एमाले कैलालीको पार्टी कार्यालयमा प्रशासनले लगायो ताल्चा 

एमाले कैलालीको पार्टी कार्यालयमा प्रशासनले लगायो ताल्चा 

धनगढी : नेकपा एमाले कैलाली जिल्ला पार्टी कार्यालय स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ।

गौरीगङ्गा नगरपालिका –१ चौमालामा रहेको एमालेको पार्टी कार्यालयमा नेकपा एकीकृत समाजवादीले पनि दाबी गरे पछि जिल्ला प्रशासन कार्यालयले कार्यालय आफ्नो नियन्त्रणमा लिएको हो। 

सोमबार एमाले केन्द्रीय सदस्य तथा कैलाली सहइञ्चार्ज लीला भण्डारीले कार्यालय उद्घाटन गरे लगत्तै नेकपा एकीकृत समाजवादीले तालाबन्दी गरेपछि झडपको स्थिति सिर्जना भएको थियो। 

समाजवादीले लगाएको ताला मङ्गलवार एमालेले फोडे पनि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले तालाबन्दी गरेको हो। शान्ति सुरक्षा कायम गर्न तालाबन्दी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। ‘मुठभेड नहोस् भनेर हामीले कार्यालय नियन्त्रणमा लिएका हौँ’,उनले भने‘,दुवैपार्टीबीच छलफल भएर सहमति हुने बित्तिकै हामी ताला खोल्छौँ।’

प्रशासनले कार्यालय कब्जामा लिएको भन्दै एमालेले भने विरोध जनाएको छ। एमाले कैलालीका इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले सरकारको रवैयामा सिडिओले एमालेमाथि दमन गर्न खोजेको आरोप लगाए। अहिले कार्यालयमा प्रहरीले सुरक्षा दिइरहेका छन्।

१० कात्तिक, २०७८, १७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।