गर्भवती प्रेमिकाको हत्या गर्ने फरार कैदीको कथा: प्रहरीलाई यौनकर्मीसँग कोठामा पठाए, आफू मोटरसाइकल लिएर भागे

गर्भवती प्रेमिकाको हत्या गर्ने फरार कैदीको कथा: प्रहरीलाई यौनकर्मीसँग कोठामा पठाए, आफू मोटरसाइकल लिएर भागे

काठमाडौँ : राजपुर गाउँपालिकाका २९ वर्षीय यामराज परियार  र दागंको सत्बरिया गाविस–५ निवासी २२ वर्षीया हेमा चौधरी प्रेममा थिए। हेमा गर्भवती भइन्। अनि यामराजको व्यवहार बदलिन थाल्यो। एकाएक २०७१ जेठ २२ मा उनी घरबाट हराइन्।

उनको र परियारबिचको प्रेम सम्बन्ध धेरैसँग लुकेको विषय थिएन। शङ्कामा परे उनी नै। तर उनले हेमा हराएकोबारे केही जानकारी नभएको भन्दै बहाना बनाए। २०७१ साउन ४ गते प्रहरीले उनलाई पक्राउ गर्यो। तर उनले हेमाबारे केही जानकारी दिएनन्। जब उनको साथी शिवप्रसाद चौधरी पनि पक्राउ परे अनि बल्ल घटना खुल्यो।

हेमा गर्भवती भएपछि यामराजलाई त्यो बच्चा आफ्नो हैन भन्ने लागेको रहेछ। हेमाले विवाह गर्न दबाब बढाएपछि उनले हत्याको योजना बनाएको खुल्यो। अनुसन्धानमा यामराज र शिवप्रसादले हेमालाई मोटरसाइकलको बिचमा राखेर साबिक सतबरिया–९ सिमपाखापानी जङ्गलमा लगेर हत्या गरेको खुल्यो।

उनीहरूले पहिला स्प्रे सुँघाएर हेमालाई बेहोस बनाउने प्रयास गरेका थिए। तर उनी अर्थ बेहोस मात्र भएपछि उनीहरूले हेमाकै सलले घाँटी बेरेर हत्या गरेको देखियो। हत्यापछि उनीहरूले सिमपाखापानी जङ्गलको बखेरी खोला किनारमा खाल्डो खनेर शव गाँडेको खुलेपछि प्रहरीले उनीहरूलाई लिएर घटनास्थल गयो। खन्दा हेमाको हाडखोर मात्र फेला परेको थियो।

पक्राउताका परियार र चौधरी

घटनास्थलमा फेला परेको ६ वटा बङ्गारा र  नलीको हड्डीको परीक्षणमा सो अवशेष हेमाकै भएको पुष्टि भएको थियो। हेमाले प्रयोग गर्ने मोबाइल शिवप्रसाद चौधरीले आफ्नो श्रीमतीलाई दिएका थिए। भदौ ३ गते दाङ देउखुरी जिल्ला अदालतले परियार र शिवलाई २० वर्ष कैद हुने फैसला सुनायो। उनी घोराही कारागारमा पुगे।

प्रहरीलाई लोभ्याएर फरार

गम्भीर अपराध पुष्टि भएको र आधा सजाय नकाटेकालाई नाइके बनाउन नपाइने कारागारको नियम भए पनि उनी सात वर्ष कारागारमा बसेकै आधारमा जेल नाइके भइसकेका थिए। जेल नाइकेको जिम्मेवारी जेलभित्रको प्रशासन मिलाउने, जेलभित्र पसल अनि भान्छा चलाउने हुन्छ।

जेल व्यवस्थापनमा जेल प्रशासनलाई सघाए बापत कैद कट्टा त हुन्छ नै आन्तरिक खरिदमा अतिरिक्त आम्दानी समेत हुन्छ। नाइके भएपछि आवश्यकता अनुसार कारागार बाहिर निस्कने सुविधा समेत हुने भएकाले नै गम्भीर अपराधमा दोषी प्रमाणित भएका र तोकिएको सजाय आधा नकाटेका भाग्न सक्ने आशङ्काले नाइके बनाइँदैन।

तर उनले जेल प्रशासनलाई प्रभावमा पारेर नाइके भए नै। नाइकेको सुविधा अनुसार उनी जेल प्रशासन र प्रहरीलाई प्रभावमा पारेर कारागार बाहिर निस्कने र होटेलमा गएर यौन ब्यवसायीहरुसँग बस्ने गरेको उनी फरार भएपछिको प्रहरी अनुसन्धानमा देखिएको छ।

यौनकर्मीसँगै प्रहरी कोठामा उनी फरार

पुस ८ गते उनी छाला सम्बन्धी समस्या आएको भन्दै अस्पतालका लागि बिहान ११ बजे निस्किएका थिए। बिदामा बसेका जेलर युवराज परियार जेलमा आएर उनलाई अस्पताल लैजाने अनुमति दिए।

