सुदूरपश्चिममा 'ड्रागन फ्रुट' भित्र्याएका वली : युट्युब हेरेर सिकेको खेतीबाट हुँदैछन् मालामाल

सुदूरपश्चिममा 'ड्रागन फ्रुट' भित्र्याएका वली :  युट्युब हेरेर सिकेको खेतीबाट हुँदैछन् मालामाल

धनगढी : कञ्चनपुरका गोकर्णबहादुर वली सुदूरपश्चिममा ड्रागन फ्रुटको खेती गर्ने पहिलो किसान हुन्। उनले कैलालीको गोदावरी नगरपालिका तेघरीमा डेढ बिगा जग्गा भाडामा लिएर एक वर्षदेखि यो खेती गरिरहेका छन्।

वलीबाट प्रेरित भएर अहिले सुदूरपश्चिमका विभिन्न स्थानमा अरुले पनि ड्रागन खेती गर्न थालेका छन्।

अमेरिका, मेक्सिको र दक्षिण अमेरिकी देशहरूमा गरिने सिउँडी प्रजातिको यो फलको खेती केही वर्षयता नेपालमा पनि व्यावसायिक रूपमा सुरु भएको छ। 

यसरी भयो सुरुवात 
युट्युब हेरेर वलीले ड्रागन फ्रुटको बारेमा बुझे। यो नयाँ फलबाट मनग्ये आम्दानी हुने थाहा पाएपछि उनले खेती गर्ने सोच बनाए। तर, खेती कसरी गर्ने भन्नेबारे जानकारी थिएन।

वली भारतका डा. विजय शर्मासँग जोडिए। शर्माले वलीलाई आफ्नो फर्ममा घुमाएर त्यसको बारेमा जानकारी दिए। उनको सल्लाहमा नै वलीले अत्तरियाको तेघरीमा जग्गा भाडामा लिएर २०७७ साउनबाट व्यावसायिक रूपमै खेती सुरु गरे। 

‘मैले सुरुवाती चरणदेखि अहिले सिंचाइसम्म ३२ लाख लगानी गरेको छु। दुई जनालाई रोजगारी पनि दिइरहेको छु,’ वलीले भने, ‘अहिले हेर्न र किन्न भनेर धेरै आउनुहुन्छ। सबैलाई यो खेतीको बारेमा जानकारी दिएर पठाउने गरेको छु।’

लगाएको १८ महिनापछि ड्रागन फ्रुटको उत्पादन सुरु हुन्छ। ३ वर्षसम्म कुर्ने हो भने राम्रो उत्पादन दिन्छ। तर वलीको बारीमा भने एक वर्षमै फलेपछि उनले ५ क्युन्टल बिक्री गरिसकेका छन्। 

‘२०७७ साउनमा लगाएको थिएँ। केही बोटमा एक वर्ष नपुग्दै फल्न सुरु ग¥यो। खास उत्पादन हुनुपर्ने १८ महिनापछि हो। बोटमा अलिअलि फल्यो हामीले प्रतिकेजी ६ सयका दरले ५ क्युन्टल बिक्री गरिसकेका छौँ,’ उनले भने, ‘ड्रागनका बिरुवा हुर्किँदै गएका छन्। २०७९ असारमा पूर्ण रूपमा फल दिइसक्छन्।’ नेपालमा ड्रागन फ्रुुट ६ सयदेखि ८ सयसम्म प्रतिकेजी बिक्री भइरहेको उनले बताए। 

खेती विस्तारका लागि दाङ र सिन्धुलीबाट बिरुवा ल्याएका वलीले डेढ बिगा जग्गामा ३ हजार ५ सय बिरुवा रोपेका छन्। ड्रागन खेतीभित्र अन्तर बाली लगाएका ओलीले जग्गा भाडा अन्तरबालीबाट नै तिर्ने गरेका छन्।

‘अन्तरबालीका रूपमा भिन्डी लगाएका थियौं। ८० हजारको भिन्डी बेचेका थियौं, अहिले लसुन लगाएका छौं। डेढ बिघा जग्गाको ५० हजार वार्षिक भाडा तिर्नुपर्छ। यो अन्तरबालीबाटै पुग्छ। ड्रागन फ्रुट जति बिक्री हुन्छ। त्यो सबै आम्दानी हुन्छ।’

आगामी वर्षका लागि ५ हजार ड्रागनको बिरुवा उत्पादन गर्ने लक्ष्य उनको छ। ‘अहिले रोपेको बोटबाटै नयाँ बिरुवा उत्पादन गर्न सकिन्छ। एउटा बिरुवाको हाँगाबाट १ देखि २ बिरुवा उत्पादन गर्न सकिन्छ। हामी २ सय ५० देखि साढे ४ सयसम्ममा ड्रागनको बिरुवा बिक्री गर्छाैँ’, उनले भने।

६ लाख अनुदान र प्रोत्साहन
सुदूरपश्चिम प्रदेशमै पहिलो पटक स्थापना भएको गोदावरी डा«गन फुटलाई प्रदेश सरकार अन्तर्गतको कृषि विकास निर्देशनालय डोटीले ५ लाख रकम अनुदान दिएको छ।

‘म डा«गन खेती गर्छु भन्दै उहाँ हामी कहाँ आउनुभयो। हाम्रो टोलीले निरीक्षण ग¥यो। सबै ठिक देखेपछि अनुमान दिएका हौँ,’ कृषि विकास निर्देशक यज्ञराज जोशीले भने।

सबैले आफ्नो बारीमा ८/१० ओटा बिरुवा लगाउँदा उत्पादित फलले बालबालिकालाई पोषण पुग्छ,’ जोशीले भने, ‘कुनै पनि प्राविधिक सल्लाह र सहयोग आवश्यक परेमा कृषि विकास निर्देशनालय वा मातहतका कार्यालयमा सम्पर्क राख्न अनुरोध गर्छु।’

३ मंसिर, २०७८, १२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।