किशोरी भट्टको हत्यामा राजनीतिक दलको चासो, दबाबमा प्रहरी

किशोरी भट्टको हत्यामा राजनीतिक दलको चासो, दबाबमा प्रहरी

काठमाडौँ : विद्यालयबाट घर गर्दागर्दै हराएकी बैतडी चडेपानीकी भागरथी भट्टको शव फेला परेपछि नेकपाको दाहाल–नेपाल समूहका दुबै अध्यक्षले हस्ताक्षर गरेर विज्ञप्ति निकाल्दै‘शान्ति सुरक्षा दिने राज्य संयन्त्र असफल भएको’ ठोकुवा गरे।

विज्ञप्तिमा अहिलेसम्म अनुसन्धान हुन नसकेको किशोरी निर्मला पन्तको बलात्कार र हत्याको घटना उल्लेख गर्दै‘पन्तको हत्याको अनुसन्धानमा झैँ गैर जिम्मेवार नबन्न सरकारलाई आग्रह गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिएको थियो।

आइतबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको महिला विभागले विज्ञप्ति निकालेर ‘यो घटनाको अनुसन्धानमा कुनै लापरबाही नगरियोस्’ भन्दै चेतावनी नै दिइयो।

उनको बलात्कार भएको हो हैन रिर्पोट आएको छैन। तर काँग्रेसको विज्ञप्तिमा बलात्कारपछि हत्या गरिएको ठोकुवा गर्दै अनुसन्धानको निगरानीका लागि केन्द्रीय महिला विभागकी सदस्य राधिका सिंहलाई खटाइएको उल्लेख छ।

सिंहलाई‘स्थलगत अवलोकनसहित आवश्यक कार्य गर्ने’ भनिएको छ।

विवेकशील साझाले समेत यस घटनामा चासो राख्दै आइतबार विज्ञप्ति निकालेर ‘हत्या हुनुअघि बलात्कारको आशङ्का गरिएको यो घटनाको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायहरूसँग अनुरोध गरेको छ।

उसले सहरदेखि गाउँसम्म शान्ति सुरक्षा कायम गर्न र नागरिकको जीउधनको रक्षा गर्न वर्तमान सरकार पूर्णतः असफल भएको ठोकुवा गर्दै 'सम्पूर्ण नागरिक वर्ग र पार्टीका स्थानीय समितिहरूलाई भागीरथी हत्याबारे बैतडीमा स्थानीय प्रशासन तथा प्रहरीको काम कारबाहीलाई मिहिन ढङ्गबाट नियाल्न'आग्रह गरेको छ ।

भगिरथी हत्या घटनाको अनुसन्धानमा लापरबाही नगर्न काँग्रेस महिला विभागको चेतावनी

निर्मला जस्तै घटना हो ?

विद्यालयबाट एक्लै घर फर्कनेक्रममा हराएकी उनको शव शुक्रवार फेला परेको थियो। शवमा चोट पटक छ। बलात्कारपछि पोल खुल्न सक्ने भयले हत्या गरेकाे शंका गरिए पनि एकिन भइसकेकाे छैन।

किशोरी निर्मला साथीको घरबाट आफ्नो घर फर्कनेक्रममा हराएकी थिइन्। खोजी गर्दा भोलिपल्ट उखुबारीमा उनको शव फेला परेको थियो। शव परीक्षणमा उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो।

घटनालाई प्रारम्भमा स्थानीय नेताहरूले राजनीतिक रङ दिने प्रयास भएको थियो। प्रहरीले अनुसन्धानकोक्रममा दिलीपसिंह विष्टलाई पक्राउ गरेपछि निर्मलाको बलात्कार र हत्यामा शक्तिशाली व्यक्तिको संलग्नताको दाबी गर्दै उनी निर्दोष भएको दाबी गरियो।

नेपाली काँग्रेस लगायतका दलले यसलाई अती राजनीतिकरण गर्दा प्रहरी अनुसन्धान अगाडि बढ्न सकेन। अहिलेसम्म घटनामा संलग्न को हो खुल्न सकेको छैन।

किशोरी भट्टको हत्या : राजनीतिक मुद्दा बन्ने आशङ्का, एसएसपीको नेतृत्वमा अनुसन्धान

बलात्कारपछि हत्या हो ?

घटनास्थलको अवस्थाले बलात्कारपछि हत्या भएको  शंका गरिए पनि एकिन भइसकेको छैन। पोस्टमार्टम रिर्पोटपछि मात्र यो विषयमा पक्का हुनसक्छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश कुमार सिंह घटनाको प्रकृतिले भट्टको हत्या भएको हो भन्ने कुनै शङ्का नभएको तर पोस्टमार्टम रिपोर्ट नआइसकेकाले बलात्कार भएको हो या हैन भन्न सकिने अवस्था नभएको बताए।

‘शनिवारै शवको पोस्टमार्टम भइसकेको छ तर रिपोर्ट आएको छैन,’ उनले उकेरासँग भने‘ जबसम्म पोस्टमार्टम रिपोट आउँदैन तबसम्म यस्तै भएको हो भन्न सकिने अवस्था छैन।’

उनले सोमबारसम्ममा पोस्टमार्टम रिपोर्ट आउन सक्ने जानकारी दिए।

के गर्दै छ प्रहरी ?

राजनीतिक दलले घटनाप्रति चासो देखाउँदै विज्ञप्ति निकालेसँगै प्रहरी जतिसक्दो चाँडो घटनाको अभियुक्तसम्म पुग्ने प्रेसरमा देखिन्छ। राजनीतिक दलको विशेष चासोका कारण अनुसन्धानमा हुने सामान्य त्रुटी पनि ठुलो इस्यु हुनसक्ने जोखिम रहेकाले प्रदेश प्रहरी कार्यालयले एसएसपी जनक पाण्डेको कमान्डमा जिल्लामा विशेष टोली खटाइसकेको छ।

सो टोलीमा गम्भीर प्रकृतिको आपराधिक घटनाको अनुसन्धान गर्ने जिम्मेवारी भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट डिएसपी समेत संलग्न छन्।

एसएसपी सिंहका अनुसार भट्ट हत्याको आरोपमा अहिलेसम्म कसैलाई नियन्त्रणमा लिइएको छैन। अहिले जिल्लामा पुगेको टोलीले भट्ट अध्ययन गर्ने विद्यालयका शिक्षक, उनको विद्यालयका साथी  र परिचितसँग सोधपुछ गरिरहेको छ।

प्रहरीले भट्टको शवसँगै मोबाइल पनि फेला पारेको थियो। मोबाइलमा देखिएको सम्पर्क नम्बरको आधारमा समेत प्राविधिक अनुसन्धान अगाडि बढेको सिंहले बताए। 

‘अहिले हामीले बैतडीको प्रहरीलाई अनुसन्धानमा सघाइरहेका छौँ। सोमबारसम्ममा पोस्टमार्टम रिपोट पनि आउँछ। प्राविधिक अनुसन्धानले पनि केही क्लु दिन सक्छ। त्यसपछि अनुसन्धानले गति लिन सक्छ।’

 

२५ माघ, २०७७, १८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।