धनतेरसमा टक्सार सुनको मोह : एकै दिन विक्री भयो पाँच करोडको सिक्का

धनतेरसमा टक्सार सुनको मोह : एकै दिन विक्री भयो पाँच करोडको सिक्का

काठमाडौँ : धनतेसरमा घरमा सुन भित्र्याउनु लच्छिन मानिन्छ। त्यसैले सक्नेले यो दिन सुन र चाँदीका गहना किन्ने गर्छन्। यही दिन नेपाल राष्ट्र बैङ्कको टक्सार विभागले सुनको विशेष सिक्का विक्री गर्छ।

मङ्गलवार पनि विभागले बबरमहलको कार्यालयमा पाँच ग्राम र साँढे २ ग्रामको सिक्का विक्री गरेको थियो। सिक्का लिन विभाग परिसरमा दिनभर लामो लाइन थियो। विभागका प्रमुख विनोद आचार्यका अनुसार मङ्गलवार मात्र १७ सय ८ वटा सुनको सिक्का विक्री भएको छ। त्यसमा ६ सय ९० वटा ५ ग्रामका र  बाँकी साढे २ ग्रामका सुनको सिक्का विक्री गरेको छ।

पाँच ग्रामको सिक्का २ करोड ७९ लाख बराबरको विक्री भयो भने साढे २ ग्रामको सिक्का २ करोड ५८ लाखको विक्री भएको छ।

सिक्का माग्न आउनेहरूबाट जोगिन दिनभर विभागका कर्मचारी कसैको सम्पर्कमा बसेनन्। सिक्का लिन राष्ट्रपतिको कार्यालयबाट पत्र आएको थियो। राष्ट्रपति कार्यालयले १० ग्रामको सिक्का लिएर गएका थिए।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी सिक्का लिन आफैँ विभागको कार्यालय बबरमहल आएका थिए। उनले सुनको असर्फी खरिद गरे।

विभागले हरेक वर्ष सिक्का निकाल्ने गरे पनि मेसिन बिग्रिएपछि २ वर्षदेखि सिक्का निकाल्न सकेको थिएन। यो वर्ष मेसिन मर्मत गरेर नयाँ सिक्का छापेको आचार्यले जानकारी दिए।

विभागले एक जनालाई सुनको एउटा र चाँदीको ३ वटा सिक्का उपलब्ध गराएको थियो।

‘सिक्काको माग धेरै भएकाले एक जनालाई एउटा मात्र सिक्का उपलब्ध गराएका छौँ,’ आचार्यले उकेरासँग भने,‘लाइनमा बसेका कसैलाई पनि रित्तो हात फर्काएका छैनौ।’ 

उनले सिक्का लिनेहरूको भिड भने धेरै नै रहेको बताए। सर्वसाधारणको माग धेरै भएकाले बैङ्कले प्रिमियममा बिक्री गर्नु पर्ने आवश्यकता देखिएको प्रमुख आचार्यले बताए।

‘सर्वसाधारणलाई तत्काल केही असजिलो महसुस हुनसक्छ,’आचार्यले भने,‘प्रिमियममा बिक्री गर्दा कालोबजारी हुन पाउँदैन।’ 

एक जनालाई साढे २ ग्राम र ५ ग्रामको दुई वटा सिक्काको ६० हजार रुपैयाँमा बिक्री गरेको उनले बताए। तिहारमा सर्वसाधारणले माग गर्ने भएकाले तिहारको दुई तीन दिन अगाडि राष्ट्र बैङ्कले सुनको सिक्का विक्री गर्ने गरेको राष्ट्र बैङ्कका सह प्रवक्ता नारायण प्रसाद पोखरेलले बताए। 

मङ्गलवार सुनको सिक्का किन्न बिहान ६ बजेदेखि नै सर्वसाधारण लाइनमा बसेका थिए। राष्ट्र बैङ्क आफैले उत्पादन गरेका १० ग्राम, ५ ग्राम र साढे २ ग्रामको सुनको सिक्का बजार मूल्य अनुसार बिक्री गरेको पोखरेलले बताए।

‘सिक्का विक्री व्यापारिक होइन,’पोखरेलले उकेरासँग भने,‘एक जनालाई सुनको एउटा र चाँदीको ३ वटा सिक्का बिक्री गरेका छौँ।’ 

विभागले उपलब्ध गराउने सिक्का लिन लाइन बसेकाहरूलाई सुनको बजार भाउ अनुसार ४० हजार ४ सय ३८ रुपैयाँ मूल्यको ५ ग्रामको र ८१ हजार रुपैयाँ मूल्यको १० ग्रामको सुनको सिक्का विक्री गरेको पोखरेलले बताए। 

तर, आज १० ग्रामको सुनको सिक्का विक्री गर्न नपाएको प्रमुख आचार्यले बताए। चाँदीको सिक्काको मूल्य १६ सय रुपैयाँ पर्ने उनले बताए। सुनलाई लक्ष्मी र बृहस्पतिको प्रतीकको रूपमा पनि लिने गरिन्छ।

बैङ्कका सह प्रवक्ता पोखरेलका अनुसार अरू बेला सुनको सिक्का सर्वसाधारणका लागि विक्री हुँदैन। त्यही भएर सिक्का बिक्रीमा कोटा तोकिएको उनले बताए। सिक्का राष्ट्र बैङ्कले नै उत्पादन गर्दै आएको छ। सिक्का बुधवार पनि विक्री हुने विभागले जनाएको छ।

१६ कात्तिक, २०७८, २१:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।