नागरिकताविहिन वाङको प्रश्न : चिनियाजस्तो नाम हुनु अपराध हो ? 

नागरिकताविहिन वाङको प्रश्न : चिनियाजस्तो नाम हुनु अपराध हो ? 

काठमाडौँ  : ५० वर्ष अगाडि भारतको नागाल्याण्डबाट नेपाल घुम्न आए वाङ हाउ सेन। नेपाल घुम्दाघुम्दै उनलाई आफ्नो देश फर्कनै मन लागेन। उनी यतै बसे। काठमाडौँको बागबजारमा जुत्ता पसल खोले।

दुई छोरा र दुई छोरी नेपालमै जन्मिए। कान्छा छोरा वाङ शाउईयु यतै नेपालमै बसे। प्राथमिक तह यतै पढे सबैले। समयसँगै सन्तान लाखापाखा लागे। तर शाउइसुलाई आफ्नो बुबालाई झैँ नेपाल बिछट्टै मन पर्यो। उनी यतै बसे।पद्मकन्या क्याम्पस अगाडिको पुस्तैनी पसल चलाएका बसेका उनी ४४ वर्षका भए । नेपालकै माटोमा हुर्किए। यतै पढे, यतै बढे। तर नेपाली पहिचान अझै पाएका छैनन्। 

यो देशको नागरिक हुन चाहिने सबै प्रमाण छ उनीसँग। तर स्थानीय प्रशासन जाँदा कस्तो चिनिया जस्तो नाम भन्दै शङ्काले हेरिन्छ उनलाई। उनले पेस गर्ने प्रमाणलाई शङ्काले हेरिन्छ। लामै समय भयो नेपाली नागरिकतामा आफ्नो नाम र तस्बिर टाँस्न खोजेको। तर उनको प्रयास अझै सफल भएको छैन।

‘भारतीय नागरिक हुन मलाई  कानुनले छेक्दैन तर मलाइ भारतीय बन्नु छैन,’ उनले उकेरासँग भने‘ नेपालको कानुनले पनि मलाइ नेपाली नागरिक बन्न छेक्दैन। तर खै किन हो मलाई नेपाली नागरिकतै दिँदैनन्।’

०००

२०३४ भदौ २ गते उनी तत्कालीन शान्ता भवनमा जन्मिएका हुन्। उनको परिवार बागबजार क्षेत्रमै बस्थ्यो। त्यहीको खेतको आली आली दगुरेर उनको बाल्यकाल बित्यो। कक्षा ६ सम्म यतै पढे। थप अध्ययनका लागि भारत गए र फर्किए।

अरू दाजु बहिनीहरू भारतमै बसे। उतैको नागरिक बने। उनलाई भने नेपालले नै तान्यो। नेपाल फर्किएर बुबाले सुरु गरेको जुत्ताको व्यापारमै लागे उनी।

शान्ता भवनमा जन्मिएको प्रमाण सुरक्षित छ उनीसँग तत्कालीन गृह पाञ्चायन मन्त्रालयले २०३९ पुस २३ गते उनी नेपालमै जन्मिएको प्रमाणित गर्दै जन्म दर्ताको प्रमाण पत्र पनि दिएको छ।

त्यही प्रमाण बोकेर उनी वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म। अनि गृह मन्त्रालयसम्म पनि पुगिसकेका छन्। तर कसैले पनि उनलाई कानुनले दिएको हक दिएनन्।

जहाँ गए पनि यो त चिनियाजस्तो नाम छ नेपाली नागरिकता मिल्दैन भनेर भन्ने गरेको सम्झन्छन् उनी। यो सम्झँदा निक्कै भावुक हुन्छन् उनी।

‘यो बागबजारका खेतको आलि आलि दगुरेर हुर्किएको हुँ । बाग्मतीमा पौडि खेलेर रमाएको मान्छे हुँ, उनले भने ‘ नाम मेरो पुस्तैनी हो। तर नाम चिनियाजस्तो भयो भन्दैमा अब मैले नेपाली नागरिकै बन्न नपाउने त ?

