'सम्मानजनक निकासको प्रस्ताव प्रधानन्यायाधीशको हैन, न्यायाधीशहरूको हो'

'सम्मानजनक निकासको प्रस्ताव प्रधानन्यायाधीशको हैन, न्यायाधीशहरूको हो'

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सम्मानजनक निकासको प्रस्ताव पठाएको दाबी सार्वजनिक भइरहेको छ। उनको तर्फबाट न्यायाधीश मनोजकुमार शर्माले सो प्रस्ताव ल्याएको दाबी आइरहेका छन्।

तर सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले मार्ग प्रशस्त गर्नुपर्ने  र सम्मानजनक बहिर्गमनको प्रस्ताव प्रधानन्यायाधीशले नभई न्यायाधीशहरूले राखेको र राणाले अस्वीकार गरेको दाबी गरे।

प्रधानन्यायाधीश राणाको विपक्षमा रहेका न्यायाधीशहरूको तर्फबाट न्यायाधीशहरू सपना मल्ल प्रधान, अनिल सिन्हा र डा. मनोज शर्माले राणासँग भेटेर राजीनामा दिन भनेका थिए। उनीहरूले सम्मानजनक बहिर्गमनबारे कुरा गरेको तर प्रधानन्यायाधीश राणाले संवैधानिक प्रक्रिया अनुसार नियुक्त भएकाले संवैधानिक प्रक्रिया अनुसार नै निकास दिने बताएका प्रवक्ता दाहालले उकेरासँग दाबी गरे।

‘श्रीमान्हरूले सम्मानजनक निकास दिनुहोस् भनेर भन्नु भएछ,’सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले भने,‘प्रधानन्यायाधीशज्यूले नै सम्मानजनक बहिर्गमनको प्रस्ताव राखेको भनेर प्रचार भएछ।’

न्यायाधीशहरुले आइतबार बेन्च बहिष्कार गरेका थिए। प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलासमा  सैनिक जवानले हत्या गरेको मुद्दामा चितवन जिल्ला अदालत र उच्च अदालत हेटौडालाई अन्तरिम आदेश दिएका थिए।

सर्वोच्च अदालतले आज प्रधानन्यायाधीशको एकल इजलास र न्यायाधीश कुमार रेग्मीसँगको संयुक्त इजलास राखेका थिए। संयुक्त इजलास बस्न सकेन। खाजा समयपछि बसेको राणाको एकल इजलासले कारण देखाऊ आदेश र अन्तरिम आदेश जारी गरे पनि अरू इजलास बसेनन्।

इजलास सक्ने बित्तिकै प्रधानन्यायाधीशलाई भेट्न बसेका न्यायाधीशहरूमध्ये मल्ल, सिन्हा र शर्मा राणाको चेम्बरमा प्रवेश गरेका थिए। उनीहरूले सम्मानजनक निकास दिन आग्रह गरे पनि राणाले अस्वीकार गरेको प्रवक्ता दाहालले बताए।

उनले भोलिदेखि बन्दी प्रत्यक्षीकरणसहित महत्त्वपूर्ण मुद्दाको सुनुवाइ हुने दाबी समेत गरे। 

‘भोलिदेखि बन्दी प्रत्यक्षीकरण लगायत मुद्दाको सुनुवाइ हुन्छ,’दाहालले उकेरासँग भने,‘महत्त्वपूर्ण मुद्दाको सुनुवाइका लागि भोलि इजलास बस्छ।’ 

१४ कात्तिक, २०७८, २१:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।