हेमराज पत्नी खुमकलाको पीडा : न भारतबाट न्याय आयो, न आफ्नै सरकारको साथ

हेमराज पत्नी खुमकलाको पीडा :  न भारतबाट न्याय आयो, न आफ्नै सरकारको साथ

घरको गर्जो टार्न भारत छिरेका श्रीमान् हेमराज बन्जाडे काम गर्ने घरमै मारिएपछि यस्तै छ उनको हाल। हेमराज उनै अभागी नेपाली नागरिक हुन् जसले मृत्युपछि पनि न्याय पाउन सकेका छैनन्। आरुषी हत्याकाण्डको रूपमा चर्चित यो घटनाको अझै छिनोफानो भएको छैन।

खुमकला प्राय: एक्लै हुन्छिन् घरमा। सासू आमा छोरीको घरमा गएर बसेकी छिन्। छोरा कामका लागि घर बाहिरै बस्ने रहेछन्। उकेराकर्मी बन्जाडेको घरमा पुग्दा छोरा आएका थिए।

अँध्यारो हुन थालिसकेको थियो। उनी बेलुकाको खाना बनाउन चुल्होतिर लागिन्। 

लहरै मिलाएर र्याकमा मिलाएर राखिएका भाँडा। मूल कोठाको कुनामा सुधारिएको चुल्हो। बेलुकीको ७ बजेतिर त्यही चुल्होमा आगो सल्काइन् खुमकलाले। 

स्थानीय रेडियोमा रेडियो नेपालको समाचार बजिरहेको थियो। चुल्होमा आगो सल्किएपछि उनले कराही बसालिन् तरकारी पकाउन। आलु र च्याउ काट्न थालिन्।

‘छोरो हप्ताको एक पटक आउँछ। अघिपछि एक्लै हुँदा रोटी पकाउँथेँ। आज भातै पकाउँछु,’ उनले भनिन्, ‘जानेले छोडेर गए पनि बाँच्नेले खानै पर्ने रहेछ।’ 

उनले लामो सुस्केरा हालिन्।

हेमराज हत्याको १३ वर्ष : 'हत्यारा परिवार' को दाग मेटाउने हुटहुटी,न्यायको छटपटी

०००

२०४२ सालमा हेमराजसँग खुमकलाको जीवन जोडियो। विवाहपछि उनीहरू लामो समय भारतमै बसे। हेमराज भारतमा गाडी चलाउँथे। २०४५ मा उनीहरूको पहिलो सन्तान उतै भयो, छोरी। 

भारत र नेपाल आउने जाने गरिरहे बन्जाडे दम्पती। खुमकलाले भारतमा बस्दा हिन्दी भाषा पनि सिकिन्। उनी हिन्दीमै दोहोरो कुराकानी गर्न सक्षम छिन्। 

घरमा आमा एक्लै। हेमराजले खुमकलालाई नेपालमै बस्न आग्रह गरे। खुमकला छोरी लिएर नेपाल फर्किइन्। खुमकलालाई घरमा छाडेर उनी भारत लागे। आउजाउ गरिरहन्थे। 

२०५४ सालमा छोरो जन्मियो।

घर गृहस्थी राम्रै चलिरहेको थियो । छोरीको विवाह भइसकेको थियो। २०६४ पुस महिनामा छोरी सुत्केरी भइन्। हेमराजले सुत्केरी छोरीलाई घरमा ल्याएर राखे। थारो (धनसार) बनाउन जग हाले। अनि पैसा कमाउन फेरि मुगलान पसे।

‘पुस मसान्तमा उहाँ भारत जानुभयो। पैसा पठाएर धनसार बनाउनुपर्छ भन्नुभएको थियो,’ खुमकलाले धनसार तिर हेर्दै भनिन्‘यो धनसार उहाँले देख्न पाउनुभएन।’

घर आएको बेला हेमराजले २०६४ साल साउन महिनाबाट राजेश–नुपुर तलवार दम्पतीको घरमा काम गर्न थालेको बताएका थिए घरमा।

पसलमा बस्ने काम भएको र काम सजिलो भएको बताए। २०६४ पुसमा भारत जानु अघि हेमराजले त्यो घरमा एक छोरी पनि भएको र उनले आफूलाई अङ्कल भन्ने गरेको बताएका थिए खुमकलालाई। ती आरुषी थिइन्।

उनी घर फर्किए। आम्दानी राम्रै छ भन्दै फर्किएर त्यही काम गर्ने भन्दै उनै भारत लागे फेरि।

