गरिबलाई न दशैं न तिहार: टीकाकै दिन नाकामा भारत जानेहरूको लर्को

गरिबलाई न दशैं न तिहार: टीकाकै दिन नाकामा भारत जानेहरूको लर्को

धनगढीः भाइटीकाको दिन। गौरीफन्टा नाका। रोजगारीका लागि भारत जानेको लर्को छ। तीमध्ये कसैको मुहारमा पनि खुसी झल्किएको छैन। कोही परिवारसहित छन् त कोही एक्लै छन्।

रोजगारीका लागि भारतको दिल्ली गइरहेका कैलाली लम्कीका नवराज उपाध्यायले गत वर्ष घरमै तिहार मनाए। यस वर्ष दशैं घरमा मनाए पनि तिहारको टीकाकै दिन भारत पस्नुपर्दा उनको मन खिन्न छ।

'१२ वर्षदेखि भारतमा रोजगारी गरिरहेको छु। दशैंसम्मको लागि असारमा घर आएको थिएँ, तिहार पनि मनाएर जाने सोच थियो तर साहुले आइतबार नपुगे कामबाट निकालिदिने भनेका छन्।  तिहारभन्दा जागिर प्यारो लाग्यो', नवराजले भने।

गौरीफन्टा नाका हुँदै भारत पस्नेहरूका आ–आफ्नै व्यथा छन्।

धनगढी सन्तोषी टोलका जीवन विक आमाको उपचारका लागि भारत जाँदै छन्। 'तिहार मनाउन त कसलाई रहर हुँदैन र! मेरो पनि घरमा सानी दुई बहिनी छन्। उनीहरूको हात खाली छोडेर यसरी जानु पर्दा मन भतभती पोलेको छ के गर्नु आमा साह्रै बिरामी हुनुहुन्छ', उनले भने।

तीन वर्ष भयो जीवनको आमा बिरामी भएको। अहिलेसम्म रोग पत्ता लागेको छैन। धनगढीका सबै अस्पताल लगिसके उनले तर कहीँ गए पनि ठीक नभएपछि उनी भारत जान लागेका हुन्।

'केही काम गरेर उतै आमाको उपचार गर्छु। आमाको औषधी पनि सकिएको छ, उहाँलाई झन् झन् गाह्रो हुन थालेपछि तिहार छोडेर भारत जाँदै छु', उनले भने।

रोजगारीका लागि भारतमै आश्रित सुदूरपश्चिमेलीहरूलाई तिहारको समयमा भारत पस्नु नियति हो।

डोटीका ४५ वर्षीय पदम सुनार पनि भारत पस्ने लाइनमै छन्। उनी भन्छन्, 'भारतमै मजदुरी गर्न थालेको २८ वर्ष हुन थाल्यो। अझै कति गर्नु छ हेरौँ।’

उनी पाँच महिनाअघि घर फर्किएका थिए। तर तिहारमै उनी भारत पस्न बाध्य भए। उनले भने, 'जेठ महिनामा कोरोनाको डरले घर आएको हुँ, अहिले फेरि डरै–डरले गइरहेको छु।'

उनी यसअघि नेपाल फर्किँदा तलब समेत नलिइ फर्किएका थिए।

'कोरोना बढ्न थालेपछि दुई महिनाको तलब  पनि नबुझेरै घर आएको थिएँ। अहिले साहुले बोलाएका छन्। एक हप्तामा पुगेन भने अर्कैलाई काममा राख्छु भनेका छन्। पाँच वर्ष भयो त्यहाँ काम गर्न थालेको। बाँकी तलब पनि बुझ्न बाँकी छ। त्यसैले तिहार नमनाएरै जान लागेको हुँ', उनले भने।

नाकामै भेटिएका कैलाली मोहन्यालका हर्क बुढा भने यसपालि तिहार नहुने भएर भारत गइरहेका थिए। 'यसपालि एक महिनाअघि मात्रै आफन्त बित्नु भयो। तिहार नहुने भयो त्यसैले  भारत जाँदै छु', उनले भने।

त्रिनगर नाकामा बिहानैबाट भारत जानेहरूको चहल–पहल भइरहेको छ। विगतका बर्षमा नेपाल फर्किनेहरूको घुइँचो हुने गरे पनि यस वर्ष भने नाकामा भारत जानेहरूको घुइँचो छ।

त्रिनगर नाका हुँदै दैनिक एक हजारदेखि १५ सयको हाराहारीमा नागरिकहरू भारत गइरहेका छन्।

२० कात्तिक, २०७८, ०९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।