

‘नेपालीले कि पढ्ने हो कि विदेश जाने। दुई/चार हजारको जागिरले हुँदैन। विदेश जान मन छ,,’ उनले भने, ‘भारततिर जान मन लाग्दैन। आमाले नजा भन्नुभएको छ। नगई कसरी परिवार चलाउने सोच्नै सकेको छैन।’

बुबाको भारतमा हत्या भएपछि भारतीय मिडिया र सिआइबीका मान्छे आएर प्रज्वलको परिवारको जग्गा-जमिनदेखि बैंक मौज्दातसम्म हेरेको थियो। अन्तर्राष्ट्रिय रुपमा उठेको यो घटना नेपाल सरकारले भने परिवारमा गएर सान्त्वना समेत दिएको रहेनछ।

‘बुबाको हत्या भएको १३ वर्ष भयो, मुद्दा-मामिला चर्कै पर्यो तर हामीले सरकार छ भन्ने महसुस गर्न पाएनौँ,’ प्रज्वलले भने, ‘नेपाल त हाम्रो घर हो नि! घरकैलाई हाम्रो दुःखबारे चासो नभएपछि बाहिर देशबाट कसरी न्याय पाउनु?’

 (आरुषी हत्याकाण्डको रूपमा चर्चित भारत नोयडामा मारिएका नेपाली नागरिक हेमराज बन्जाडेको परिवारलाई भेटेर तयार पारेको  विशेष सामाग्री क्रमशः उकेरामा प्रकाशित हुनेछ। यो श्रृंखलाको   चौथो भाग हो।)

२७ जेठ, २०७८, ११:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।