बालाजु सडक विस्तारले सुकुम्बासी बनाएकाहरु-१ : घरबास उडाउने राज्यले बास देला भन्ने के आश !

बालाजु सडक विस्तारले सुकुम्बासी बनाएकाहरु-१ :  घरबास उडाउने राज्यले बास देला भन्ने के आश !
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौं : चन्द्रबहादुर नकर्मी कुनै बेला काठमाडौं, लगनटोलका स्थायी बासिन्दा थिए। निम्न आर्थिक अवस्था भएका चन्द्रबहादुरका तीन दाजुभाइ थिए र एउटा सानो घर।

बा-आमाले दुःख-सुख सबैको रीत पुर्याएरै विवाह गरिदिए। सानो घरमा तीन भाइको परिवार अट्न सहज थिएन। बा-आमा त छँदै थिए।

अब परिवार छुट्टिनपर्ने भयो। अंशबण्डाको कुरा चल्यो।

घर भाग लगाउँदा एउटाको भागमा एउटा झ्याल पनि नपर्ने भयो। सबै भाइको राय एउटै निस्कियो, ‘अब घर बेच्दिउँ। आएको पैसा बाँडेर लिउँ।’ 

घर बेचियो। तीन भाइमध्येका माइला चन्द्रबहादुर छुट्टिएर बालाजुमा डेरा गरी बस्न थाले।

उनै चन्द्रबहादुका जेठा छोरा लक्ष्मीनारायणको पुर्ख्यौली घर २०७२ सालमा सडक विस्तारको क्रममा भत्काइयो। उनी अहिले घरविहीन छन्। उनकै भाषामा अहिले उनी असली सुकुम्बासीझैं छन्।

उकेराले बालाजु सडक विस्तारमा बास गुमाएकामध्ये निम्न आय भएका घरबारविहीन खोज्ने क्रममा उनै चन्द्रबहादुरका सन्तान लक्ष्मीनारायण नकर्मी भेटिए। नकर्मीको अफिस रहेछ स्वयम्भू। उनी त्यहाँ वेल्डिङको काम गर्दा रहेछन्।

हामी उनको कार्यस्थलमा पुग्यौं। लक्ष्मीनारायणले हामीलाई यसरी आफ्नो कथा सुनाए-

‘सम्पत्ति पहिलेबाटै थिएन। सानो घर थियो। बा-आमा छुट्टिएर बालाजुमा डेरा गरी बस्न आउनुभयो, ‘लक्ष्मीनारायण भन्छन्, ‘बा-आमा बालाजुमा डेरा गरी बस्दा नै २०२१ सालमा म (लक्ष्मीनारायण नकर्मी) जन्मिएँ।’ लक्ष्मीनारायण चन्द्रबहादुरका जेठो छोरा हुन्। उनका एक भाइ र एक बहिनी छन्।

‘त्यति बेला लगनटोलको घर एकोहोर्याउन सक्ने अवस्था थिएन बाको,’ लक्ष्मीनारायण भन्छन्, ‘घर बेचियो। आफ्नो भागमा आउने पैसा लिएर बाले घर छाड्नुभयो।’ 

सानो घर भएका कारण थेरै पैसा मात्र चन्द्रबहादुरको हातमा पर्यो। उनले त्यही पैसाले बालाजुमा डेरा सम्हाले।

‘जग्गा जोड्न पुग्ने पैसा हामीसँग थिएन,’ लक्ष्मीनारायणले भने, ‘हाम्रो पेसा नै फलामको काम गर्ने भएकोले बाले पनि त्यही काम गर्नुभयो। दुःखको काम, पैसा पनि खासै नहुने।’ 

लक्ष्मीनारायणलाई पेसाप्रति कुनै गुनासो छैन। गुनासो छ त केवल राज्यसँग।

‘आफ्नै टोलका मन्त्री रामवीर मानन्धरले पनि हामीलाई केही गरेनन्,’ उनी भन्छन्, ‘उनले मेरो परिवारको सबैलाई चिन्छन्। म कस्तो हैसियतको मान्छे भन्ने पनि थाहा छ उनलाई।’

लक्ष्मीनारायणले मोबाइल निकाले। केही समयअघि सहरी विकास राज्यमन्त्री मानन्धरसँग उकेराले गरेको अन्तर्वार्ताको स्क्रिन सट पढेर सुनाए, ‘बालाजु सडक विस्तार गर्दा एक टुक्रा जमिन पनि नबचेको कोही भए आउनुस्, मै घर बनाइदिन्छु। तर, छानबिनमा उहाँहरूको निजी सम्पत्ति फेला परे सरकारी कोषमा राख्नुपर्छ। कोही तयार छ ?’

