सुदूरपश्चिममा सकियो मतदान, भोट हाल्न आएनन् देउवा दम्पती

सुदूरपश्चिममा सकियो मतदान, भोट हाल्न आएनन् देउवा दम्पती

धनगढी : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश कार्यसमिति चयनका लागि भएको निर्वाचनमा मतदान प्रक्रिया सकिएको छ। बिहान साढे ९ बजेबाट सुरु भएको मतदान बेलुकी ४ : ३० सम्म चलेको थियो।

कुल १ हजार २२ मध्ये १ हजार २ मत खसेको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले जानकारी दिए।

‘शान्तिपूर्ण तवरले मतदान प्रक्रिया सम्पन्न गरेका छौँ। अहिले मत पेटिका सङ्कलनको काम हुँदै छ। हामी जतिसक्दो चाँडो मतगणना गर्ने सुरसारमा छौँ,’निर्वाचन अधिकृत जेठाराले भने।

मतदान गर्न प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा भने मतदान स्थलमा आएनन्। देउवा दम्पती गृह जिल्ला डडेलधुराबाट महाधिवेशन प्रतिनिधि चुनिएका थिए।

प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका छन्। संस्थापन पक्षबाट प्रदेश सभापतिमा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वीरबहादुर बलायर र इतर पक्षबाट कैलाली पूर्व सभापति नारायणदत्त मिश्र प्यानल सहित चुनावी मैदानमा छन्।

संस्थापन पक्षबाटै प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह र अछामका मेघराज खड्का तथा सह महामन्त्रीमा कञ्चनपुरका चिन्तामणि भट्ट,गोपाल भट्ट र अछामका अम्बिका चलाउने उम्मेदवार हुन्।

इतर पक्षबाट सभापतिमा उम्मेदवारी दिएका मिश्रसँगै उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सह महामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारी छन्।

सुदूरपश्चिममा ५७ पदका लागि एक सय ८८ जनाले उम्मेदवार छन्।

१८ मंसिर, २०७८, १७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।