हेमराजसँग कहिलेकाहीँ फोनमा कुराकानी हुन्थ्यो खुमकलाको। जेठ दुई गते हेमराजको हत्या हुनुअघि २/३ दिन अघि दुवैको कुराकानी भएको थियो। 

‘जेठ २ गते नै भारतीय टिभीहरूले आरुषीको हत्या भएको, त्यो मेरो श्रीमान्ले गरेको भन्दै समाचार देखाएका रहेछन्, ’खुमकलाले भनिन्, ‘हाम्रो घरमा टिभी थिएन। भोलिपल्ट श्रीमानको पनि हत्या भएको रहेछ। उहाँको हत्या भएको दुई दिनपछि पो मैले थाहा पाएँ।’

फोटो हेर्नै सक्दिनन् खुमकला

हेमराजलाई रक्सी पिएको राजेश–नुपुरकी छोरी आरुषीसँग यौन सम्बन्ध राखेको कारण हत्या भएको आरोप लगाइएको थियो। यो आरोप सम्झिँदा अहिले पनि खुमकलालाई भाउन्न हुने रहेछ। 

‘उहाँलाई जुन आरोप लगाइयो त्यो आरोप सम्झिँदा त आरोप लगाउनेलाई बघिनीले खुन पिए जसरी पिउँछु जस्तो हुन्छ,’ उनले भनिन्, ‘न त उहाँले कहिल्यै रक्सी खाएको मैले थाहा पाएँ न त कहिल्यै अरूसँग लागेको थाहा पाएँ। धन छ भन्दैमा जे पनि आरोप लगाउने?,’ उनी क्रोधित देखिइन् । 

८ बजेसम्म खुमकलाले खाना खाइसक्ने रहिछिन् धन्दा सकेर ओछ्यानमा जाँदा ११ बज्ने रहेछ। घरमा बस्दा रेडियो नखोली बस्न सक्दिनन् रे खुमकला। 

‘यही रेडियोले कहिले हँसाउँछ, कहिले रुवाउँछ। कहिले गीत बजाउँछ । छोरो नभएको बेला रेडियो साथी भएको छ मेरो, ’खुमकलाले भनिन्, ‘रेडियो पनि हुँदैनथ्यो भने कसरी पो दिन रात कट्थ्यो।’

गाउँघरतिरको चलन, घरको जो सदस्य बाहिर गएको छ उसैको फोटो दैलोमा टाँस्ने चलन छ। हेमराज भारत आउजाउ गर्ने भएपछि उनको फोटो उसैगरी दैलोमा टाँसिएको थियो। जब हेमराजको फोटो देख्थिन्, खुमकलालाई खपिनसक्नु हुन्थ्यो। 

हेमराजकी ८४ वर्षीया आमा कृष्णकलाले रुँदै भनिन्, ‘मेरो बाबु बाँचेको भए मलाई के दुःख हुन्थ्यो र बा !’

‘दैलोमा उहाँको फोटो टाँसिएको थियो। फोटो देखियो कि खपिनसक्नु हुने। फोटो दैलोबाट हटाउन लगाएँ, ’खुमकलाले भनिन्, ‘कसैले हेमराजकी श्रीमती भनेर बोलाउँदा पनि सम्झनाले मुटु अँठ्याउँथ्यो। त्यो पनि नभनाओ भनेँ।’ 

खुमकला मौन भइन्। टोलाइन्।

हेमराज मारिएपछि उनको शव नेपाल ल्याइएन। उतै दाहसंस्कार भयो। घाँटीमा छुरी हानेको छ रे । लास ल्याउँदा झनै गाह्रो हुन्छ भनेर हेमराजलाई जमुना नदीमा सेलाइयो। यता खुमकला आफैँ किरिया बसिन् । 

‘छोरोलाई निमोनियाले सताएको थियो। मर्ने मरेर गए नि बाच्ने त बाच्नै पर्यो भनेर छोरालाई किरिया बस्न दिइन्,’ खुमकलाले भनिन्, ‘बाच्ने आधारै यही छोरो त छ।’

तीन महिना पनि पुग्दैन खान

हेमराजको हत्या भएपछि केही दिनमा खुमकलाका माइला दाजु गोविन्द भुसाल बहिनी भेट्न बन्जाडे टोल पुगे। श्रीमानको हत्या भएपछि अक्क न बक्क भएकी खुमकला दाजुलाई देख्ने बित्तिकै मन थाम्न सकिनन्। दाजुको काखमा घोप्टिएर धेरै बेर रोइन्।