मन्त्री मानन्धरले बोलेको कुराप्रति उनको गुनासो छ।‘म तयार छु। मेरो कतै सम्पत्ति भेटे राज्यले लिए हुन्छ। उहाँलाई मेरोबारे सबै थाहा छ। उहाँले मिडियामा किन झुठ बोल्नुभयो?’

लक्ष्मीनारायणले मन्त्री मानन्धरलाई भेटेर आफ्नो गुनासो सुनाएका रहेछन्।

‘मन्त्रीलाई मैले आफ्नो अवस्थाको बारेमा सबै भनेको छु। तर, उहाँले तिमीलाई मात्र गरेर हुँदैन भन्नुभयो,’ उनले थपे, ‘साँच्चै पीडामा परेकालाई त राज्यले हेर्नुपर्छ नि। मेरो सम्पत्ति कतै भए राज्यको नाममा गर्दिन्छु। होइन भने राज्यले सोझो र अनपढ भनेर कानुन नै फरक गर्न मिल्छ त?’ उनी भावुक भए।

नकर्मी परिवारले बालाजुमा करिब एक दशक डेरामा बितायो। चन्द्रबहादुरले तत्कालीन गाउँका मुखिया लगायतका स्थानीय चल्तापुर्जा व्यक्तिहरुसँग गरिबलाई बास मिलाइदिन अपिल गरे। हाल सडक विस्तार भएको पश्चिमपट्टि करिब एक आना जग्गामा २०२६ सालमा बसोबास अनुमति उनले गाउँबाट पाए।

‘२०२६ सालमा बस्न अनुमति पाइयो। अनि घर बनाउन सुरु भयो। २०२७ सालमा हामी त्यहाँ सर्यौं,’ लक्ष्मीनारायण भन्छन्, ‘मेरो विवाह पनि त्यही घरबाट भयो। २०४८ को दोस्रो नापीमा मेरो घर कित्ता नम्बर ६ मा छ। कानुनले के भन्छ, भन्दैन त म जान्दिनँ तर हामीलाई अन्याय भएको छ। त्यति जान्दछु।’

उनलाई न्याय पाउँछु भन्ने त्यति आशा छैन। तर, छोरीको भविष्यको लागि भए पनि न्याय खोज्दै हिँडिरहनुपरेको बताउँछन्।

‘मेरो पालामा त अब न्याय होला, नहोला। छोरीलाई त अन्यायमा राख्न भएन नि। पुर्खाको सम्पत्ति पो हो त,’ सन्तानका लागि भए पनि लड्नुपर्छ भन्ने लागेको छ लक्ष्मीनारायणलाई।

‘कामबाट पनि बिदा लिँदै कहिले अदालत, कहिले आन्दोलनमा हिँडिरहेको छु,’ उनले भने।

लक्ष्मीनारायणको सन्तानको रुपमा एक छोरी मात्र छिन्। अहिले परिवारमा उनीसहित आमा, बहिनी र छोरी छन्। ४ जनाको परिवारलाई नुनतेलको जोहो उनले नै गर्नुपर्छ।

‘अब उमेर पनि ढल्कदैछ। ‘राज्यले मेरै थलोमा बास दिए उपकार हुन्थ्यो ममाथि,’ उनी सुस्केरा हाल्छन्।

घर भत्काउँदा सामानसमेत निकाल्न नदिएको गुनासो छ उनको।‘कस्तो कानुन हो ? विकास गर तर मान्छेको खाइनखाई जोडेको सम्पत्तिको महत्त्व नै नबुझी विकास गरेर के फाइदा हुन्छ र राज्यलाई ?’ उनी भन्छन्। राज्यले भूमिगत शैलीमा घर भत्काएको उनलाई फिटिक्कै चित्त बुझेको छैन।

‘भत्काउने बेला सूचना पाएको भए दुःखले जोडेको सामान झिक्न पाइन्थ्यो। बासको टुंगो नै नलगाई राज्यले डोजर चलायो। भूकम्पले पनि बिगार नगरेको घर एक्कासि भत्काए,’ उनको दुखेसो छ।

लक्ष्मीनारायणले घरको क्षतिपूर्तिबापत ४ लाख रुपैयाँ बुझेका छन्। उनी भन्छन्, ‘बासै गुमेपछि त्यति पैसाको के काम।’

राज्यले यदि मुआब्जा दिएछ भने पनि त्यसले अर्थ नराख्ने उनले बताए। ‘मुआब्जाको पैसाले अन्त बास आउँदैन। आफूसँग थप्ने पैसा छैन।अनि त्यो पैसाको के अर्थ?’ उनी भन्छन्, ‘राज्य पापी हुँदो रहेछ, खबरसमेत नदिई घर भत्काइदियो। घरबास उडाउने राज्यले बास देला भन्ने के आश !’

८ चैत, २०७७, ०८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।