०००

पछिल्लो समय सबैभन्दा धेरै बहस र विवाद भएको विषय हो नागरिकता। नागरिकता दिने आधार के हो ? विवाह गरेर नेपाल आउने महिलालाई नागरिकता दिने कि नदिने ? आमाको नाममा नागरिकता पाउने कि नपाउने ? निक्कै बहस भयो। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न विधेयक पनि बन्यो। संसदीय समितिमा भरमार छलफल पनि भयो। तर पास भएन। पास नहुँदै संसद् विघटन भयो।

अहिले नेपाली नागरिकता दिने आधार नेपाल नागरिकता ऐन २०६३ नै हो। सो ऐन अनुसार उनले वंशजको नागरिकता पाउन सक्दैनन्। उनले जन्मको आधारमा नेपाली नागरिक हुन सक्थे।

२०७२ मा संशोधन भएको नेपाल नागरिकता ऐन २०६३ को दफा ४ मा २०६४ साल चैत मसान्तसम्म नेपालको सरहदभित्र जन्म भई नेपालमा स्थायी रूपमा बसोबास गर्दै आएको व्यक्ति जन्मको आधारमा नेपाली नागरिक हुने उल्लेख छ।

सो ऐनमा संविधान सभाको निर्वाचन हुनु अगाडि नै निवेदन दिनुपर्ने सर्त छ। यदि तोकिएको समयभित्र निवेदन दिन नसके ऐन कार्यान्वयन भएको २ वर्षभित्र पनि दिन सकिने उल्लेख छ। यो अवधि उनले गुजारिसके।

अब नागरिकता पाउन सक्ने कानुनी प्रावधान भनेको अगिंकृत नै हो। दफा पाँचको उपदफा ४ मा राखिएको प्रावधान अनुसार उनले सहजै नागरिकता पाउनुपर्ने हो।

सो उपदफामा लेखिएको योग्यतामध्ये उनी नेपाली वा नेपालमा प्रचलित भाषा बोल्न सक्छन्। उनी नेपालमै व्यवसाय गरेर बसेका छन्। भारतीय नागरिकता लिएका छैनन्। १५ वर्ष नेपालमा बसेका छन्। कुनै आपराधिक रेकर्ड छैन। चालचलन असलै छ। अनि मानसिक रुपले स्वस्थ नै छन्।

यति धेरै योग्यता मिल्ने भए पनि उनले नेपाली नागरिकता पाउन भने सकेका छैनन्।

०००

उनी जहाँ जहाँ नागरिकता बनाउन पुगे त्यहाँ कतिले मिल्दैन नाम नेपाली जस्तो राखेर आउँ भने त कहिले सिधै पैसा मागे। उनको दाबी अनुसार सात लाख रुपैंयासम्म मागे रे सरकारी अधिकारीले नागरिकता बनाइदिन।

‘सात लाख लेउ नागरिकता बनिहाल्छ भन्छन्,’ उनले भने‘ कानुनले माग्ने सबै प्रमाण छ मसँग। अनि कसरी नागरिकता किन्नु म ? पैसा ठुलो कुरा भएन। तर किनेको राष्ट्रियताले मनपोल्छ।’

उनी नेपालमा बसेका हुन् भन्ने प्रमाण जुटाउन साक्षी टन्नै छन् बागबजार क्षेत्रमा। उनी नेपालमा पढेको विद्यालयको प्रमाण पनि छ। खेलेका साथीहरू त्यही छन्। जन्मदर्तादेखि सबै प्रमाण छ। तर खै उनको नागरिकताको फाइलै अगाडि बढ्दैन।

‘म यो देशमा हुर्किए, मेरो साथी भाइ यही छ , मैले ६ कक्षा सम्म पढेको यहि हुँ । मलाइ यहीको माटोको गन्ध मन पर्छ त म किन जाने अन्त ? ’ उनले भने‘ मलाइ नेपालको नागरिक हुनुछ । राज्यलाई कर तिरेको छु, यही बसेको छु । म सँग आवश्यक सबै प्रमाण छ तर मलाइ नागरिक बन्न किन दिँदैन राज्यले ?’

