भुपेन्द्र बडुवाल हत्या प्रकरण : घटना रहस्यमै, मुख्य अभियुक्त अझै फरार

भुपेन्द्र बडुवाल हत्या प्रकरण : घटना रहस्यमै, मुख्य अभियुक्त अझै फरार

धनगढी : कैलालीको लम्किचुहा नगरपालिका-१ का भुपेन्द्र बडुवाल र उनका साथी दीपेश न्यौपाने गत मंगलबार दिउँसो सँगै थिए। साँझ भुपेन्द्रको घरमा खाना खाएर दुवै जना आमालाई अर्को घरमा सुत्न जान्छौं भन्दै निस्किए।   

तर, आमासँग भनेजस्तो उनीहरू भुपेन्द्रको अर्को घरमा नगएर नजिकै रहेको आस्था होटेलतिर गए। भुपेन्द्रको मोबाइलमा अर्का साथी कपिल श्रेष्ठले बारम्बार फोन गरिरहेका थिए। 

दीपेशका अनुसार कपिलले आफू समस्यामा परेकाले आफ्नो उद्धारको लागि टीकापुर आउन भनिरहेका थिए। लम्कीबाट भुपेन्द्र र दीपेश कपिलको उद्धारको लागि हिँडे। तर, टीकापुरमा कपिलले भनेको ‘लोकेसन’ उनीहरुले पाउनै सकेनन्। केही समय त्यतिकै भौतारिइरहे।

त्यसपछि उनीहरुले कपिललाई ठाउँ नभेटेको बताए। कपिलले नयाँ लोकेसन नौलो रिसर्च भएको ठाउँ आउन भने। उनीहरू त्यो लोकेसन खोज्दै थिए। कपिलले फेरि सिद्धार्थ होटेल नजिक आउन भन्दै नयाँ ‘लोकेसन’ दिए। तर त्यहाँ पुग्न नपाउँदै टीकापुरको केराबारी नजिक रहेको युवाहरूको जत्था भेटियो। त्यो जत्थाले भुपेन्द्र सवार मोटरसाइकल रोक्न खोज्यो। 

त्यो समूहमा चिसापानीका गुन्डा नाइकेहरूलाई देखेपछि दीपेशले मोटरसाइकल स्पिडमा भगाए। त्यो युवाको जत्थाले उनीहरूलाई लखेट्दै थियो। टीकापुरमा भुपेन्द्रको मामा घर रहेछ। उनले त्यही रोक्न भने मोटरसाइकल रोकियो, भूपेन्द्र घरभित्र जाने प्रयास गर्दै थिए। सिडी चढ्दै गर्दा पछाडिबाट उनीमाथि आक्रमण भयो। 

‘मैले बाइक चलाइरहेको थिएँ। केराबारीमा जम्मा भएका केटाहरूले रोक भनेपछि आत्तिएर मोटरसाइकल कुदाएँ। हाम्रा पछाडि उनीहरू स्कुटर र वाइकमा आइरहेका थिए। भुपेन्द्र दाइले मामा घरमा रोक्न भनेपछि मैले रोकें,’ दीपेशले भने, ‘म गाडीबाट उत्रिँदै थिएँ, भुपेन्द्र दाइ घरभित्र जान खोजिरहेका थिए। लम्कीका आर्यन देवकोटाले भुपेन्द्र दाइलाई समातेर पछारे। केटाहरूले मेरो मुखमा टर्च लगाएर को होस् भन्न लागे। मैले मामाघर भनेँ। उनीहरू सबै भूपेन्द्र दाइको पछाडि लागे। म भागेर झाडीमा लुकें। भुपेन्द्र दाइ कराउँदै थिए। आधा घन्टासम्म म होसमै थिइनँ।’ 

अनुसन्धानमा तानिएका दीपेश प्रहरीसामु बयान दिएर अहिले घरमै छन्। 

ओभाएनन् आमा-बुबाका आँखा
भुपेन्द्र बडुवालको हत्या भएको एक साता बितेको छ। बियोगमा रहेका उनका आमाबुबाका आँखा ओभाएका छैनन्। उनका बुबा डम्मरलाई अहिले पनि छोरो साथमै रहेको भान हुन्छ।

