बाढी पीडितको उद्धारका लागि सुदूरपश्चिमका नौ जिल्लाले २५/२५ लाख रुपैयाँ पाउने 

बाढी पीडितको उद्धारका लागि सुदूरपश्चिमका नौ जिल्लाले २५/२५ लाख रुपैयाँ पाउने 

विपद् व्यवस्थापन कोषमा रहेको २५ करोड मध्ये अहिले उद्धार र तत्काल राहत उपलब्ध गराउन नौ जिल्ला २५ लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरिएको प्रदेश सरकारकी प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन।

तत्काल विपद् व्यवस्थापन गर्न रकम उपलब्ध गराउने निर्णय गरेको उनले बताइन। ‘प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर उद्धार र तत्काल राहत दिन नौ जिल्लाका विपद् व्यवस्थापन कोषमा राख्न १५/१५ लाख दिने निर्णय भएको छ,’मन्त्री जोशीले उकेरासँग भनिन्,‘सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई उद्धारका लागि प्रोत्साहन स्वरूप ५/५ लाखका दरले दिइनेछ।’

तीन दिनदेखिको अविरल वर्षाका कारण भएको मानवीय, भौतिक, कृषि, पशुपक्षीमा पुगेको क्षति सङ्कलन गरेर राहतका दिन फेरि मन्त्रिपरिषद् बैठक बस्ने उनले बताइन।

उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग उद्धारका लागि समन्वय भइरहेको र भोलि बिहानदेखि उद्धारमा खटिने तयारीमा रहेको जानकारी दिइन। 

२ कात्तिक, २०७८, २०:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।