ई–रिक्सा र अटो रिक्साले पाइडल रिक्साको आम्दानी सुकायो

ई–रिक्सा र अटो रिक्साले पाइडल रिक्साको आम्दानी सुकायो

धनगढी : धनगढी मट्यारीका हरिराम चौधरीले रिक्सा चलाउन थालेको १९ वर्ष भयो। ६ वर्ष अघिसम्म रिक्सा चलाएर राम्रै आम्दानी गरे चौधरीले। 

तर, त्यसयता उनको आम्दानी घटेको छ। अटो रिक्सा आएपछि उनको पाइडल रिक्सा चढ्नेहरू कम भएका छन्। उनको अहिलेको दैनिक आम्दानी साँझ बिहानको तरकारी किन्नमै ठिक्क हुन्छ।  

‘कहिले काहीँ त साँझ बिहानकै तरकारी किन्न ठिक्क हुन्छ’,उनले भने,‘कहिले २÷४ सय हुन्छ, कहिले त्यही पनि हुँदैन। 

दिनमा खर्च कटाएर ७ सय रुपैयाँसम्म बचत गर्दै आएका हरिराम अहिले दैनिक खर्च चलाउने आम्दानी हुन छाडेको बताउँछन्। 

ठुलो संंख्यामा विद्युतीय ई–रिक्सा र अटो रिक्सा भित्रिएपछि परम्परागत पाइडल रिक्साहरू विस्थापित हुन थालेका छन्।

‘विद्युतीय ई–रिक्सा र अटो रिक्सा सञ्चालनमा आएपछि वर्षौँदेखि सञ्चालनमा रहेका पाइडल रिक्साहरूमा यात्रु नै आउदैनन’,पाइडल रिक्सामा सामान बोक्दै गरेका अर्जुन बोहराले भने,‘प्रविधिमैत्री रिक्सा किन्न हामीसँग रकम छैन। यो रिक्साको जमाना गयो, सामान पनि पाउनै मुस्किल हुन्छ। पसलेको गोदामको सामान र फोहर फाल्ने काम पनि मुस्किलले पाइन्छ।’

धनगढीमा ३० वर्ष देखि रिक्सा चलाइरहेका उनी पाइडल रिक्सा छोडेर रोजगारीका लागि भारत जाने सोचमा छन्। ‘पाइडल रिक्साले घर खर्च चलाउन सकिएन,’उनले भने,‘केही वर्ष भारतमा मजदुरी गरेर फर्किएपछि प्रवित्रिमैत्री रिक्सा किनेर गुजारा चलाउनुपर्ला।’

गोदावरीका ११ ओलानीका अनिल विक अहिलेको कमाइले ९ जनाको परिवारलाई साँझ बिहानको छाक टार्नै नपुग्ने बताउँछन्। 

केही वर्ष पहिले कैलालीमा मात्रै करिब ३ हजारको संख्यामा पाइडल रिक्सा थिए। तर, अहिले मुस्किलले २ सय जति बाँकी छन्। यातायात व्यवस्था कार्यालय कैलालीको तथ्याङ्क अनुसार अहिले कैलालीमा ८ हजार बढी ई–रिक्सा दर्ता भएका छन्।

२४ कात्तिक, २०७८, १३:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।