‘४३ वर्ष भयो म सामाजिक मान्छे भएर बाँचेको। मेरो छोरालाई सिध्याए यिनीहरूले। तर मलाई मसँगै भए जस्तो लाग्छ,’ डम्मरले भने,’ मैले त छोरो गुमाएँ। पीडा भोगिरहेको छु। म जस्तै अरूले पनि पीडा भोग्नु नपरोस् भन्नका लागि अपराधीलाई कडा सजाय हुन जरुरी छ। आज पक्राउ पर्ने, केही वर्षमा छुट्ने गरेका कारण नै अपराधीको मनोबल बढ्दै गएको हो। कानुन कडा बनोस्।’

भुपेन्द्रकी आमा भावना छोरोलाई सम्झिँदै रोइरहन्छिन्। के कारणले छोराको हत्या भयो उनको मनमा प्रश्न खेलिरहन्छ। ‘किन मेरो छोरो मारियो? केका लागि मारियो? पैसाका लागि हो भने हत्या गर्नैपर्ने थिएन। ४/५ करोड नै म दिन सक्थें।’

भावनाको मनमा हत्याको बदला लिने आक्रोश पनि छ। ‘ज्यानको बदला ज्यान चाहिन्छ। कि गुन्डा नाइके नवीनले मलाई पनि मारोस्, हैन भने मैले त्यसलाई खुकुरी हान्न पाउनुपर्छ,’ उनले भनिन्, ‘हत्यारालाई कडा कारबाही नभएसम्म मेरो मन शान्त हुने छैन।’

९ जना पक्राउ, नाइकेसहित दर्जन फरार
प्रहरीले घटनास्थलबाट सु.प.प्र.०१००८प५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८प१०७२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लियो।

भुपेन्द्रको हत्या आरोपमा प्रहरीले भोलिपल्टै प्रहरीले आठ जनालाई पक्राउ गर्यो। लम्किचुहा-३, चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्किचुहा-१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टीकापुर नगरपालिका-१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, २१ वर्षीय रोहित आले र सोही ठाउँका २६ वर्षीय सोहन शाह पक्राउ परेका छन्। 

घटनापछि फरार रहेका लम्किचुहा नगरपालिका-५ का २८ वर्षीय विकास खड्कालाई कात्तिक २८ गते (आइतबार) दिउँसो उनकै घरबाट प्रहरीले पक्राउ गर्यो।

गत मंगलबार राति होटेल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर टीकापुरमा भुपेन्द्रको हत्या भएको प्रहरीको दावी छ। तर रावल भने फरार छन्। रावलसँगै अन्य ७ जनाको पनि खोजी भइरहेको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

‘१६ जना विरुद्ध जाहेरी परेको थियो। गुण्डागर्दीका नाइके रावल हुन् भन्ने खुलेको छ। ७ जना फरार छन्। घटनामा अन्यको पनि संलग्नता हुनसक्छ। उनीहरूको खोजी भइरहेको छ, गुण्डागर्दीमा संलग्न सबैलाई पक्राउ गर्छौं, अनुसन्धान जारी छ,’ प्रहरी प्रवक्ता विष्टले भने।

सिआइबीले थाल्यो अनुसन्धान
हत्या घटनाबारे थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली धनगढी पुगेको छ। घटना भएको एक सातापछि प्रहरी निरीक्षकको नेतृत्वमा खटाइएको दुई जनाको टोली धनगढी पुगेको हो।

भुपेन्द्र बडुवालको हत्या गर्नुको कारण पक्राउ परेकाहरूबाट नखुलेपछि सिआइबीको टोली धनगढी पुगेको हो। प्रहरीले अहिलेसम्म हत्याको कारण पत्ता लगाउन सकेको छैन।

‘धनगढी पुगेको सिआइबीको टोलीले सोमबार नै घटनास्थल पुगेर अनुसन्धान थालेको छ। हामी अपराधीको नजिक छौँ। सबैलाई कानुनको दायरामा ल्याउँछौँ,’ प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले भने, ‘अपराधीहरू धेरै दिन लुक्न सक्दैनन्। हामी केही दिनमै पक्राउ गरेर सार्वजनिक गर्छौँ।’

घटना भएको एक साता बित्दा पनि हत्याको कारण भने खुल्न सकेको छैन।

३० कात्तिक, २०७८, १२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।