इजलासमा महान्यायाधिवक्ताले भने, ‘नाँई मलाई त्यही केटी चाहिन्छ’

इजलासमा महान्यायाधिवक्ताले भने, ‘नाँई मलाई त्यही केटी चाहिन्छ’

काठमाडौँ : सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीशहरू र महान्यायाधिवक्ताबिच ठट्टा चलेको छ। 

महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनविरुद्धको पक्षमा बहस गरेका कानुन व्यवसायीको 'न बिर्से तिमिलाई नपाए तिमिलाई' भन्ने बोलको गीतको प्रसङ्ग नमिलेको बताए।

अधिवक्ता गोपाल घिमिरेले रिटको पक्षबाट बहस गर्दै अन्जु पन्तको 'न बिर्से तिमिलाई' बोलको गीत गाएर संविधानमा भएको व्यवस्थालाई प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर भुलेको बताएका थिए। 

सरकारको तर्फबाट बहस गरेका महान्यायाधिवक्ता खरेलले मलाई त्यही केटी चाहिन्छ भन्ने गीत सुनाएर काउन्टर एट्याक्ट गरेका छन्। उनले गीत प्रस्तुत गरेर त्यही संविधान चाहिन्छ भन्न खोजेको तर्क गरे। 

इजलासबाट न्यायाधिशहरुले गीतको जवाफ आए पनि वरिष्ठ अधिवक्ता शम्भु थापाले गाएको सायरीको त जवाफ आएन नि भन्दै ठट्टा गरेका थिए। 

बहुमतको सरकार त चल्न सकेन, अर्को सरकार कसरी बन्छ? खरेलले इजलासमा प्रश्न गरे। उनले संसद् विघटन गर्ने संवैधानिक सिफारिस भएको दाबी समेत गरेका छन्। 

उनले भने, ‘संवैधानिक सिफारिस भएकाले राष्ट्रपतिले राय लिनु आवश्यक परेन, राष्ट्रपतिलाई व्यवस्था विपरीत जाने अधिकार हुँदैन।’

उनले प्रधानमन्त्रीले राजीनामा नदिएकाले चुनाव नभई अर्को सरकारको विकल्प नभएको जिकिर समेत प्रस्तुत गरे। उनले संसद्ले नै सरकारलाई असहयोग गरेका कारण प्रतिनिधिसभा विघटन गर्नु परेको बताए। एमसीसी सम्झौता अनुमोदन नगरेको, गाँजा खेती खुला गर्नेसम्बन्धी विधेयक लगायत विभिन्न विधेयकलाई अघि बढाउन सरकारले सहयोग नपाएको महान्यायाधिवक्ता खरेलको भनाई छ।

‘कारागार सम्बन्धी विधेयक, मदन भण्डारी प्राविधिक शिक्षालय, सङ्घीय निजामती सेवा, लोक सेवासम्बन्धी विधेयक लगायतका महत्त्वपूर्ण विधेयक कुनै वर्ष दिनदेखि, दुई वर्षसम्म देखि संसद्मा अल्झिएर बसेको छ खरेलले भने, संसद्मा ती विधेयक फेल हुन्थे वा पारित हुन्थे, त्यो अलग विषय हो तर,संसद्मा छलफलको वातावरण नै बनेन।’

२० माघ, २०७७, १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।