कांग्रेस महाधिवेशन: कैलालीमा मतपत्र च्यातियो

कांग्रेस महाधिवेशन: कैलालीमा मतपत्र च्यातियो

धनगढी: नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत वडा समिति र क्षेत्रीय प्रतिनिधि चयनका लागि कैलालीमा भएको चुनावमा मतपत्र च्यातिएको छ। गए राति मतगणना गर्ने क्रममा जिल्लाको बर्दगोरिया गाउँपालिका-२ मा केही व्यक्तिहरूले मतपत्र च्यातेपछि मतगणना रोकिएको छ।

‘वडाको मतगणना भएर पनि नतिजा आइसकेको थियो। क्षेत्रीय प्रतिनिधिको मतगणना हुँदै थियो। १६ मतपत्र च्यातिएका छन्,’ प्रचार प्रसार सञ्योजक नृप सुनारले भने,‘एक थरीले एउटाले जित्ने र अर्कोले हार्ने निश्चित भएपछि च्यातिएको हो भन्छन् अर्को थरीले मतगणनामा धाँदली भएपछि च्यातिएको हो भन्छन् वास्तविकता के हो हामी बुझ्दै छौं।’

मतपत्र च्यातिएपछि केहीबेर झडपको स्थिती सिर्जना भएको थियो। अहिले मतपत्र र मतगणना स्थानमा प्रहरीले सुरक्षा दिइरहेको छ।

‘पार्टीको आन्तरिक निर्वाचनमा यस्तो गर्नुहुन्थेन गरिहाले अब निकास निकाल्ने गरी हामी छलफलमा छौं’,सुनारले भने,‘फेरि निर्वाचन गर्ने वा विजेता घोषणा गर्नेबारे निष्कर्ष निकाल्छौं।’

कैलालीमा क्षेत्रीय प्रतिनिधि र १ सय २६ वडा समितिका लागि भएकाे निर्वाचनमा ९१ वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्।

प्रचार प्रसार सञ्योजक नृप सुनारका अनुसार ३० वडामा भएको चुनावमा शनिबार राति नै मतगणना भएर नतिजा पनि आइसकेको छ। २ वडामा मतगणना जारी छ भने २ वडामा चुनाव हुन बाँकी छ।

टीकापुर नगरपालिका-१ र लम्कीचुहा नगरपालिका-१ मा मतगणना भइरहेको छ।

‘धनगढी-५ मा सर्वसम्मतको प्रयास जारी छ। सहमति नभए चुनावमा जान्छौं,‘ सुनारले भने,‘गोदावरी नगरपालिका-६ मा पनि  निर्वाचन हुन बाँकी छ। हामीले सहमतिको प्रयास गर्दा पनि सहमति जुट्न नसकेपछि आज बिहानबाट मतदान हुने छ।’

यसअघि भदौ १८ गते हुने भनिएको वडा अधिवेशन क्रियाशील सदस्यको नामावली उपलब्ध नभएको भन्दै स्थगित गरिएको थियो। हाल तेस्रो पटक मिति तोकिएपछि अधिवेशन भइरहेको हो।

१८ हजार २ सय ७३ क्रियाशील सदस्य रहेको कैलालीमा २ हजार ५ सय जना अध्यक्ष, सभापति, क्षेत्रीय प्रतिनिधिलगायतका पदमा चयन हुँदैछन्।

२८ गतेभित्रै वडा अधिवेशनको अन्तिम नामावली सार्वजनिक गरी ३० गते जिल्लामा पालिका अधिवेशन,मङ्सिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन,मङ्सिर ६ गते सङ्घीय निर्वाचन क्षेत्र अधिवेशन र मङ्सिर १० गते जिल्ला अधिवेशन गर्ने तालिका छ।

२८ कात्तिक, २०७८, ०९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।