हेर्दाहेर्दै खुटिया नदीमा बिलाए गणेश

हेर्दाहेर्दै खुटिया नदीमा बिलाए गणेश
गणेश आउँजीको शोकाकुल परिवार।

धनगढी : कैलालीको खुटिया नदीमा गोदावरी नगरपालिकाका गणेश आउँजी र राजु नेपाली सोमबार ढुङ्गा सङ्कलन गरिरहेका थिए।

पानी परिरहेको समयमा उनीहरू नियमित काम गरिरहेका थिए। नदीमा पानीको बहाव पनि बढ्दै थियो। काम गर्दागर्दै नदीमा बाढी आएको उनीहरूले थाहा नै पाएनन्। 

राजुले भने, ‘नदीमा बहाव निकै बढिसक्यो अब के गर्ने?,’ गणेशले यस्ता नदीमा त सानैदेखि पौडी खेल्दै आएका छौँ के हुन्छ र भन्ने जवाफ दिए। उनी नदीमा हामफाले। राजु पनि नदीको अर्को छेउमा हामफाले। 

वर्षाको भेलसँगै उर्लेको नदीले गणेशलाई बगायो। राजु भने नदीको छेउमा पुगे। हेर्दाहेर्दै गणेश खुटिया नदीमै बिलाए।  

उनको खोजीमा स्थानीय, प्रहरीसँगै गोताखोरको टोली खटिएको छ। तर बेपत्ता भएको ४ दिनसम्म गणेश भेटिएका छैनन्। ‘हामीले बेपत्ता भएको खबर पाउने बेलादेखि नै खोजी कार्य जारी राखेका छौँ, तर गणेश भेटिएका छैनन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक विष्टले भने, ‘सुरक्षा निकाय र स्थानीय मिलेर खोजिरहेका छौँ, नदीमा पानीको सतह घट्दै गएको छ, तर पनि फेला पार्न सकिएको छैन।’

परिवारमा रुवाबासी 
गणेशको परिवारमा रुवाबासी छ। उनकी श्रीमती, बुबा र आमा कसैका पनि आँखा ओभाएका छैनन्। उनकी आमा धनसराले तीन दिनदेखि खाना खाएकी छैनन्। 

श्रीमती छिन–छिनमा बेहोस हुन्छिन्। ‘हामी भन्दा प्यारा तमले प्यारा कइलाई मान्या, अब कइलाई भनी बाच्ने हौँ, हामीलाई पनि तमीसँग लैजाऊ प्यारा,’ रुँदारुँदै मुर्छा परिरहेकी छिन् उनकी श्रीमती। आफन्त र छिमेकीहरूले उनलाई सम्झाइरहेका छन्। मृतक गणेशका एक छोरो र एक छोरी छन्। ५/७ वर्षका उनीहरू पनि बाबा–बाबा भन्दै रोइरहेका छन्। 

३० वर्षीय गणेश अर्काको ट्याक्टर चलाएर परिवारको गुजारा चलाइरहेका थिए। घरमा कमाउने उनी मात्रै थिए। उनी पनि खुटिया नदीमै बिलाएपछि आउँजी परिवारको खम्बा ढलेको छ। उनकी आमा धनसरा आउँजी भन्छिन्, ‘उसैले बचाएर बाचेका थियौँ। ऊ गयो अब हामी पनि जान्छौँ, मेरो कोही छैन। एउटै सहारा पनि दैवले लुट्यो। अब उसका छोरा–छोरी र श्रीमतीलाई के लगाउन दिऊँ, के खान दिऊँ।’

गणेश बेपत्ता भएको ४ दिनमै उनको घरमा बलिरहेको चुलो पनि निभ्न थालेको छ। घरमा रहेको खाद्यान्न सकिन थाल्यो तर राहतका नाममा उनका परिवारले अहिलेसम्म केही पाएका छैनन्

गौरीगङ्गा, गोदावरी टिपर तथा ट्याक्टर व्यवसायी समितिका अध्यक्ष करण बोगटीले राहतको लागि पहल भइरहेको बताए। ‘ढुङ्गा सङ्कलन गर्ने क्रममा गणेश बगे। हामीले खोजी कार्य जारी राखेका छौँ। पीडित परिवारलाई क्षतिपूर्तिका लागि पनि छलफल भइरहेको छ।’

५ कात्तिक, २०७८, १०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।