किसानले व्यापारीलाई सस्ताेमा धान बेचेपछि मात्र खरिद सुरु गर्छ सरकार

किसानले व्यापारीलाई सस्ताेमा धान बेचेपछि मात्र खरिद सुरु गर्छ सरकार

धनगढीः दशैंलगत्तै तीन दिनसम्म परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका धेरै किसानको धानबालीमा क्षति भयो। तर बचेको धान पनि सरकारले किन्ने सुरसार नगर्दा हाल किसानहरू सस्तोमा व्यापारीलाई बेच्न बाध्य भएका छन्। 
 

सरकारले यस पटक मोटो धानको न्यूनतम मूल्य प्रतिक्विन्टल दुई हजार सात सय ३५ रुपैयाँ र मध्यम धान दुई हजार आठ सय ८५ रुपैयाँ तोकेको छ। तर सरकारी निकायले धान खरिद कोटा भने लगाएको छैन। जसका कारण किसान सस्तोमै व्यापारीलाई बेच्न बाध्य छन्। 

प्रतिक्विन्टल दुई हजार ५० रुपैयाँका दरले धनगढी-६ मट्यारीकी बिपना बोहराले ४ क्विन्टल धान बिक्री गरेकी छिन्। उनी अब चामल किन्ने तयारीमा छिन्। 

'धान खेतमै भिज्यो। जोगाउन सकिएन, जसो तसो जोगाएको धान पनि बिग्रिएला भन्ने डर भइसक्यो। दाना काला भएका छन्। धान ओसाएको छ। यो पनि बिग्रियो भने घरमा भोकमरी सृजना हुन्छ, त्यसैले सस्तोमै भए पनि बेचेकी हुँ', बिपनाले भनिन्।

एक बिघाको धान खेतमै सखाप भएपछि बाँकी रहेको धान उनले व्यापारीलाई बेचेकी हुन्।

धनगढी सन्तोषी टोलका सीताराम चौधरीले त सस्तो पनि भन्न पाएनन्। घाटा खाएरै धान बेचे। वर्षाका कारण उनको आधा खेतको धान खेर गएको थियो। धान बेचेरै वर्षभरिको खर्च चलाउने उनले सरकारले मूल्य मात्रै तोकेर खरिद सुरु नगरेकाले घाटा खाएर धान बेचेका हुन्। 

'बचेको धान बेचेर घरखर्च चलाउन खोजेको प्रतिक्विन्टल ६ सय ८५ रुपैयाँ घाटा खाएर ८ क्विन्टल धान बेचेँ, छोराछोरीलाई तिहारका लागि लुगा कपडा र तिहार खर्च कटाएर केही समय घरखर्च चल्छ', उनले भने।

सरकारले मूल्य तोक्ने तर खरिद गर्न ढिलाई गर्ने गरेका कारण बर्सेनी आफूहरू मारमा परेको किसानहरूको दुखेसो छ। 

'सरकारले मूल्य त तोक्छ तर हामीले सरकारी मूल्यमा कहिल्यै धान बेच्न पाएका छैनौं, हामीले व्यापारीलाई सस्तोमा बेचिसकेपछि मात्र सरकारी निकायले किन्न सुरु गर्छन्', घोडाघोडी नगरपालिकाका विवेक सुनारले भने। 

विवेकले किसानसँग सस्तोमा किनेर व्यापारीले महँगोमा सरकारलाई बेच्ने गरेको पनि आरोप लगाए। 'व्यापारी र सरकारी कर्मचारीबीच सेटिङ हुँदो रहेछ। हामी सधैँ मारमा छौँ', उनले भने।

एक हजारसम्म सस्ताेमा बिक्री गर्दै किसान 

सरकारले धानबाली भित्र्याउनुअघि नै मोटो र मध्यम धानको न्यूनतम मूल्य तोकेको थियो। मन्त्रिपरिषद् बैठकले मोटो धानको मूल्य प्रतिक्विन्टल दुई हजार सात सय ३५ र मध्यम धानको दुई हजार आठ सय ८५ रुपैयाँ तोकेको छ।

तर, कैलालीका अधिकांश किसानले सरकारले तोकेको मूल्यभन्दा ६ सयदेखि एक हजार रुपैयाँसम्म सस्तोमा धान बिक्री गरिरहेका छन्। मोटो धान प्रतिक्विन्टल एक हजार आठ सयदेखि दुई हजार ५० सम्म बिक्री गर्नुपर्ने बाध्यतामा किसानहरू छन्। 

यता धनगढीका गल्ला व्यापारी विष्णुराज शाही गुणस्तर हेरेर मात्रै धान खरिद गरेको बताउँछन्।

'वर्षाले धानमा क्षति पुर्या यो, धान खेतमै भिजेर उम्रिएका छन् तर किसानले त्यसलाई सुकाएर बेच्न आइरहेका छन्, सबै धान खरिद गर्न सकिने अवस्था छैन', उनले भने, 'दशैंअघि भित्र्याएको धान राम्रो छ। तर, त्यसपछि काटेको र भित्र्याएको धान वर्षाले बिगारेको छ। त्यसैले धान हेरेर मात्रै खरिद गरिरहेका छौँ।'

उदासीन सरकारी निकाय
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने गर्दछ। 

किसानहरूले धान भित्र्याइसकेका छन्। गल्ला व्यापारीले पनि खरिद गर्न सुरु गरिरहेका छन्। तर संस्थानले भने अहिलेसम्म किसानको धान खरिद गर्ने सुरसार नै गरेको छैन। 

'समयमै सरकारले धान किनिदिए त हामीलाई पनि राहत हुन्थ्यो, हामी धान बेचेरै घर खर्च चलाउँछौं, तर हामीले सस्तोमा व्यापारीलाई बेचिसकेपछि मात्र सरकारले कोटा लगाउने गर्छ', गोदावरीका तेजप्रकाश मल्लले भने, 'हामी लगानी पनि उठाउन सक्दैनौं।’

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीकी प्रमुख इन्जिला बस्नेतले केन्द्रीय कार्यालयबाट अहिलेसम्म धान खरिदका लागि कुनै परिपत्र नआएकाले खरिद सुरु नभएको बताइन्। 

‘हामीलाई केन्द्रीय कार्यालयले नै धान खरिदको लक्ष्य र बजेट विनियोजन गर्छ', हामी तयारी अवस्थामा छौँ, परिपत्र आउने बित्तिकै किसानको धान हामी खरिद गर्न सुरु गर्छौँ', उनले भनिन्।

१४ कात्तिक, २०७८, १३:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।