बदनाम खेलाडी विजयको 'आश्चर्यजनक ' पराजय

बदनाम खेलाडी विजयको 'आश्चर्यजनक ' पराजय

काठमाडौँ : नेपाली राजनीतिका बदनाम खेलाडी विजयकुमार गच्छदार पार्टी उपसभापतिमा पराजित भएका छन्। १३ औँ महाधिवेशनपछि नेपाली कांग्रेसमा फर्किएर उपसभापति भएका उनी १४ औँ महाधिवेशनमा पराजित भए। उनले ४६ सय ७९ मतमध्ये १९०६ मत ल्याएर पराजित भए। पराजय पनि पुरै चुकचुक हुने गरी। जम्मा २ मतको अन्तरले।

उनी पराजित हुँदा शेखर कोइराला प्यानलबाट उपसभापतिको उम्मेदवार बनेका धनराज गुरुङले जिते। सधैँ सत्ता राजनीतिमा मरिहत्ते गर्ने उनी जति पटक सरकारमा गए बदनाम मात्रै भए। पछिल्लो समय गुन्डा नाइके गणेश लामालाई मुख्य सहयोगी बनाउँदै पार्टीको शक्तिमा फर्कन उनले शेरबहादुर देउवालाई साथ दिँदै आफू उपसभापति र लामालाई केन्द्रीय सदस्यको उम्मेदवार बनाएका थिए।

लामो समय काङ्ग्रेसबाट राजनीतिमा सक्रिय उनी राजनीतिको हावा जता बग्यो त्यतै गएर फाइदा लिन माहिर छन्।  २०६४ को संविधान सभाको निर्वाचनमा आफूले सिफारिस गरेकाहरूले टिकट नपाएपछि उनी मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए। फोरम टुक्रा-टुक्रा भएर कमजोर भएपछि उनले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेका थिए।

२०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धन भएपछि उनी पुन काङ्ग्रेसमै फर्किएर उपसभापति भए। २०७४ असोज २९ मा फोरम लोकतान्त्रिक र काङ्ग्रेसबिच एकता भएपछि उनी उपसभापति र संसद्को उपनेता भएका थिए। बिचमा रामचन्द्र पौडेल उभिएर देउवाले हात मिलाउँदै उनलाई पार्टीमा भित्र्याएका थिए।

कांग्रेसमा आफ्नो कमजोर उपस्थितिबारे उनी जानकार थिए। अवस्था बदल्न महाधिवेशन प्रतिनिधिहरू समक्ष आफ्नो अजेण्डा राख्न उनले पार्टीको १४ औँ महाधिवेशनको मञ्च पाए पनि अधिकांश समय आफू कांग्रेसमा किन फर्किएको भन्ने प्रस्टीकरणमै बिताएका थिए।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा चलिरहे पनि उनी कांग्रेस पार्टीमा पुन सक्रिय हुने प्रयास गरिरहेका थिए। लामो समय अदालतमा हाजिर नभएका उनी प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भए लगत्तै अदालतमा हाजिर भएर धरौटीमा रिहा भएका थिए। यसले उनलाई पार्टीमा कमजोर बनाए पनि देउवाको साथले राम्रो मत पाए। तर झिनै मतले भए पनि पराजित भए।

निरन्तर सत्तामा

२०२६ सालदेखि नेपाली काङ्ग्रेसबाट राजनीतिमा सक्रिय रहेका उनी उपप्रधानमन्त्री समेत भए। उनको प्रभाव क्षेत्र मोरगं र सुनसरी हो। निर्वाचन क्षेत्रमा भने उनको राम्रो प्रभाव देखिन्छ। २०७४ को निर्वाचनमा कांग्रेस निकै कमजोर हुँदा पनि उनले सुनसरी ३ मा भगवती चौधरीलाई हराएका थिए। तर निर्वाचन परिणाम भने विवादित भएको थियो।

प्राय सरकारमा सहभागी हुँदा उनले कि गृह कि भौतिक योजना मन्त्रालय माग्ने गरेका थिए। उनी जुन मन्त्रालयको नेतृत्वमा गए बदनाम मात्र भए।

उनी २०४८ बाटै निरन्तर सत्तामा रहे। उनी अहिलेसम्म १२ पटक मन्त्री र चार पटक उपप्रधानमन्त्री भइसकेका छन्। उनी २०४८ मा सञ्चार राज्यमन्त्री, २०५२ निर्माण तथा यातायात मन्त्री, २०५४ निर्माण तथा यातायात मन्त्री, २०५५ निर्माण तथा यातायात मन्त्री, २०५६ पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए।

त्यसै गरी २०५६ मा जलस्रोत मन्त्री, २०५८ मा पुन जलस्रोत मन्त्री, २०६५ मा भौतिक योजना तथा निर्माण मन्त्री, २०६६ मा उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री, २०६८ मा उपप्रधान तथा गृहमन्त्री, २०७२ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री र २०७४ मा उपप्रधान तथा स्थानीय विकास मन्त्री भएका थिए।

२९ मंसिर, २०७८, ०२:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।