वर्षाका कारण भित्र्याउन ठिक्क पारेकाे धानबाली नष्ट, किसान चिन्तित

वर्षाका कारण भित्र्याउन ठिक्क पारेकाे धानबाली नष्ट, किसान चिन्तित
तस्बिर: प्रेम दहित

'आफन्तहरूसँग दशैं मनाउँदै थिए,आकासबाट दशा बर्सियो, दुई बिघा खेतमा लगाएको धान बाली सबै भिजेर बिग्रियो', उनले भनिन्, ‘मौसम यस्तो हुन्छ भन्ने थाह भएको भए त दशैंकै दिन पनि काम गर्थें होला, आँखै अगाडि वर्षभरिको मेहनत खेर गयो।’

उनी त एक प्रतिनिधि पात्र मात्र हुन्। अविरल वर्षाका कारण कैलाली र कञ्चनपुरका हजारौँ कृषकहरूको धानीबाली खेतमै नष्ट भएको छ। 

कैलालीको घोडाघोडी नगरपालिका १ की मानमती विष्टले आधा खेतको धान भित्र्याइसकेकी थिइन्। आधी धान दशैंपछि भित्र्याउने भन्दै खेतमै थुपारेकी थिइन्। तर वर्षाका कारण उनले धान भित्र्याउन पाइनन्। 

‘दशैंकै समयमा धान पाकेर ठिक्क भयो,आधी खेतको भित्र्याइसकेकी थिएँ आधी बाँकी थियो,तर पानीले सबै भिजायो,अहिले खेतमा काटेको धान त्रिपालमुनि राखेका छौँ तर सबै सखाप भइसकेको छ,’ उनले भनिन्।

अधिकांश किसानको धान खेतमै काट्न बाँकी छ। काटेर खेतमा राखेका किसानहरूको धान पनि भिजेर सखाप भएको छ। ‘पाकेको धान काट्न पाएका थिएनौँ,पानीले डुबाएको छ, कैलाली गौरीगङ्गाका राजेन्द्र सुनारले भने, ‘यसपालि भित्र्याउन पाउने आश छैन। पानी परिरहेकै छ, कहिलेसम्म पर्ने हो कुन्नि।’

सुदूरपश्चिम प्रदेशमा कूल एक लाख ८१ हजार  तीन सय ९६ हेक्टर जग्गामा बर्खे धानखेती हुने गरेको छ। बर्खे धानको वार्षिक उत्पादन भने पाँच लाख ८६ हजार तीन सय ५३ मेट्रिक टन रहेको छ। यस वर्ष वर्षाका कारण उत्पादन निकै घट्ने प्रदेशकाे भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ। 

‘प्रदेशभर धानबालीमा कति क्षति भयो भन्ने यकिन विवरण भने आएको छैन, वर्षा अझै रोकिएको छैन,हामीले प्रत्येक जिल्लामा हाम्रा प्राविधिक खटाएका छौँ,’ मन्त्रालयका प्रवक्ता गोकुल बोहराले भने, ‘वर्षा रोकिएपछि मात्रै क्षतिको यकिन विवरण आउँछ, त्यसपछि मात्रै राहतका कार्यक्रम कसरी अगाडि बढाउने भन्नेबारे छलफल हुन्छ।’

सबै तस्बिर: प्रेम दहित

२ कात्तिक, २०७८, १२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।