‘दाजु आएपछि मन थाम्न सकिन् बाँच्ने आधारै गुमाएकी मलाई दाजुले ढाडस दिन आउनु भएको थियो, ’खुमकलाले भनिन्, ‘तीन भाइ थियौँ ४ भाइ भयौँ पिर नमान भन्नुभयो। रासन पानीदेखि हरेक कुरा माइतीमा नै भर परेकी छु म।’

५-७ मुरी धान हुने जग्गा । केही खर्क घाँस हुने जग्गा। यतिले तीन जनाका परिवार धानिने कुरै आएन। त्यसमाथि आमा-छोरा दुवै बिरामी । छोरो प्रज्वल निमोनिया भएर ४ पटक त बनारस नै लग्नुपर्यो। 

‘छोरो ६ महिनाको हुँदा निमोनिया बिग्रेछ । सुरुमा सन्धिखर्क उपचार गराइयो सन्चो भएन त्यसपछि बुटवल भैरहवा हुँदै बनारस त ४ चोटि पुराइयो,’ खुमकलाले भनिन्, '३/४ वर्ष मात्रै भयो छोरोलाई सन्चो भएको, अझै पनि ज्यान तङ्ग्रिसकेको छ जस्तो मलाई लाग्दैन।’ 

खुमकला ५-६ वर्ष अघि गम्भीर बिरामी परिन् । उनको शरीर पूरै सुन्नियो । खुमकलाका अनुसार उनको १० वटा बच्चा खेर गएका थिए रे। ४२ साल देखि ५६ सालसम्ममा। सायद त्यसैको पनि असर होला। उनी एक साता त अस्पताल नै बसिन् । 

आमा र छोरा नै बिरामी भइरहने क्रम रोकिएन। कहिले आमा बिरामी, कहिले छोरा। अस्पताल बसेर आएपछि खुमकलाको देब्रे हातले काम गर्नै छाड्यो। केही समायो कि खसेको थाहै नहुने। हड्डी कमजोर भएछ। 

‘मेरो हात निकै कमजोर भएछ। बढार्न र लुगा धुन हुँदैन भन्थे डाक्टरले, ’खुमकलाले भनिन्, ‘हामी जस्तो गरिबलाई यस्तो रोग किन लाग्छ थाहा छैन।’

२०७६ कात्तिकमा छोरा प्रज्वल रुख बाट लडेर खुट्टामा स्टिल हाल्नु पर्यो। खुमकलाको उपचार देखि प्रज्वलको उपचारसम्म सम्पूर्ण खर्च खुमकलाकै माइतीले गरे। 

‘मेरो उपचार गर्दा, छोराको उपचार गर्दा कति खर्च लाग्यो थाहा छैन,’ खुमकलाले भनिन्, ‘मेरो माइतीले जति त कसले नै पो गर्ला र ?’

माइतीकै सहयोगले श्रीमानले बनाउन नपाएको धनसार बल्लबल्ल बनाइन् खुमकलाले। दिदीबहिनीको सहयोगले अन्न रासन पानी चलाइरहेकी छिन् । 

जनमोर्चाका केन्द्रीय सल्लाहकार एवं खुमकलाका छिमेकी सागर केसी खुमकलालाई माइतीले सहयोग गरेर नै जीविका चलेको बताए। 

‘एकचोटी उनलाई आखिल भारत नेपाल एकता समाजले ५० हजार रुपैयाँ दिएर सहयोग गरेको बाहेक कसैको सहयोग पाएकी छैनन् यिनले, ’केसीले भने, ‘यिनको जीविका नै माइतीको आड भरोसाले चलेको छ।’

सरकारको बेवास्ता 

हेमराजको हत्या भएपछि देशी–विदेशी मिडियाहरूले प्रमुखताको साथ समाचार छापे। नेपालमा पनि भर्खरै पहिलो संविधान सभाको चुनाव सकिएको थियो। सबैभन्दा ठुलो पार्टी बनेको तत्कालीन माओवादी केन्द्र सरकार बनाउने कसरतमा थियो। जेठ १५ गते नेपाल गणतन्त्र घोषणा हुँदै थियो। गणतन्त्र घोषणा पनि भयो सरकार पनि बन्यो। 

तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । देशमा राजनीतिले नयाँ डिस्कोर्ष लियो। तर समस्या उही थियो । नयाँ सरकार बने पनि, देश गणतन्त्रमा नै घोषणा भए पनि खुमकलाको परिवारलाई गणतन्त्र आएन।

नयाँ सरकारले कुनै साथ दिएन। आफ्नै क्षेत्रबाट चुनाव जितेका तत्कालीन माओवादी नेता टोपबहादुर रायमाझी सान्त्वना दिन समेत उनको आँगन टेकेनन्।

‘सरकारको पक्षबाट कूटनीतिक र आर्थिक सहयोग त परको कुरा,’ जनमोर्चाका केन्द्रीय सल्लाहकार सागर केसीले भने, ‘आड भरोसा समेत पाएनन्।’

किरिया सकेको केही समयपछि भारत बस्ने ज्वाइँ र माइतीको साथ लाएर उनको परिवार भारतको इलाहावाद न्यायालयमा पुगेको थियो। त्यहीका सरकारी वकिलले मुद्दा लडिदिएका थिए। 

भारतको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धान र अदालती प्रक्रियापछि २०१३, २६ नोभेम्बरदेखि तलवार दम्पती आजीवन कारावासको सजायसहित थुनिए। आरुषी र हेमराजको हत्यामा राजेश तलवार र नुपुरु तलवार थुनिएपछि आफ्नो श्रीमानलाई लागेको अपराधको दाग मेटिएको अनुभव गरेकी थिइन् उनले।

तर, निर्णय उल्ट्याउँदै २०७४ असोजमा उनीहरूलाई थुनामुक्त भए। दुवै थुनामुक्त भएपछि खुमकलाको परिवार पुन: कानुनी लडाइँमा होमियो। यसमा सिविआइले साथ दियो।

उच्च न्यायालयले बिना आधार जेलमुक्त गरिदिएको भन्दै सिविआइले सर्वोच्च अदालतमा अपिल गर्यो। पुस ५ गते अपिल गरेकोमा सर्वोच्चले चैत ५ गते निवेदन स्वीकार पनि गर्यो। तर त्यसपछि प्रक्रिया नै रोकिएको छ।

‘एक पटक निवेदन दिएर आएका हौँ। दोषीलाई कारबाहीको लागि ज्वाइँ नोयडामा नै हुनुहुन्छ,’ खुमकलाले भनिन्, ‘अहिलेसम्म हामीलाई कुनै खबर आएको छैन।’

सरकारले आर्थिक सहयोग त गरेन। कमसेकम मुद्दामा सघाए हुने भन्ने उनको आस छ। तर स्थानीयदेखि केन्द्रसम्म कसैले वास्तै गरेका छैनन् उनको परिवारलाई।

‘सरकार हाम्रो घर आएन। हाम्रै ठाउँबाट  जितिरहेकाहरू पनि आएनन्। घटना सबैलाई थाहा छ, परिवारको सोधखोज गर्ने काम भएको छैन,’ खुमकलाले भनिन्, ‘हामीले न्याय खोजेको हो। नेपाल सरकारले ढाडस दिएन। भारतको न्यायालयले न्याय दिएन अब हामी कहाँ जानू?’

नेपाल सरकारले चासो राखे अदालती प्रक्रिया अगाडि बढ्थ्यो कि भन्ने आस छ उनमा। तर कसले वास्ता गर्ने उनको परिवारलाई। बन्जाडे परिवार एक्लै भुटभुटिइरहेको छ न्यायका लागि।

‘भारतीय न्यायालयले अझै न्याय दिएन। नेपाल सरकारले दबाब पारेको भए केही हुन्थ्यो होला कि। तर हामी जस्तो दुखी गरिबलाई हेर्ने फुर्सद कहाँ छ र सरकारसँग,’ उनले बढो नमजाले चित्त दुखाइन्।

घरको भित्तामा राखेको हेमराजसँगै खिचिएको तस्बिर हेरेर टोलाउन थालिन् खुमकला। उनको आँखा टम्म आँसुले भरिए।

 (आरुषी हत्याकाण्डको रूपमा चर्चित भारत नोयडामा मारिएका नेपाली नागरिक हेमराज बन्जाडेको परिवारलाई भेटेर तयार पारेको  विशेष सामाग्री क्रमशः उकेरामा प्रकाशित हुनेछ। यो श्रृंखलाको  तेस्रो भाग हो।)

२१ जेठ, २०७८, १४:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।