देउवाको गृह प्रदेशमा कसले मार्ला बाजी ?

देउवाको गृह प्रदेशमा कसले मार्ला बाजी ?

धनगढी : सुदूरपश्चिम प्रदेशको धनगढीमा नेपाली कांग्रेसको प्रदेश अधिवेशन भइरहेको छ। प्रदेश सभापति, दुई उपसभापति, २ महामन्त्री र महिलासहित तीन सहमहामन्त्री र सदस्यहरु चयनका लागि मतदान हुँदैछ। शुक्रबार उम्मेदवारको मनोनयन भएको थियो। 

प्रदेश निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा तीन जना निर्विरोध निर्वाचित भएका छन्। कैलालीबाट पुष्पा भट्ट, डडेलधुराबाट तिलक राज जोशी र निर्मला बोगटी विष्ट निर्विरोध चयन भएका छन्। प्रधानमन्त्री एवं पाटी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराबाट प्रदेश समितिमा दुई जना निर्विरोध भएका छन्।

उम्मेदवारहरूको मनोनयन दर्तामा भूगोल सदस्यमा बढी उम्मेदवारी नपरेकाले उनीहरू निर्विरोध भएका निर्वाचन अधिकृत वीरबहादुर जेठाराले जानकारी दिए।

देशमा सङ्घीयता लागु भएपछि नेपाली कांग्रेसको यो पहिलो प्रदेश अधिवेशन हो। २०७४ सालमा सङ्घ, केन्द्र र स्थानीय तहको चुनाव भएर सङ्घीयता कार्यान्वयनको पहिलो अभ्यास भने भइसकेको छ। 

कांग्रेसले २०७५ सालमा पार्टीको विधान नवौ संशोधन मार्फत प्रादेशिक समिति गठनको व्यवस्था गरेको थियो।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसले सर्वसम्मत सभापति चयन गर्न खोजे पनि लोकतान्त्रिक अभ्यास अन्तर्गत मतदान हुने भएको हो। सहमतिमा नेतृत्व चयन हुन नसकेपछि संस्थापन र संस्थापनइतर समूहको प्यानलले आआफ्नो पक्षमा भोट मागिरहेका छन्।

सभापतिमा उम्मेदवारी दिएका वीरबहादुर बलायर कांग्रेस केन्द्रीय सदस्य र केन्द्र सरकारको मन्त्री भइसकेका उम्मेदवार हुन् भने प्रतिस्पर्धी नारायणदत्त मिश्र कैलाली कांग्रेसका पूर्वसभापति हुन्। बलायरको प्यानलमा उपसभापति कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्री कैलालीका नरनारायण शाह र अछामका मेघराज खड्का तथा सहमहामन्त्री कञ्चनपुरका चिन्तामणि भट्ट, गोपाल भट्ट र अछामकी अम्बिका चलाउने छन्।

मिश्रको प्यानलमा उपसभापति कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्री बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही तथा सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त, बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारी छन्। 

सभापतिमा उम्मेदवारी दिएपछि बलायरले कम्युनिष्टविरुद्ध लड्न र कांग्रेसलाई एक ढिक्का बनाउन उम्मेदवारी दिएको बताए। ‘म प्रदेशको नेतृत्व गर्न सक्षम छु। सङ्गठनलाई मजबुत पारेर प्रदेशमा पनि पहिलो पाटी बनाउन मलाइ मतदान गर्नुपर्छ’,बलायरले भने,’जित निश्चित छ।’

प्रत्याशी मिश्रले पनि विजय आफ्नै हुने दाबी गरेका छन्। ‘नेता–कार्यकर्ताको सुझाव सल्लाह अनुसार उम्मेदवारी दिएको हुँ। उहाँहरूले मलाई मतदान गर्नुहुन्छ,’मिश्रले भने,‘मैले पाटीलाई सङ्गठित बनाएर जनतामाझ चुनावमा लग्ने छु।’

कांग्रेसको प्रदेश समिति चयन गर्न १ हजार २२ प्रतिनिधिले मतदान गर्दै छन्। निर्वाचन अधिकृत वीरबहादुर जेठाराका अनुसार सुदूरपश्चिममा ५७ पदका लागि एक सय ८८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

एक सभापति पदका लागि दुई जना, दुई उपसभापति पदका लागि ७ जना, दुई महामन्त्री पदका लागि ४ जना, सहमहामन्त्री २ खुलामा ७ जना र १ महिलामा ४ जनाले उम्मेदवारी दिएका छन्।

१८ मंसिर, २०७८, ११:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।