कैलालीको विभत्स हत्याको कल रेकर्ड : एक झापड हान्दा घाँटी अलग, शरीर अलग

कैलालीको विभत्स हत्याको कल रेकर्ड : एक झापड हान्दा घाँटी अलग, शरीर अलग

धनगढी : कैलालीको सामुदायिक वनमा विभत्स रूपमा हत्या गरिएका २५ वर्षिय अरुण दासको हत्याको अनुसन्धानको क्रममा प्रहरीले एक मोबाइल कल फेला पारेको छ। एक स्थानीय युवासँग दासको हत्यामा संलग्नहरूले गरेको कल रेकर्ड कैलालीले फेला पारेको हो।

प्रहरीले शनिबार बेलुका जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय दासको शव फेला पारेको थियो।

रुखमा बाँधेर टाउको छिनालेको अवस्थामा उनको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार दास शनिबार बिहान साथीसँग जान्छु भनेर घरबाट निस्केका थिए।

अधिकारीका अनुसार दासको शव रुखमा बाँधेर नग्न अवस्थामा फेला परेको थियो। उनको शव फेला परे लगत्तै कल बाहिरिएको थियो। जसमा मनोज नाम गरेका व्यक्तिले एक झापड हान्दा घाँटी अलग, शरीर अलग पारिदिएको बताएका छन्।

'कन्नु भाइ भेट्यो भने हानौंला। एक झापड हान्दा घाँटी अलग छ शरीर अलग छ,' कलमा मनोजले भनेका छन्।

कलमा अर्को एक व्यक्तिको नाम लिइएको छ बम्बई। मनोज नाम गरेका व्यक्तिले 'बम्बईलाई कसैले छोयो भने पनि घरमा आएर खुकुरी हान्छु' भनेका छन्।

'हामी सब केटाहरू बैंङलोर हिँडिसके। हामी रुपैडिया पुगिसक्यो। कन्नुको घाँटीमा हानिसक्यो। कन्नुदाईसँग मेरो त्यस्तो केही छैन। हल्का डिस्कस भयो। जसका लागि उडाएको हो। घाँटी अलग, शरीर अलग।'

यताबाट फोन गर्नेले सोध्छन् 'झ्यापमा छौ कि क्या हो?'

 

उनीहरूले भन्छन्' झ्याप हो कि के हो एक दुई दिनमा गाउँमा हल्ला भइहाल्छ नि।'

बक्स उडाउनेलाई उडाइदियौँ कि के भन्ने जिज्ञासामा उनीहरूले हो भन्दै भन्छन्' बोर्डर पारी छ हामी रुपैंडिया।'

यताबाट कल गर्नेले मार्छौकी क्या हो भन्दा उनीहरूले मारिसक्यो, जिउँ अलग, घाँटी अलग भन्छन्। प्रहरीले घटनामा संलग्नहरूको खोजी गरिरहेको बताएको छ। सो कल रेकर्ड अनुसार हत्यामा संलग्नहरू भागेर भारत पुगिसकेको देखिन्छ।

४ पुस, २०७८, १४:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।