सडकै बस्न बाध्य बाढीपीडित: चिसो याम सुरु भइसक्दा पनि त्रिपालसमेत पाएनन्

सडकै बस्न बाध्य बाढीपीडित: चिसो याम सुरु भइसक्दा पनि त्रिपालसमेत पाएनन्

कैलालीः जिल्लामा गत वर्षको बाढीले विस्थापन गरेको तीन दर्जन परिवार हालसम्म पनि सडकमा आश्रय लिन बाध्य छन्। यही वर्षको असार र कात्तिक पहिलो साताको बाढीले विस्थापितहरू पनि सडकमै छन्।  
 

कैलालीको भजनी नगरपालिका-७ का रामचरण चौधरी एक वर्षदेखि हुलाकी सडकमा आश्रय लिइरहेका छन्। गत असोजमा आएको बाढीले घरखेत बगाएपछि उनको परिवारको बिचल्ली भएको थियो। 

केही दिन त उनी आफन्तकहाँ बसे तर घर फर्किनै नसक्ने अवस्था भएकाले अन्ततः हुलाकी सडक उनको आश्रयस्थल बन्यो। 
चिसो याम सुरु भइसक्दा पनि ओढ्ने ओछ्याउने केही छैन उनीसँग।

'परिवारमा ५ जना छौँ, एक वर्षदेखि सडकमा बसिरहेका छौँ, अझै उद्धार भएको छैन। चिसो मौसम सुरु हुँदैछ, ओढ्ने ओछ्याउने कपडा पनि छैन। कठ्याङ्रीएरै मर्छौँ जस्तो छ’, उनले भने।

यता भजनी-५ का विक्रम चौधरीको मोहना नदी छेउमा घर थियो। बाढीले घर बगायो। अरू त अरू दशैंलगत्तैको वर्षाले धानखेत पनि बग्यो। तर राहतको नाममा त्रिपाल मात्र पाए।  

'असारमा आएको बाढीले घर भत्काएर लग्यो, बिचल्ली भएर सडकमा आयौँ', उनले भने, 'घर बगे पनि धानखेती थियो, बाढीले खेतको धान पनि बगायो, अब के खाएर गुजारा चलाउने? राहतका नाममा त्रिपाल मात्रै पाएका छौँ।'

तर सडकमा आश्रय लिएका सबैले त्रिपाल पनि पाएका छैनन्। 

'२ सय ५० परिवार कात्तिक पहिलो साता विस्थापित भएका छौँ, कोही घर फर्किसके कोही वन र विद्यालयको भवनमा आश्रय लिइरहेका छन्। हामी भने सडकमै छौँ', भजनीकी हिरादेवी डगौराले भनिन्,'सिमेन्ट र चामलका बोरा सिलाएर त्रिपाल बनाउदैछौँ, हाम्रा लागि सरकार छैन भोट दिने मात्र हो हाम्रो काम।'

भजनी-७ का जयबहादुर बुढासँग अब एक महिनालाई पुग्ने खाद्यान्न मात्र छ। 'हामीलाई छाक टार्नै मुस्किल छ। टहरोमा लालाबाला पनि छन् कसरी भुलाउने उनीहरूलाई? दुई जोडी कपडा मात्र छन्, धान सबै बाढीले बगायो, एक महिनासम्मलाई मात्र खाद्यान्न छ। त्यसपछि के खाने खै!' उनले भने।

हुलाकी राजमार्गअन्तर्गत भजनी नगरपालिकाको कृष्णनगरदेखि सोनहाफाँटासम्मको उच्च स्थानमा बाढीपीडित परिवार बसिरहेको बिरेन्द जोशीले बताए। 

'हुलाकी सडक नै हाम्रा लागि सुरक्षित स्थान हो, सबैजसो हुलाकी सडकमा आएर बसेका छन्। अहिले करिब ५ सय परिवार आश्रय लिइरहेको अनुमान गरेका छौँ', उनले भने।

यता गत बिहीबार नै वर्षा रोकिए पनि पानीको सतह कम नभएकाले घरसम्म जान सक्ने अवस्था नरहेको सोनहाफाँटाका सुकै डगौरा थारुले बताए।

डुबानका घर सरसफाई गरिँदै
कात्तिक पहिलो साताको बाढी मोहनी चौधरीको घरमा पसेपछि उनको परिवार पनि विस्थापित भयो। 

केही दिन उनीहरू सडकमा बसे, अहिले घरभित्रको पानी सुकेपछि घर फर्किने तयारीका लागि उनी सरसफाई गर्दैछिन्। 
'घर ढुङ्गा, बालुवा, पात पतिङ्गरले भरिएको थियो, सफा गर्दै थिएँ, ओछ्यानको तल सर्प रहेछ, आत्तिदैँ बाहिर गएँ। छिमेकी आउन नपाउँदै सर्प भागिहाल्यो, घर सफा गर्न पनि डर लाग्दै छ यहीँ कसरी बस्ने होला', उनले भनिन्।

स्थानीय गजेन्द्र धामी बाढीले वनमा रहेका अजिङ्गर तथा सर्प बगाएर बस्तीमा पुर्याउने गरेको बताउँछन्। यता बाढी प्रभावित क्षेत्रमा ज्वरो, रुघाखोकी र पखाला लाग्नेजस्ता समस्या पनि देखिन थालेका छन्। 

यस्तो अवस्थामा स्थानीय सरकार तथा स्वास्थ्य संस्थाले स्वास्थ्य शिविर गर्ने, नियमित उपचारमा सघाउने, बाढीपीडितको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाए सहज हुने धामीले बताए।

उदासीन सरकारी निकाय
सडकमा आश्रय लिइरहेकाहरूको व्यवस्थापनमा सरकारी निकाय उदासीन छ। स्थानीय तह र प्रदेश सरकारबाट विपद्को समयमा सामान्य राहतसम्म नपाएको प्रभावितहरूको गुनासो छ। 

भजनी नगरपालिकाले न त प्रभावितहरूलाई आवश्यक राहत सामाग्रीको बन्दोबस्त गरेको छ न त उचित बासको व्यवस्थापन नै। 
प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी भने प्रभावितहरूलाई सामान्य राहत वितरण गरिएको बताउँछन्। 

'हामीले अवस्था बुझेर सामान्य राहत स्वरूप चाउचाउ, चिउरा, नुन, तेल, चामल वितरण गरेका छौँ। यो राहतले उनीहरूलाई पुग्दैन, केही घर फर्किए पनि अधिकांश अझै सडकमा छन्, समस्याको दीर्घकालीन समाधान भनेको बस्ती स्थानान्तरण हो', विनाडीले भने। उनले तटबन्ध र बस्ती व्यवस्थापन गर्न प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिरहेको पनि बताए।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बाढी प्रभावितहरूलाई विशेष सजकता अपनाउन आग्रह गरेका छन्। 'प्रभावित क्षेत्रमा सरुवा रोगको सङ्क्रमण बढी हुन्छ, यस्तो बेला सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ। महामारी फैलन समेत सक्छ', प्रवक्ता कार्कीले भने, 'यस्तो बेलामा उमालेको पानी पिउने, सुत्दा खाटमा सुत्ने, अनिवार्य झुल लगाउनेजस्ता कुरामा ध्यान दिनुपर्छ।'

१६ कात्तिक, २०७८, १०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।