०००

सबैतिर धाउँदा नागरिकता दिन नसक्ने कारण उनको नामै बताउँछन् रे। उनको जन्मदर्ताहुँदा बाबुआमाले जे नाम राखिदिए त्यही त हो उनको पहिचान। उनको बाबुआमाले शुउईयु नाम राखिदिए। 

नागरिकता बनाउन जब उनी ती प्रमाणहरू बोकेर जान्छन् तब नाम चाइनिज भयो दर्ता हुँदैन’ भनेर फर्काइदिन्छन्।

‘राम, श्याम, हरि नाम हुँदैमा मात्र नेपाली हुने त होइन नि । आफू जन्मिएको देशको अनागरिक भएर बस्नुपर्दा कस्तो पिडा हुन्छ बुझिदिने कसले?’ उनले भने।

०००

दुई छोरीका पिता भइसके शुउईयु। आफू नागरिकताहिनहुँदा छोरीको भविष्यप्रति चिन्तित छन् उनी। 

उनको विवाह चिनिँयामुलकी भारतीय महिलासँग भयो। यस्तै ताल हो भने छोरीहरू परिचयहीन भएर भविष्य नै अन्धकार हुने डरले श्रीमतीले भारतीय नागरिकता बनाइन्। उनी भने नेपाली नागरिकता कुरेर बसेका छन्। उनलाई सधैँ देशविहीन छु भन्ने भावनाले निक्कै पोल्ने रहेछ। 

उनका आफन्तहरूले भारतीय परिचय पत्र बनाउन उनलाई कर गरेको गर्यै गर्छन् रे। उता परिचय पत्र बनाउन मनले मान्दैन उनको। कानुन अनुसार योग्य छु किन नागरिक पाउँदिन भन्ने गुनासोको पोको बोकेर हिँडिरहेका छन् उनी।

‘बच्चालाई पढाउनदेखि बाइक चढ्न समेत समस्या छ ,’  उनी थप्छन् ‘ नागरिकता नहुँदा कानुनी रूपमा केही पनि पहिचान छैन मेरो। मलाई पहिचान कसले दिन्छ ?’ उनले भने।

पहिचानहीन भएर बस्नुपरे पनि नेपाल छाड्न उनको मनले मान्दैन। व्यापार गरेर केही धनको जोहो गरेका छन्। त्यो बोकेर भारततिर जान उनलाई कुनै गाह्रो पनि छैन। तर खै किन हो मनले मान्दै मान्दैन रे।

‘म यही जन्मिए, यही हुर्किए। बुझेको समाज यही नेपाली नै हो। साथीभाइ भनेको नेपाली नै हुन्,’ उनले भने‘ अब यो उमेरमा नयाँ समाज र परिवेशमा म कसरी जाऊँ ?’ उनले भने।

कतिले उनलाई किन काठमाडौँबाट नागरिकता बनाउनुपर्यो ? गाउँतिर जाऊँ बन्छ पनि भन्ने रहेछन्। केही पैसा खर्च गरे नागरिकता बनिहाल्छ भन्ने रहेछन्। तर उनलाई मन रहेनछ अन्तबाट नागरिकता बनाउन।

‘जसरी म बागबजार र काठमाडौँको ३०–४० वर्ष अघिको रुपरङबारे भन्न सक्छु गाउँबारे सक्दिन नि,’ उनले भने‘ म कसरी झुटो बोलौँ ?’ फेरी प्रश्नै गरे।

उनलाई धेरैले नागरिकता बनाइदिने आश्वासन दिए। उनको पसलका ग्राहकमध्ये सरकारी उच्च तहका पनि रहेछन्। केहीले नागरिकता बनाइदिन्छु पनि भनेका रहेछन्। उनी हौसिन्छन्। जब फाइला च्यापेर गयो। पैसा खर्च हुन्छ भनेपछि उनको मन मर्ने रहेछ।

‘पैसा दिए चैँ पाइने, पैसा नदिए नपाइने कस्तो नागरिक हो ?’ उनले भने‘ पैसा तिरेर पाएको पहिचान बोक्न मनले नै मान्दैन। अब म के गरूँ ?’

२० माघ, २०७७, ०८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।