उनको अनुमतिका आधारमा कारागारका प्रहरी सहायक निरीक्षक रुद्रसिंह ठकुरीले सामान्य सुरक्षा समेत नअपनाई प्रहरी जवान धनबहादुर चौधरीलाई मोटरसाइकलमा राखेर लैजान निर्देशन दिए। निर्देशन अनुसार उनी लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा परियारलाई लिएर कारागारबाट निस्किए।

कारागारबाट निस्कँदा उनले अर्को सहयोगी प्रहरीलाई साथमा लिएनन् नै हतकडी समेत लगाइदिएनन्। यसले यसभन्दा अगाडि पनि उनी यसरी नै कारागारबाट निस्केर बाहिर डुलेर कारागार फर्किने गरेको र उनको व्यवहारबाट प्रहरी अब भाग्दैन भन्नेमा विश्वस्त बनाएको देखिन्छ।

प्रहरी हिरासतमा रहेका जेलर परियार र कारागार कार्यालय

उनीहरू अस्पताल जानुको साटो घोराही होटेल प्याराडाइजमा गए। त्यहाँ गएर खाजा खाँदै गर्दा अन्य २ युवती पनि आए। युवतीहरू परियार र प्रहरी जवान चौधरीका लागि आएका थिए। उनीहरू त्यहाँबाट ‘थकाली भान्छा घर एन्ड लज’मा गए। होटेल बाहिर मोटरसाइकल थियो। चाबी परियारले लिएका थिए।

परियारले होटेलको २ वटा कोठा बुक गरे। एउटा कोठामा आफू युवतीसहित गए भने अर्को कोठामा चौधरी युवती लिएर गए। केही समयपछि जब चौधरी  र मोटरसाइकल दुवै देखेनन् तब मात्र उनी भागेको खुल्यो।

परियार भागे पनि पहिला उनले आफैँ खोजेझैँ गरेका थिए। तर फेला नपरेपछि ४ बजितर मात्रै जेलमा खबर गरे। उनले अस्पतालमा परीक्षण गरेर बाहिर निस्कनेबेलामा छक्क्याएर परियार भागेको दाबी गरेका थिए।

सिसिटिभीले खुल्यो पोल

प्रहरीले परियारलाई खोज्न सुरु गरेसँगै प्रहरी जवान चौधरीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको थियो। उनले पुरानै कुरा दोहोर्याइरहे। प्रहरीकै मोटरसाइकल लिएर कैदी भागेको सूचना प्रहरी प्रधान कार्यालयसम्म आइपुगेपछि प्रहरीले छानबिन समिति गठन गर्यो।

समितिले छानबिन गर्दै जाँदा चौधरी र परियार अस्पतालै नगएको खुल्यो। उनीहरू गएको स्थान वरिपरि अनुसन्धान गर्दा एक स्थानमा सिसिटिभी जडान भएको खुल्यो। त्यहाँबाट फुटेज निकालेर हेर्दा चौधरीले ढाँटेको पुष्टि भयो। उनीहरू रेस्टुरेन्टमा गएको देखि होटेलसम्म पुगेको अनि परियार मोटरसाइकल लिएर भागेको सम्मको फुटेज फेला परेपछि चौधरीले सबै घटनाक्रम खुलाएका थिए।

जेल प्रशासन र जेलका सुरक्षाकर्मीको भूमिका समेत शङ्कास्पद देखिएपछि प्रहरीले परियारलाई भगाएको आरोपमा प्रहरी जवान चौधरीसँगै ७ जनालाई पक्राउ गर्यो।

अहिले जेलर युवराज परियारसँगै कारागारका प्रहरी सहायक निरीक्षक रुद्रसिंह ठकुरी, प्रहरी हबलदार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, घोराही र तुलसीपुरका २ युवती अनि  होटेलका सञ्चालक सौजन्य खनाल छन्।

जेलर परियार ६ पुसदेखि १३ पुससम्म घर विद्यामा बसेको बेलामा पनि कैदीलाई अस्पताल लैजान अनुमति दिएको , अस्पताल लैजाने जिम्मा पाएका प्रहरी जवान धनबहादुर चौधरीले उनलाई अस्पताल नलगी होटेलमा लगेर सुरक्षामा लापरबाही गरेको र अन्य प्रहरीले सुरक्षा प्रबन्ध नगरी कैदीलाई बाहिर पठाएको आरोप छ। २ युवती र होटेल सञ्चालकलाई कैदीलाई भगाउन सघाएको आरोपमा अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजाल परियारको खोजी भइरहे पनि फेला नपरेको बताउँछन्। ‘कैदी भगाउन सहयोग गर्ने सात जनालाई पक्राउ गरेका छौ’,रिजालले भने,‘टोली परिचालन गरेर फरार कैदीको खोजी भइरहेको छ, छिट्टै फेला पार्छौँ।’

१५ पुस, २०७८, १९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।